प्रकाशमान शिल्पकार
संस्कृतमा अश्वत्थ, वैज्ञानिक नाम फाइकस र नेपालीमा पिपल भनिने वृक्ष स्वर्गबाट पृथ्वीमा पठाइएको कथा हिन्दु शास्त्रहरूमा पाइन्छ । रामचन्द्रको आग्रहअनुसार स्वर्गका राजा देवेन्द्रलगायत समस्त देव देवताले पठाएको पिपल र पारिजातको बोट रामचन्द्रजीले आफ्नो पुष्प विमानमा नै राख्ने व्यवस्था गरिदिए । उक्त पवित्र बोटहरूलाई विमानमा राख्दा विमान जहाँ जहाँ गयो विमानबाट पिपल र पारिजातको बीजसहितको फल तल झरेर ठाउँ ठाउँमा पिपलको बोट र पारिजातको नयाँ बोट उम्रँदै गएछ भन्ने कथा छ ।
गीतामा भगवान् श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयं आफ्नो रूप बताएका छन् । हिन्दु शास्त्रमा भनिएको छ ‘अस्वत्थः पूजितोयत्र पूजिताः सर्व देवता’ अर्थात् पिपलको पूजा ग¥यो भने एकसाथ सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ ।
त्यसैले आम सनातनवादीहरू पिपल बोटमा जल चढाई पूजा अर्चना गरी परिक्रमा गर्छन् । यस ‘देव वृक्ष’लाई विशेषत शनिवारको दिन पूजा गर्ने गरिए पनि बिहीवार र आइतवारका दिन पनि विशेष पूजा गर्ने गरेको पाइन्छ तर पनि देव देवालयको परिसरमा रहेको पिपलको बोटमा श्रद्धालु भक्तजनहरूले दैनिकरूपमा नै पूजा परिक्रमा गरी श्रद्धा गर्छन् । पिपल बोटको पूजा गर्दा हजार वटा पात रहेको बोटको पूजा गरिएमा उत्तम फल पाउने अर्थात् जति पुरानो बोटको श्रद्धाकासाथ पूजा गरियो त्यति नै उत्तम भन्ने धार्मिक मान्यता रहेको पाइन्छ । ग्रह दशा पन्छाउन भक्तजनहरू. शनिवार पिपललाई काँचो धागो सात फन्को लगाई बाँधी पूजा परिक्रमा गर्छन् । यसो गर्दा आफूमा लागेको शनिको दशा अन्त्य हुन्छ भन्ने विश्वास गर्छन् ।
विभिन्न धार्मिक कार्यमा यसको पात नभई हुन्न भने यसको डाँठ हवन कार्यमा पवित्र दाउराका रूपमा प्रयोग गरिन्छ ।
नेपाली परम्परागत मान्यताअनुसार आसपासमा मसान घाट, भैरव, खोलानाला, कुनै जलासय, नाग, खरिबोट, पिपलबोट, कङ्काल भएको दोबाटो, चौबाटोमा अवस्थित देव देवी अवस्थित पवित्र स्थान नै पीठ एवं शक्ति पिठ हो । यसरी दोबाटो चौबाटोमा रहेको खरीको बोट, पीपलको बोट मुनि वा आसपासमा मसान घाट, खोलानाला नजिक अष्टमातृका बास भइरहेको पवित्र देवीस्थल शक्ति पीठ हो । त्यस्तै पौराणिक र सनातन धार्मिक मान्यतामा देवाधिदेव महादेवको शक्ति स्वरूप पत्नी सतीदेवीको अङ्ग पतन भएको पवित्र स्थलनै शक्ति पीठ हो । यसरी पिपलको बोटसँग अष्टमातृका शक्ति पिठसँग सम्बन्ध रहेको देखिन्छ ।
वैज्ञानिक दृष्टिकोणबाट पनि यो फाइकस वृक्ष पिपल बोट अति पूजनीय मानिन्छ । किनकि यो वृक्षले गर्मीमा शितलता र जाडोमा तातो हावा प्रदान गर्छ । प्राणीलाई बाँच्न नभई नहुने प्राण वायु अक्सिजन अन्य वृक्षले भन्दा यसले प्रचूर मात्रामा फ्याँक्छ भने दुषित हावा कार्वनडाइअक्साइड यसले ग्रहण गर्छ ।
आयुर्वेदमा पनि यो बोटको निकै ठूलो महŒव छ । पिपलको पात, फल, डाँठ सबै औषधिका रूपमा प्रयोग गरिन्छ ।
पिपल बोटको चौतारी बनाएर समाजमा विभिन्न सामाजिक कार्यको सल्लाहसाउती गर्ने थलोका रूपमा प्रयोग गरिआएको देखिन्छ ।
पिपलको बोट वनजङ्गल, खुल्ला चौर, बाटो, चौबाटो मात्र हैन मठ मन्दिरहरूमा गहनाकै रूपमा देख्न सकिन्छ । यसरी धार्मिक, वैज्ञानिक एवं आयुर्वेदिकरूपमा अति महŒवपूर्ण स्थान पाई आएको पिपललगायत धार्मिक आस्थासँग जोडिएका वृक्षहरू. काट्ने, मास्ने काम गर्नुहुँदैन । बाटो, चौबाटो विस्तार गर्दा कतिपय पिपललगायतका बोटहरू हटाउनुपर्ने पनि हुनसक्छ । बढ्दो घना आवासको अवस्थामा सम्भावित भवितव्य वा दैवीप्रकोप पर्दाका अवस्थामा आपत्कालीन सवारी साधनहरू आउन जान अप्ठ्यारो साँघुरो बाटो चौबाटोलाई फराकिलो गरी विस्तार गर्नु टोल समाजका लागि उपयुक्त काम हो तर त्यसरी सडक विस्तार गर्दा वा अन्य कुनै विकासका कार्य गर्दा भरसक कुनै वर्ग समुदायको धार्मिक आस्था विश्वासमा आघात हुने गरी कार्य गर्नु प्रत्युत्पादक पनि हुनसक्छ ।
जस्तो काठमाडौँको साविक न्हेंपंखाको हाल कलङ्कीमा विराजमान कलह र कलङ्क नासिनी भगवती कलङ्की माता (श्री कल्खु बालकुमारी अजिमा) लाई छत्र ओडाइरहेको अवस्थामा पिपलको बोट सहितको एउटा सानो चौतारी छ । यसै चौतारामा परापूर्वकालमा भगवती कल्खु बालकुमारी अजिमा (कलङ्की माता) ले लामो यात्रापछि थकाइ मार्न बसेको भन्ने किम्बदन्ती पाइन्छ । धार्मिक आस्थासहित रहेको चौतारामा श्रद्धालु भक्तजनहरूले पुज्दै आएको देव वृक्ष पिपल बोटलाई काटी सडक विस्तार गर्न लागेको सुन्दा भक्तजनहरूलाई निकै चोट पुगेको छ । मुलुक धर्म निरपेक्षवादी घोषणा भए पनि आम नेपालीको धार्मिक आस्थामाथि आघात पुग्ने कुनै पनि कार्य योजना पुनरावलोकन गरी सनातन धर्म, संस्कृति र धार्मिक आस्था र विश्वासको संरक्षण गर्नुपर्ने राज्यलगायत सबैको दायित्व पनि किटान नै छ भन्ने मनन गरिनु राम्रो हुनेछ ।