Monday, January 23, 2023
Wednesday, September 21, 2022
सुधार र विकाशका कार्य गर्दा !
Wednesday, March 23, 2022
अतिथि सत्कारको पर्व पाहाँचःह्रे नखः
Thursday, December 30, 2021
भुइँदेवता
भुइँदेवता
✡ पृष्ठभूमि
तान्त्रिक देवी श्री कुमारीको राज्य भनेर राजनैतिक मान्यता पाएको प्राचीन नेपाल नेपालमण्डल तान्त्रिक देवीदेवताहरुले भरिपूर्ण छ । त्यसैल पनि शैवतन्त्र र बौद्धतन्त्रका अनुयायीहरुको यो नेपाल मण्डलका हरेक घर घरमा, गाउँ गाउँमा टोल टोलमा तान्त्रिक देवीदेवताहरुले भरिपूर्ण रहेको मान्यता छ यहाँ । नेपालमणडमा पौराणिक देवीदेवता भन्दा पनि तान्त्रिक देवीदेवताको बढीनै महत्व भएकाले पनि यहाँका प्राचीन नेवाः वस्ति गाउँ शहरका एक ईलाका गणेश( थान गणेश) एक अषणटमातृका पिथ(पिगं) तथा केही भुइँदेवताहरु अनिवार्य रहेका हुन्छन् । बाटोहरुमा भुइँदेवताका रुपमा पुज्दै आएका विभिन्न देवदेवीका प्रतिकका रुपमा विभिन्न आकार प्रकारका ढुङ्गाहरु देख्न सकिन्छ । यसरी भुइँमारहेका ढुङ्गालाई पुज्दै आएका भुईदेवदेवीहरुमा - ✡ क्षेत्रपाल,✡ भैरब, ✡ बेताल भैरब,✡ कलःगाः, ✡ च्छास अजिमा , ✡ लुकुमहाद्यः, ✡आकाशबाट खसेको माछा देवता र ✡ पिखालखु द्यःहरु हुन् । भुइँदेवताहरु मध्यका पिखालखु द्यः बाहेक अन्य सबै भुईदेवताहरु सार्वजनिक देवदेवीका रुपमा यहाँका रैथानेहरुले सर्वमान्यका रुपमै पुज्दै आएका छन् ।
सबै भुइँदेवताहरु मानिस आवटजावट गर्ने बाटैमा परेका हुन्छन् । यी भुइँदेवताहरुले नेवाः समाजको रक्षा गर्नुका साथै पारिवारिक तथा सामाजिक संस्कार समेतको रेखदेख गर्दै आएको भन्ने आस्था र विस्वासका साथ मान्यता दिई आएको देखिन्छ । नेवाः भाषामा देवतालाई द्यः भन्ने गरिन्छ । कान्तिपुर नगरको माथिलो एक टोलमा भेडाको टाउकोको रुपमा एक तान्त्रिक देवता समेत सडकै भुईमा रहेको छ त्यसैले त्यो टोलको नामकरणनै भेडासिं वा भ्याँचात्वा रहेको छ । भुइँदेवताका रुपमा रहेका यहाँका ती देववताहरुको नेवाः समाजमा आ-आफ्नै विशेष भुमिका रहेको छ । यहाँको सामाजिक र सांस्कृतिक मान्यता तथा धार्मिक आस्था र विस्वास अनुसार भुईदेवताहरु मान्यता निम्न अनुसार रहेका देखिन्छन् ।
✡ इलाका क्षेत्रपाल भैरब
भुइँदेवताहरु मध्यका क्षेत्रपाल ईलाका टोल रक्षक देवता । यश भैरबले आफ्नो ईलाका भित्रका टोलहरुका बासिन्दाहरुको रक्षा गर्ने गर्छन् भन्ने यहाँ आस्था र विस्वास रहेको पाईन्छ ।
✡ भैरब
यश भैरबले टोल भित्रका आफ्ना श्रध्दालु भक्तजनहरुको रक्षा गर्छन् भन्ने धार्मिक मान्यतारहेको छ ।
✡ बेताल भैरब
यश भैरबले पनि टोल भित्रका आफ्ना श्रध्दालु भक्तजनहरुको रक्षा गर्छन् भन्ने धार्मिक मान्यतारहेको छ ।
✡ कलःगाः
यहाँका परम्परागत वस्तिहरुको आ-आफ्नो ईलाकाको एक एक वटा कलःगाः देवता रहेको हुन्छ ।
कलःगाः देवताको काम -
१.यश कलःगाःको देवताको काम आफ्नो ईलाका भित्रका नेवाःहरुको घर परिवारमा भौमचा( दुलही) भित्रिएको लेखाजोखा राख्ने, २-१. आफ्ना ईलाका भित्रका घर परिवारले पिगं(पिथ) लगायत देवस्थलहरुमा पशुपंछिको बलि पुजागरीएको लेखाजोखा राख्ने, २-२. पितृहरुको वार्षिक पुण्य तिथि लगायत विशेष भोजखाएको लेखाजोखा राख्ने लगायतको लेखाजोखा राख्ने गरेको यहाँका संस्कार र संस्कृतिदे देखाउछ । हाल कलःगाःको अस्तित्व समाप्त हुँदै गएकाले परम्परागत नेवाः बस्तीमा कलःगाः नदेखिकै कारण कलःगाःमा गरिने नेवाः संस्कारहरु च्छ्वासमा गर्ने गरेको छ ।
️✴️ १. कलःगाःमा थायेभु वाय गर्ने -
नेवाः समाजमा नयाँ दुलही भित्र्याए पछि नेवाः रिति थिति अनुसार भौमचा ( दुलही ) घरमा भित्रिय पछि ह्वङ्के( दुलहि अनमाउने) संस्कार सम्पन्न गर्दै थाँय्भू (दुलाहा दुलहि समेतलाई एकै थाली( भु)मा ख्वाएको जुठो सहितको थालीमा विशेष बत्ती बालेर खानेकुरा) कलःगाःमा लगेर विसर्जन गरिन्छ । यसलाई नेवाः भाषामा "थायभु वायेगु" भन्छ । यसरी थायभु वायेगुको अर्थ हाम्रो घरमा दुलहिका रुपमा नयाँ सदश्य थिपियो भनेर स्थान देवतालाई जानकारी दिने र जानकारी लिने स्थान देवताका रुपमा रहेको परम्परागत संस्कार रुपमा मानिन्छ ।
️✴️ २. कलःगाःमा कलःवाये गर्ने -
२-१. आफ्ना ईलाका भित्रका घर परिवारले वर्ष दिन भित्रका विभिन्न साना ठूला चाडपर्वहरुमा अष्टमातृका पिगं(पिथ) लगायत देवस्थलहरुमा पशुपंछिको बलि पुजागरी सिकाःभू भोज खाए पछि सिकाःभू भोजको उचेष्ठ ( खाएर बाँकि भएको जुठो खानेकुरा सहित सबैलप्तेहरु एउटै बाटामा राखी विशेष तान्त्रिक विधि अपनाई बाटामा बलेको बत्ती राखी कलःगाःमा लगेर विसर्जन ( कलःवाये )गरिन्छ । यसरी कुन कुन घर वरिवारले बली पुजागरी सिकाःभु गरीएको छ छैन सोको लेखाजोखा राख्न समेत कलःगाः द्यःले गर्ने गर्छ ।
[ सिकाःभू के हो ? - अहिंसा परम धर्म भनी हिंसालाई पाप कर्म भनीए तापनि तन्त्र शक्ति उपासक प्रधान नेपालमण्डलमा देवी देवतालाई पशुपन्छि बलि दिने कार्यलाई पाप कर्म नभनि धर्म नै मान्यता दिईराखेको छ । तन्त्र प्रधान नेपालमण्डलमा शक्ति र सिद्धि प्राप्तिका लागि तान्त्रिक विधि सहितको बलिपूजा गर्नै पर्छ । अनि देवीदेवता पूजा गर्दा तान्त्रिक विधिबाट थापिराखेको कालोमोसो जसलाई नेवाः भाषामा याने नेपाल भाषामा मोहनी सिन्हः भनिन्छ र बलि दिएको पशु पन्छि( नेवाः भाषमा बलि दिएको पशु पन्छिलाई बाहाँ )को रक्त तिलक लगाएर चढाएको रातो कपडाको लामो बाला( क्वखा) गलामा लगाएर फुल प्रशाद ग्रहण गरि सम्हय् खाई राती भोज खान्दा सी( प्राणीको पञ्चज्ञानेन्द्रिय अङ्गहरु- १.दुई आँखा, २.दुई कान, ३.थुतुनो, ४. जिब्रो र ५. दुई बङ्गरा समेत गरि बलि दिएका पशुको शरिरको आठ अङ्गहरुलाई जेष्ठता क्रम अनुसार थकालीलाई दायाँ आँखा, त्यसपछि क्रमशः बायाँ आँखा, दायाँ कान, बायाँ कान, थुतुनो, जिब्रो, दायाँ बङ्गरा र अन्त्यको आठौ जेष्ठलाई बायाँ बङ्गरा हस्तान्तरण गरिने पशुका अङ्गहरु) लिएर सिकाःभू गर्नु पर्ने नेवाः संस्कार र संस्कृति रहेको छ । यश भोजलाई मूःभ्वय् वा सिकाःभू भनिन्छ ।
नेपालमण्डलमा बलि पूजा गरिने विभिन्न मन्दिरहरुमा बलीदिएका पशुपन्छिको टाउको नेवाः समुदायलाई घर लान दिनुको कारण पनि यहिनै हो । नेवाः बाहेक अन्य कुनै पनि समुदायका व्यक्तिलाई बलि दिएको पशुपन्छीको टाउको दिने चलन यहाँ छैनन् । यसरी बलि दिएको पशुपन्छिको टाउको गैह्र नेवारलाई नदिनु मुख्य बारणनै उनिहरुको सिकाःभू गर्ने परम्परा र संस्कार नभएरनै हो ।
तान्त्रिक विधिवत् बलिपूजा गरीए पछि सिकाःभू गर्नै पर्ने नेवाः संसकार र संस्कृति रहेको छ । यसरी सिकाःभू गर्दा बलिदिएका पशु पन्छि(बाहाँ) पशुपन्छि जन्मबाट मुक्त भै स्वर्गलोकमा जान्छन् भन्ने धार्मिक आस्थ र विस्वास रहेको छ । ]
२-२. घर परिवार सदश्यहरुको मृत्यु भएको वार्षिक पुण्य तिथिमा गरि श्राद्ध भोजमा खाएको उचेष्ठिको कलःगाःमा विसर्जन(कलःवाये) गर्ने । यसरी पितृहरुको वार्षिक पुण्य तिथि लगायत विशेष भोजखाएको लेखाजोखा राख्ने लगायत कार्यहरुको कलःगाःले लेखाजोखा राख्ने गरेको यहाँका संस्कार र संस्कृतिदे देखाउछ । कलःगाः द्यः छुट्टै नभएको ईलाकामा भने उलेखित थायेभु वाये गर्ने र कलः वाये गर्ने कार्य ईलाका च्छ्वास अजिमा कहाँ गर्ने गरेको छ ।
✡ च्छ्वास देवता( च्छ्वास अजिमा )
हेरक परम्परागत नेवाः बस्तीहरुमा एउटा एउटा ईलाकाको छुट्टाछुट्टै एउटा एउटा च्छ्वास देवता हुने गर्छ । च्छ्वास देवीलाई च्छवास अजिमा पनि भनिन्छ । च्छ्वास अजिमालाई कसै कसैले यहाँ मातङ्की वा धुमावती महादेवीका रुपमा समेत लिएको देखिन्छ । ईलाका भित्रका मानिसहरुको घरपरिवार भित्रमा कुनै नवजात शिशु जन्मिएको र परिवार सदस्यको मृत्यु भएको लेखाजोखा राख्ने देवी च्छ्वास अजिमाका रुपमा रहने गरेको देखिन्छ । शिशु जन्मन्दा शालनाल र धरको सदश्य मर्दा मृतकको लुगा, काँचो इटा र सानो सुकुल सहित च्छ्वासमा च्छ्वास वाये गरिन्छन्। यसो गर्दा कुन घरमा शिशु जन्म्यो र कुन घरमा को मृत्यु भयो भन्ने स्थान देवीलाई जानकारी दिएको र देवीले पनि सोको लेखाजोखा गर्ने गर्छन भन्ने सामाजिक मान्यता रहेको छ ।
✡ लुकुमहाद्यः
काठमाण्डौ उपत्यकाको कान्तिपुर र ललितपुर नगरमा चैत्रकृष्ण चतुर्दशी(चिल्लागा चःह्रे)का दिन सध्याकालमा सडक चोकको जमिनमुनि लुकेर बसेका महादेव "लुकुमाहाद्यः"लाई वहस्वाँ(.....) र लुस्वाँ (तोरीको फुल)ले सजाएर मध्यमास समेत चढाई पुजा गरिन्छ । फोहरकसिंगर भएको जमिनमुनि लुकेर बसेको लुकुमहाद्यः पुजा गर्न बिहानै खनेर सफागरी महादेव देखिने गरि राखेको हुन्छ । यसरी पाहाँचःह्रेको पहिलो दिन साँझ लुकुमहाद्यःको भ्वयेब्व, माछा, मासु जाँड रक्सि समेत चढाइ पुजागरी पाहाँचःह्रेको पहिलो भोज खाईन्छ ।
✡ आकाशबाट खसेको माछा
कान्तिपुर शहरको असन चोकमा कुनै समयमा आकाशबाट ज्योतिषाचार्यले निश्चित तोकिएकै समयमा खसेको माछालाई समेत भुई देवताका रुपमा यहाँका बासिन्दाले पुज्दै आएका छन् ।
✡ पिखालखु
अधिकांश नेवाःहरुको घरको मूल ढोका अगाडि भुईमा मण्ड आकारको एउटा ढुंगा गाडिएको हुन्छ । सामान्यत यश ढुंगामा फुल बुट्टा( कमलको फुल -पलस्वाँ बुट्टा) कुदिएको हुन्छ । कसै कसैको घरको ढोका अगाडि राखीएको फुल बुट्टा नकुदिएको ढुंगा पनि देख्न सकिन्छ । नेवाःहरुको घरको ढोका अगाडि रहेको कलात्मक मण्डकार वा सामान्य गोलाकार ढुंगालाई नेवाः समाजले अग्रजपूजा अधिकारी श्री गणेश पछि दोस्रो अग्रज पूजाअधिकारीका रुपमा श्रीकुमार, गंगा तथा क्षेत्रपाल भैरबका प्रतिकका रुपमा समेत पुज्ने गर्दछन् । ढोका अगाडिको यो पूजनिय देवतालाई पिखालखु वा पिखालाखी भनिन्छ । नेवाः संस्कृति अनुसार नयाँ घर बनाउदा ढोका अगाडि पिखालखु द्यःकारुपमा मण्डकार ढुंगाराख्नु अघि केही तामाका सिक्का राख्ने परम्पर रहेतापनि यश ढुंगाको प्राणप्रतिस्था गर्ने संस्कृति भने देखिन्दैनन् ।
️✴️ पिखालखुको परिभाषा
पिखालखु वा पिखालाखी शब्द नेवाः( नेपाल भाषा)को भाषिक शब्द हो । पिखा + लखु = पिखालखु वा पिखा + लाछी = पिखालाखी हुन्छ । नेवाः शब्द ( नेपाल भाषा) मा "लखु" भन्नाले लाछि( सार्वजनिक स्थल, बाहिर वा चोक) भन्ने जनाउछ। "खु" शब्दले नेवाःभाषा शैली( नेपाल भाषा) मा नदी खोला समेत जनाउछन्। त्यस्तै नै नेवाः भाषा शैली (नेपालभाषा) मा लुखा, पिखा तथा ध्वाखा इत्यादि सबै शब्दको मूल अर्थ ध्वाखा( ढोका) नै हुन् । यसरी "पिखालखु" नेवाः शब्द पिखा(ढोखा) र लखु ( सार्वजनिक स्थल वा नदी खोला याने गंगा) समायोजन भएर बनेको शब्द हो भने पिखालाखी भक्तपुरका स्थानिय नेवाः भाषा शैलीमा भनिने पिखालखुकै पर्यावाचि शब्द हुन् । यसर्थ पिखालखुको अर्थ घर( निजि) र सार्वजनिक स्थल छुत्याउने सिमाना समेत दर्शाउछन् । त्यसैले होला घर परिवारमा वा घरबाहिरका कुनै मानिस घरमा आएर कुनै विवाद गर्न आएमा पिखालखुइ च्वना खँ ल्हायेनु भन्ने गरेको नेवाः समाजमा रहेका देखिन्छन ।
अपवादका रुपमा केही नेवाः प्रोहितको पिखालखुको परिभाषा फरक रहेको पनि देखिन्छन् । फरक मत विचार राख्ने नेवाः प्रोहितको भनाई हनुसार यथार्थमा पिखालखु द्यः घरको ढोका अगाडि नभएर मूल ढोकाको माथिल्लो चौकोसमा जहाँ त्रिकोणाकार किल्ला ठोकिएको हुन्छ त्यहि नै वास्तवमा पिखालखु द्यः बिराजमान रहेको भने मत रहेको समेत देखिन्छ । नेवाः संस्कृतिमा घरबाट पूजा बाहिर गएको बेलामा घरको मूल ढोकाको माथिल्लो चौकोसको बिच भाग जहाँ त्रिकोणाकार किल्ला ठोकिएको स्थानमा पूजा गरेर पूजा बाहिर जाने परम्परा नदेखिए तापनि बाहि अन्यत्र पूजा सकाएर पूजाथाली, कोतः वा कलः(कलाली) लिएर घरको ढोका प्रवेश गर्नु अघि त्यहाँ पूजा गरेर मात्र प्रवेश गर्ने परम्परा भने छ । फरक मत मध्यमा 👉️ # पनि संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायको भनाईमा पिखालखु द्यः र कुमार द्यः अलग अलग देवता भएको भनाइ समेतर रहेको छ। # 👈️।
️✴️ पिखालु रहने स्थान
नेवाः समुदायको अधिकांश घरको मूल ढोका देखि एक हात देखि झन्दै २० हात परसम्म पनि पिखालखु द्यःका रुपमा भुईमा मण्डकार ढुंगा वा कुनै मण्डकार ढुंगा नभए तापनि पिखालखु द्यःका रुपमा पुजा स्थल रहे कै हुन्छ । त्यस्तै नै हरेक मन्दिर को मूलढोमा अगाडि समेत रहेको देखिन्छन् ।
️✴️ पिखालखु त्रिदेव देवीका रुपमा
(क) श्री कुमार देवता
पिखालखुलाई सनातनी धर्ममा अग्रज पूजाधिकारी देवता मध्यका शिव र गंगा पुत्र श्रीकुमार(कार्तिके) देवताका रुपमा समेत पुज्ने गरिन्छ । अग्रज पूजाधिकारी मानेर नै सनातनी नेवाः समाजले घरबाट साधारण पूजा बाहिर जाँदा यश कुमार देवता रुपि पिखालखु द्यः लाई पूजा गरेर मात्र अन्य कुनै मन्दिरमा पूजा गर्न जाने गरिन्छ । तर कुनै विशेष पूजा घरबाट निस्कन्दा भने श्री कुमार देवता रुपि पिखालखूलाई छुट्टै पूजाभाग सानो द्वना वा सानो तपरीमा राखेर चढाए पछि मात्र मूल विशेष पूजा(क्वतः तथा कलः ) बाहिन्छन् ।
(ख) घरको रखवाला क्षेत्रपाल देवता
पिखालखुलाई नेवाः समाजले घरको रखवाला देवता क्षेत्रपालका रुपमा समेत पुज्ने गरेको समेत पाइन्छ । क्षेत्रपाल कडा स्वभावका हुन्छन् । उनलाई रिसाउन दिनु हुन्न। धर परिवारमा कुनै अनिष्ट, विपत्ति आईपर्यो भने पिखालखुको क्षेत्रपाल पुज्ने क्रममा वा भाग पन्छाउने क्रममा कुनै तलमाथि परेको हुन सक्छ भन्ने नेवाः समाजमा विस्वास रहेको पाईन्छ । क्षेत्रपाललाई शिवको अनुचर तथा बिघ्नपाद भैरबका रुपमा मान्ने तान्त्रिक पद्धति समेत रहेको छ ।
(ग) घर अगाडिको नदी वा गंगामाता
पिखलखुलाई नेवाः समुदायले घर अगाडि रहेको जलासय, नदी वा श्री गंगामाताका रुपमा पनि पुज्ने संस्कार रहेको देखिन्छ । सायद त्यहि कारणले हुन सक्छन् म्वःनी(मोहनी) नखःमा दस दिन सम्म नव दुर्गाकारुपमा साधना गरि पूजागरीएको जमरा सहित घटस तथा अन्य फुलपाटीहरु म्वःनीको अन्तिम दिन कतिंपुन्हि(सिघःपुन्हि/ कोजाग्रत पूर्णेका दिन जलासय, नदी सम्झेर पिखालखुमा विसर्जन गरेर सेलाउने संस्कृति रहेको देखिन्छ ।
नेवाः समुदायले म्वःनी नखः मनाएकै तिथि मितिमा पृथक पूजा विधि तथा मान्यता अनुसार दशदिन सम्म नव दुर्गा भवानीमाताको पूजा आराधना गरिएको जमरा सहितको दशैको घटस तथा फुलपाटी सबै गैह्र नेवाः समुदायले कुलो वा नदीमा नै गएर विसर्जन गरि सेलाउने परम्परागत संस्कृति देखिन्छ ।
️✴️ पिखालखुमा कुँदिएका कमलफुल पत्र तथा बुट्टाको अर्थ-
कतिपय पिखालखु ढुंगामा कुँदिएका कमलपत्रको संख्या तथा बुट्टाहरु भिन्न भिन्न किसिमका देखिएका छन् । कतिपयमात कुनै धर्को वा बिन्दू समेत पनि भेटिन्दैन । कतिपय नेवाःको घरको ढोका अगाडि भुईमा पिखालखु द्यःको कुनै निशान सम्म पनि देखिन्दैनन् । तापनि पिखालखु द्यः हुनुपर्ने स्थानमा इनार, कुवा वा धाराबाट चोखो पानी लिएर घर प्रवेश गर्दा पानी चढाउने, पुजा बाहिर जाँदा पुजा गर्ने तथा नेवाः तजिलजि अनुसार पिखालखुमा गर्नु पर्ने विभिन्न संस्कारहरु भने यथावटै गर्दै आएको भने देखिन्छ नै ।
पिखालखुमा कुँदिएका कमलफुलका पत्र( पलस्वाँहःया ल्याः)को स्ख्या र अन्य बुट्टाहरुका बारेमा शिल्पी शिलाकारहरु (लोहँकःमि) को भनाईमा ६ वटा कमलको फूलको पत्रले श्रीकार्तिकेय कुमार, ७ वटा कमलको फूलको पत्रले सप्तऋषि, ८ वटा कमलफुल पत्रले अष्टमातृका, ९ वटा कमलफुल पत्रले नव दसर्गा, १२ वटा कमलफुल पत्रले 👉️#सूर्यदेवता तथा १६ वटा कमलफुल पत्रले चन्द्रमा प्रतिपदा देखि पुर्णे र अौसी गरी चन्द्रमाको कला भन्ने # 👈️ बुझाउछन् । त्यस्तै नै विखालखुको मण्ड भित्र कुँदिएको षट्कोणले शिवशक्ति, अष्टकोणले अष्टमाततृका एवं षट्कोणको यन्त्र भित्रको पाँच बिन्दूले पञ्चपाण्डव भन्ने दर्शाउन्छन्।
️✴️ पिखालखु द्यः र नेवाः संस्कार
नेवाः संसकारमा पिखालखु द्यः संग निकै घनिष्ठ सम्बन्ध रहेका देखिन्छ । नेवाः समुदायको जिवनको जन्म देखि मृत्यु र मृत्यु उपरान्त सम्मको विभिन्न संस्कारहरु सम्म पनि जति छ्वास अजिमा संग सम्बन्ध छ त्यसरी नै पिखालखु द्यः संग पनि जन्म मरण दैनिक देखि विभिन्न संस्कार तथा चाड पर्व देखि लिएर विशेष पूजाआजामा समेत त्यति घनिष्ठ सम्बन्ध रहेका छन् ।
️✴️ नेवाः समुदाय्ले पिखालखुमा गरिन्दै आएका
संस्कारहरु :-
१. नवजात शिशुको च्वख्याउने(मचाबु ब्यङ्के गर्दा) कार्य गर्दा पिखालखुमा चिःपालु पन्छाउने,
२. छोरी चेलीको इहि गर्दा इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान पिखालखु द्य: को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई फँ बारा छुयेगु भन्छ । यसरी इही संस्कर कार्य सम्पूर्ण हुन्छ ।
३. कन्यालाई इहिपा(बिबाह) गरि बिदाई गर्ने कार्य यसै पिखालखु अगाडि बसेर बिदाई कार्य सम्पन्न गरिन्छ ।
४.छोराको इहिपा(बिवाह) पनि दुलही (भौमचा दुकायेगु) भित्र्याउने कार्य पनि यसै पिखालखुमा बसेर घरको नकिंले भोटेताल्चाको साँचो एकातर्फ र अर्कोतर्फ दुलहिलाई समाउन लगाएर दुलहीलाई सुस्वागत(लसकुस) गरी भित्र्याइन्छ ।
५. घर परिवार सदश्यको मृत्यु हुँदा मृतकलाई कुतः(बाँसको खट)मा राखेर सबयात्रा( सिथँयङ्केगु) गर्ने कार्य पिखालखु अगाडि नै गरिन्छ ।
६. मृतक आफन्तलाई दागबत्ती दिएर फर्कने र मलामी गएर फर्कने आफन्त समेतलाई यसै पिखालखु अगाडि बसेर घरका बिबाहित चेलीले निल:(चोखोपानी) छर्केर पहिला च्छास वाये गर्ने र पिच्चा वाये गर्नलाई, लासबोक्ने( सिम्ह कोबिउपिंत), आफन्तजनलाई र अन्त्यमा दागबत्ती दिनेलाई समेत हात धुनलगाई बलिंपि गरि मसिनुचिउरा (च्वकाबजी) दायाँ बायाँ छर्कने, सर्स्यू(ईकापःका) बालेर त्यसको धुंवाँ फिजाएर त्यसपछि क्रमशः एकले अर्कोलाई नछोइकन भोटे टाल्चा हस्तान्तरण गरेर बलिंपिगु संस्कार सम्पन्न गरेर लसकुस गरी घरमा प्रवेश गर्ने गर्छ । यश संस्कारलाई बलिंपिगु संस्कार भन्ने गरिन्छ । अन्य नेवाः संस्कार जस्तै यो बलिंपिइगु संसकार पनि नेवाः समुदाय भित्र पनि जातिय समूह र ठाउँ अनुसार केही केही फरक पनि हुन सक्छन्
७. न्हेन्हुमा वा पेन्हुमा दिने - घरको सदस्य मृत्यु भएको सात वा चार दिनमा गरीने संस्कार घरको छोरीचेलीले चोखोनित्य भई मृतकका नाममा पकाएको विशेष भात भुइँदेवताका रुपमा रहेको पिखालखुमा राखेर न्हेन्हुमा वा पेन्हुमा दिने संस्कार सम्पन्न गरिन्छ ।
७. दैनिक रुपमा पानी चढाउने - पहिला पहिला अहिले जस्तो घर घरमा धाराको व्यवस्था नहुँदा घर बाहिरको ईनार वा सार्वजनिक धारा, ढुंगेधाराबाट पानी लिएर आउँदा पिखालाखुलाई चोखो पानी ( निलः/ निनाः) चढाएर मात्र घर भित्र प्रवेश गर्ने चलन रहेको छ ।
८. घरबाट दैनिकरुपमा नजिकको मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुलाई पुजा गरेर बाहिर पुजा गर्न जाने ।
९. चाड पर्वहरुमा विभिन्न मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुको पूजाभागाका रुपमा दुनामा राखेर पिखालखुलाई चढाएर मात्र पूजा बाहिर गइन्छ ।
१०. विशेष पूजा जस्तै पञ्चली पूजा, लक्षबत्ती दिप प्रजोलन पूजा वा अन्य कुनै विशेष पिठ पूजाहरु बाहिरिन्दा समेत पहिला थान गणेशको पूजा जाँदा पिखालखु द्यःलाई छुट्टै पुजाभाग राखेर थान गणेश पूजा सम्पन्न गरि घर फर्केपछि विशेष पूजा बाहिरिन्दा पहिला घरका एक व्यक्ति पिखालखुमा पानी भएको करुवा लिएर बसी विशेष पूजाका लागि मूल पूजा कोतः लिएर तथा अन्य पुजाका सरसामान लिएर जाने सबैलाई घरको ढोकाबाट निस्कने क्रममा सबैलाई क्रमशः हातमा निलः(निनाः) दिएर चोख्याउदै पिठ पूजा तथा अन्य मन्दिरको गन्तव्यमा पूजामा प्रस्थान गर्नु पर्ने संस्कार रहेको छ ।
११. नेवाः समुदायमा गुरूबाट तन्त्र दीक्षा लिने क्रममा सर्व प्रथम गुरु र दीक्षा लिने चेला पिखालखुमा बसेर द्वारमा बसेर दियो कलश स्थपना गरि द्वार पूजा गरि पहिलो दीक्षा लिने दिने संस्कार समेत रहेको कुरा सुन्नमा आउछन् ।
️✴️ पिखालखुमा चाड पर्वको मृतकको भाग ( सिकेब्व)भ्वयेब्व पन्छाउने ।
नेवाः समुदायले हरेक चाडपर्वमा पर्व अनुसारको पुजा सम्पन्न गरिसके पछि आफुले प्रशादका रुपमा वा सम्हे तथा भ्वय् खानु अघि आफ्ना पितृहरुका नाममा एक भाग पन्छाउने संस्कार रहि आएको छ । यसरी पितृका नाममा पन्छाएको भागलाई सिकेब्व भनिन्छन् । सिकेब्वलाई छेंभाग पनि भन्ने गरेको देखिन्छ । सिकेब्वलाई एकरात त्यसै राखि भोलि झिसमिसे बिहान पिखालखुमा लगेर राख्ने परम्परगात संस्कार रहि आएको छ।
️✴️ पिखालखुमा सुन्ति(स्वन्ति) नखःमा/ तिहार पर्व मनाउने -
सुन्ति नखःमा यमपञ्चक अवधिभरी नसंचामा र साँझ बेलुका (बिहान र बेलुका) पिखालखुमा रातो माटोले पोटेर बत्ती बालेर दिपावली गर्ने संस्कृति रहेको छ । लक्ष्मी पूजाका दिन पिखालखुमा मण्ड बनाएर पूजा गरि नेवाः संस्कारको ख्याक्क, कुबेर सहितको श्री लक्ष्मीमातालाई स्वागत पूजा गरिन्छ । त्यस्तै नै म्हपूजाको दिन पनि मण्ड बनाई मण्डमा पूजा गर्ने संस्कृति रहेको छ ।
यसरी नेवाः समुदायमा नेवाः संस्कार तथा संस्कृतमा पिखालखु द्यः( देवता)को ठूलो महत्व रहेको देखिन्छ । गैह्र नेवाः समुदायमा पिखालखु द्यः घरको दैलोमा रहने संस्कार र संस्कृत नदेखिए तापनि दैलोमा र घरको मूल ढोकाका चौकोसमाथि पूजा गर्ने संस्कृति भने रहेको देखिन्छन् ।
💎अन्त्यमा
यहाँका अन्य सम्पदाहरु जस्तै विभिन्न आकार प्रकारका ढुङ्गाका भुईदेवताहरु पनि सम्पदा नै हन् । ती भुईदेवताहरुलाई यहाँका नेवाःहरुको आस्था र विस्वासको धरोहर हुन् । यहाँका प्राचीन बस्तीका गल्ली बाटो र सडकमा नयाँ ढुङ्गा बिच्छ्याउने तथा अलकत्रा पिच गर्ने क्रममा कयन स्थानका कयन भुईदेवताहरु छोपीएका छन् भने केही स्थानमा भने भुईदेवताहरुको संरक्षण गरि सम्पदाहरु बचाएको पनि छ । यहाँका सभ्यता र संस्कार संस्कृतिका पहिचानका रुपमा रहेका ती भुईदेवताहरुलाई संरक्षण तथा सम्पदाहरुका बारेमा नयाँ पुस्तालाई जानकारी सहित नासोका रुपमन सुम्पिनु सबैको दायित्वनै हो ।
#प्रकाशमानशिल्पकार
Wednesday, April 28, 2021
सुन्दरताकी देवी मनमैजु र भोटो देखाउने जात्रा
सुन्दरताकी देवी मनमैजु र भोटो देखाउने जात्रा
संघियगणतन्त्र नेपालको केन्द्रिय राजजधानी काठमाणडौंको उत्तर पश्चिम तारकेश्वर नगरपालीकामा केही अग्लो सथान पायेगोडा शैलीको एउटा प्राचीन प्रशिद्ध मन्दिर रहेको छ । त्यो मन्दिर हो मनमैंजुको मन्दिर । नेपालमण्डललाई अष्टमातृकाहरुको तान्त्रिक सुरक्षा चक्रघेराहरुका पिठचक्रहरु मध्यको प्रथम चित्त- चक्रमा परेका अष्टमातृकाहरु मध्यका एक देवी इनद्रायणी देवी हुन् । यश मनमैंजु देवीलाई काशीनाथ तमोटको नेपामण्डल पुस्तकको लितँसा -६ को पीठस्थानमा मनमैंजु पीठलाई माहेश्वरी भनी उल्लेख गरिएको छ । नेपालमण्डलका बासिन्दाले प्रत्येक वर्ष मनाउने म्वःहनी नखःको छैठौं दिन अर्थात षष्ठीका दिन टोखाको नवरथ तिर्थमा स्नान गरि यश पीठमा पूजा गरी नवदुर्गा मध्य एक दुर्गाका रुपमा पुजिने यहाँको धार्मिक परम्परा रहेको छ । स्थानियहरुको भनाई अनुसार यश दिन मनमैंजु अजिमालाई मनोरथ तिर्थमा स्नान गराइन्छन् । दाग, पोतो र अन्य प्रकारका चर्मरोग लागेमा यिनको पूजा–उपासना गर्नाले ठीक हुन्छ भन्ने जनविश्वास छ । तसर्थ यिनलाई सुन्दरताकी देवी पनि भनिन्छ । त्यसोत मनमैंजु दवीको उत्पत्तिका सम्बन्धको किंवदन्ती कथाले भने यी देवीमा सुन्दर्ता नभएको भन्ने देखाउछ ।
मनमैजु देवीको उत्पत्ति सम्बन्धमा किंवदन्ती
किंवदन्ती कथा अनुसार, परापूर्व कालमा काठमाडौंको जितपुर गाउँमा मन नाम गरेकी एक कुरुप रुपकी कन्या थिइन् । तिनी निरन्तर रूपमा विष्णुमती र केशुमती(साङ्गला) खोलाको दोभानमा बसी इन्द्रको तपस्या गर्दी रहिछन् । एक दिन सधैं झै मन नाम गरेकी ती कन्या दोभानमा स्नान गरि इन्द्रदेवको आरधना गर्ने क्रममा कन्याको आरधनाबाट प्रसन्न हुुनुभई इन्द्र आफैं त्यस स्थानमा उपस्थित भएछन् र ती कन्यालाई वर माग्न भनेछन् । ती कन्याले पनि इन्द्रलाई नै पतिका रूपमा पाउनुपर्ने वर मागिछन् । इन्द्रले उक्त कुरा स्वीकार गरी ती कन्यासँग विवाह गरेछन् । तर तिनको अनुहारमा कालो पातो र दागहरू रहेकाले त्यस्ती नराम्री कन्या स्वर्गमा सुहाउँदिनन् भनी तिनलाई त्यहीँ छाडेर इन्द्र स्वर्गतिर फर्किएछन् । उनलाई इन्द्रले नै मनमैजु नामले बस्नू अनि अनुहारमा दाग र पोतो हुने मानिसहरूलाई सुन्दर बनाउनू भन्ने वरदान दिएछन् । यसै आधारमा मनमैजुलाई अनुहार सुन्दर बनाउने देवीका रूपमा पूजाआजा गर्ने गरिएको हो भन्ने जनविश्वास छ ।
अर्काे किम्वदन्ती यश प्रकार रहेको छ -
पहिला मनमैजु, टोखा र गोङगबुँ क्षेत्र घना जङगली क्षेत्र भएको । एक दिन एक शिकारी मृगको सिकार गर्ने ताकमा मृगको पछ्याउँदै आउँदा , हतास मृग मनोरथ तिर्थमा पुगेर प्राण त्यागेछ । मृगले मर्नु अगाडि मैले व्यर्थमा मृत्युवरण गर्नुपर्यो , अर्को जुनीमा मैले व्याधासँग बदला लिन पाउँ भनी भगवान संग याचना गरेछ । पवित्रमा बसेर अन्तिम क्षेणमा गरेको प्राथना स्वरुप नभन्दै त्यो मृग अर्को जुनीमा बाघ र व्याधा चाहिँ बँदेलको रुपमा जन्मन पुगेछन्। एकदिन अचानक ती दुबैको भेट त्यही मनोहर तीर्थमा भएछ । दुबै जनाको जमकाभेट पछि बदेँल र बाघको घमासान लडाइँ गर्दागर्दै नै दुबैले त्यहिं तिर्थमै मृत्युवरण गरेछन् र स्वर्गमा पुगेछन्। तिदुबै लड्दा लड्दा दुबैले मृत्युवरण गरेर स्वर्गमा आएको देखेर देवेन्द्र आश्चर्य मान्दै के कस्तो पूण्यको प्रभावबाट तिमीहरू स्वर्गमा आयौं भन्दै सोधपुछ गर्दा दुबैले मनोरथ तिर्थको प्रभाव भएको बताएको देखेर इन्द्रलाई पनि मत्र्यमण्डलको त्यो मनोहर तिर्थ हेर्ने लालायित भएर तीर्थ हेर्न जान्छु भनी इन्द्र मनोहर तीर्थ आएछन्। संयोगबस इन्द्रले तीर्थबाट स्नान गरी निस्किएकी मनमैँजुलाई देखेछन्। मनमैंजु शारीरिक सौन्दर्यले कुरुप र नराम्री देखिएतापनि शारीरिक बनावट भने राम्रो थियो । सधैं स्वर्गको अप्सराहरुको रासलीलामा रहने इन्द्रलाई सुन्दरताले कुरुप भए पनि मनमैंजुको शारिक बनावटमा मोहित भई उनी संग एकरात सुखःभोग गरि बिताएछन्। भोलि पल्ट इन्द्र स्वर्गलोक फर्किन लाग्दा मनमैँजुले नजान बिन्ति गरिन्। म तिमीलाई यो जुनीमा इन्द्रलोक लान सक्दिनँ तर अर्को जुनीमा भने तिमी मेरी इन्द्रायणी बन्नेछ्यौ’ भनी मनमैंजुलाई केही वर तथा उपहार दिएर इन्द्र त्यहाँबाट इन्द्रपुरी प्रस्थान गरेछन्।
मनैमैंजु मन्दिरको इतिहास :
मनोरथ तिर्थको किनारमा अवस्थित यश मनमैंजु अजिमा रुपि इनद्रायणी पिठलाई पौराणिक कथा उल्लेखित भए अनुसारको सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको शक्ति पिठ हुन् भनेर स्थानीयहरु आस्थार विस्वास गर्दै आएको छ । वंशावलीमा लेखिए अनुसार भने राजा गुणकामदेवको पालामा यस मन्दिरको स्थापना गरिएको भन्ने उल्लेख छ । यहाँ नेपाल सम्वत् १०३५ भन्दा पुरानो शिलापत्र भेटिएको छ भने राणा प्रधानमन्त्री चन्द्रशमशेर र तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गरिएको देखिन्छ । पित्तलको छाना र आकर्षक मन्दिर रहेको यस मन्दिरमा रहेका टुँडाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ ।
नेपाल संवत् ७८६ मा प्रताप मल्लले यस मन्दिरको स्थापना गराएको देखिन्छ । सो कुरा मन्दिरको बाहिरी मूल ढोकाको उत्तरपट्टि पूर्व फर्काएर राखिएको शिलालेखमा उल्लेख छ । वि.सं. २०३१ सालमा सञ्चार मन्त्रालयबाट प्रकाशित मेचीदेखि महाकाली नामक पुस्तकको दोस्रो भागमा मनमैजु मन्दिरको स्थापना वि.सं. १७४८ मा भएको कुरा उल्लेख छ । मन्दिरमा भएको अर्काे शिलालेखमा राजा गिर्वाणयुद्ध वीरविक्रम शाहदेवले आफ्नी जेठी महारानीको नाममा यस मन्दिरको नित्य पूजालाई भनी वि.सं. १८५८ मा गुठी स्थापना गरिएको देखिन्छ । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट मन्दिरको जीर्णाेद्वारका लागि केही रकम उपलब्ध गराएको पाइन्छ । इतिहासअनुसार राजा गुणकामदेवले कान्तिपुर देशको स्थापनासँगै मनमैँजु मन्दिर, लुमडी, पचली भैरव ङ्यमरु अजिमा आदिको मन्दिर बनाएको भन्ने वंशावलीमा लेखिएको छ भन्ने जानकारहरु बताउँछन् ।
मनमैंजुको जात्रा पर्व :
लिङ्गो उठाउने
........
खत जात्रा -
राजा गुणकामदेव नागार्जुन जङ्गलमा शिकार खेल्दै जाँदा एकपटक जङ्गलमा बास बस्दा । राजाले राति सपनामा मनमैँजु देवी इन्द्रायणीको दर्शन पाएछन्। देवीले चैत्र शुक्ल पूर्णिमाको दिन पूजा अर्चना गरी जात्रा चलाएमा मनोकाङ्क्षा पूरा हुनेछ भनी आज्ञा भई अन्तध्र्यान हुनु भइछन्। भोलिपल्ट बिहान राजा बिउँझिएर भोलिपल्ट राजाले त्यहाँ चारैतिर हेर्दा एउटा सुन्दर मन्दिर र स–साना बस्तीहरु देखेछन्। पछि राजा गुणकामदेवले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरी स्थानीय बासिन्दालाई जागृत गराई इन्द्रायणीको नित्य पूजाअर्चना गरि जात्रा चलाउन लगाएको भन्ने छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल चतर्दशीका दिनदेखि पाँचदिनसम्म परम्परागत रूपमा मनमैँजुको जात्रा मनाउँदै आएको छ । जात्राको पहिलो दिन चैत्र शुक्ल चतर्दशीका दिन तारकेश्वर महादेवको जङ्गलम रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याइएको रुखकोलाई लिंगोका रुपमा मन्दिर अगाडि ठड्याइ मनमैज्ञु अजिमाको जात्रा सुरुहुन्छ । पाँचदिनसम्म विविध तरिकाले मनमैँजुको पूजा आजा गरि जात्रा हुने गर्छ । यसै जात्राको क्रममा मनमैजु अजिमालाई खतमा विराजमान गराई टोल टोलमा लगेर स्थानियहरुको पूजा लिने गरिन्छ । पूजामा अलिबलि सहित पूजागरी सिन्दूर जात्रा गर्दै गाउँ घुमाईन्छ । पाँचौ दिनमा लिङ्गो ढालेर जात्रा समाप्त गरि देवीलाई विधिवत लसकुस पूजागरी भित्र्याइन्छ ।
भोटो जात्रा :
खत जात्रा समाप्त गरि लिङ्गो समेत ढालेर अजिमा लसकुस गरि भित्र्याई सकेपछि भोटो जात्रा सुरु हन्छ । नेपालमा भोटो देखाउने जात्रा भन्दासाथ सबैको मानसपटलमा पाटनको बुङ्गद्य:( रातोमच्छिन्द्रनाथको) जावलाखेलमा देखाउने जात्रा नै झझल्को आउछ । तर मनमैंजुमा देखाउने भोटो जात्रा भने कसैेलाई पनि सम्झनामा आउँदैनन् । हुन पनि हो यहाँको भोटो देखाउने जात्राका बारेमा धेरैलाई थाहानै छैनत । यहाँको यो भोटो देखाउने जात्रा अनौठो र रोचक छ । देवेन्द्रले मनमैंजुलाई आफ्नो मायाको चिनो सुरुप दिएर गएको हीरामोती जडित भोटो मनमैजु अजिमा गुठीका मूलधामी र गुठीका थकालीले त्यहाँ उपस्थित भक्तजनलाई देखाउने चलन रहेको छ । मनमैंजु अजिमाका मूलधामी र गुठीका थकालीले त्यहाँ उपस्थित भक्तजनलाई देखाउने चलन रहेको छ । यस प्रकारको अनौठो र रोचक भोटो देखाउने जात्रा परम्परा देखी देवगृहभित्रमात्र सीमित हुन्छ । अन्य सर्वसाधारणका लागि भोटो देखाइँदैन ।
मनमैंजु मनोरथ तिर्थ प्रसिद्ध द्वादश तिर्थहरु मध्य एक प्रमुख तिर्थ :
दशै / म्वःहनी नखःको षस्थिकादिन नवरथ यात्रिहरुले लीईने मनोरथ तिर्थ बौद्ध वज्रयान परम्परा अनुसार यस तीर्थलाई महत्वपूर्ण तीर्थका रुपमा लिइने गरिन्छ । बौद्ध वज्रयान तन्त्र परम्पराका १२ तीर्थमध्ये यो तीर्थ पनि एक प्रमुख तीर्थ मानिन्छ । स्वयम्भू पूराणमा प्राचिन नेपालमण्डलको केन्द्रको रुपमा रहेको कान्तिपुर नगर र यसको वरिपरि पवित्र १२ तीर्थ रहेको उल्लेख गरिएको छ । ‘यसलाई द्वादस तीर्थ ’नाम दिइएको छ । द्वादस तीर्थको महिमा र यसको धार्मिक ऐतिहासिक महत्व बारे विकास रत्न बज्राचार्य द्वारा सम्पादित द्वादस तीर्थ महात्म्य ग्रन्थमा पनि उल्लेख गरिएको छ । ‘द्वादस तीर्थ महात्म्य’ ग्रन्थका सम्पादक बौद्ध विद्धान विकाश रत्न बज्राचार्यका अनुसार नेपाल मण्डलको द्वादस तीर्थ धार्मिक, सांस्कृतिक दृष्टिकोणले मात्र हैन आयुर्विज्ञानको दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । द्वादस तीर्थमा परेका यश मनोरथ तीर्थ बाहेक अन्य ११ तीर्थहरुमा - १. पूण्य तीर्थ–गोकर्ण,२. शान्त तीर्थ– गुहेश्वरी, ३. शंकर तीर्थ– शंखमोल, ४. राजतीर्थ– सानेपा टेकु, ५. निर्मल तीर्थ– भचाखुसी शोभा भगवती, ६. निधान तीर्थ–लखु तीर्थ, ७. ज्ञान तीर्थ कह्रखुसी विष्णुमती दोभान,८. चिन्तामणि तीर्थ – टेकुदोभान, ९. प्रमोद तीर्थ – दाङ्ग्रा खुसि, १०. सुलक्षण तीर्थ–भाजंगाः र ११. जय तीर्थ–ङेखु – अादि तीर्थहरु हुन् ।
मनमैजु अजिमा नागमाता मनसाका रुप पनि :
नाग, स्कन्द, अग्नि, ब्रह्म, विष्णु तथा शिव पुराणहरुमा चर्चित शिवपुत्रि नागमाता मनसानै मनमैंजु अजिमा रहेको भन्ने समेत मान्यता रहेको छ । महाभारत कालपछि मनसाबाट अपभ्रंश भएर मनमैंजु रहन गएको हो र मनसाको रुप अघोर भएका कारण मनमैंजु अजिमालाई बली दिने चलन चलेको हो भन्ने समेत रहेको छ । मनमैंजु अजिमाको बज्राचार्य पुजारी बाट तान्त्रिक पुजा हुने गर्छ ।
सन्दर्भ सामाग्रि :- तारकेश्वर नगरपालीकाको वेभशाईत र काशीनाथ तमोटको नेपामण्डल पुस्तकको लितँसा -६ र पूण्यभूमि नेपालमण्डलको पवित्र द्वादस तीर्थका कुराहरू !-हिसी ज्यापु समेत ।
#प्रकाशमानशिल्पकार
#कल्खुअजिमाशरण_लेखसंग्रहThursday, March 11, 2021
सिल्लाचःह्रे
सिल्लाचःह्रे
सनातनी नेपालीले वर्षको विभिन्न तिथि मितिमा विभिन्न सानाठूला चाडपर्वहरु मनाउँदै आएको छ । अधिकांश चाडपर्वहरु तिथिमा मनाउने गर्दछन् भने केही पर्वहरु संक्रान्ति अर्थात १ गते मनाउने गर्दछन् । मिति अनुसार संक्रान्तिमा मनाउँदै आएका पर्वमा बिक्रम संवतको वर्षको पहिलो दिन बैशाख १ गते कर्कत संक्रान्तिका दिन नव वर्ष पर्व र माघ १ गते मकर संक्रान्तिका दिन मकर संक्रान्ति पर्व हुन् । सौरवर्षमा ३६५ दिन हुन्छ भने चान्द्रवर्षमा ३५४ दिन रहेका हुन्छन् । मिति सौरमान अनुसार गणना पर्ने दिनत तिथि: चान्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन हुन् । यसरी सौरवर्ष सौरमान अनुसारत तिथि चा्द्रवर्ष चान्द्रमान अनुसार दिन, घडि,पला र विवपला गणना गरि निकालीएको वर्ष हो ।
चान्द्रमान अनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिहरुमा शास्त्रगत तथा परम्परागत रुपमा मान्दै आएका चाड पर्वहरु वर्षेनी फरक फरक मितिमा अघि वा पछि पर्नुका कारण पनि सौरवर्ष तथा चान्द्र वर्षमा दिन गणनामा फरक भएकै कारण हुन् ।
सनातनी व्रत उपासनाहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रि पर्व परेको दिन फागुन कृष्ण चतुर्दशीको (सिल्लागा चःह्रेको) रातलाई " आशुतोष भगवान शिवको उत्पत्ति भएको रात्रिकारुपमा पौराणिक कथाहरुले मान्यत दिई आएको छ । वर्षदिनमा आउने रात्रिहरु मध्यमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिलाई पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । आश्विन शुक्ल सप्तमीको (कौलाथ्व सप्तमीको) रात्रिलाई "कालरात्रि", भाद्र कृष्णअष्टमीको कृष्णजन्माष्टमीको रातलाई " मोहरात्रि", कार्तिक कृष्ण अौसी(कौलागा आमै) / लक्ष्मी पूजाको रातलाई "सुखःरात्रि" र फागुन कृष्ण चतुर्दशीको(सिल्लागा चःह्रेको) रातलाई " महाशिवरात्रि" पर्वका रुपमा सनातनीहरुले मान्दै आएका छन् ।
महाशिवरात्रिलाई नेवाः समाजले सिल्लाचःह्रे पर्वका रुपमा मनाउँदै आएको छ ।
नेवाः समाजले वर्षदिन भित्रमा विभिन्न तिथिमा मान्दै आएका साना ठूला चाडपर्वहरु मध्य केही तिथिका पर्वहरु सन्ध्याकालमा मनाउने गर्दै आफ्नो जाति मौलिक पहिचान दिदै आएको छ । नेवाः समुदायले सन्ध्याकालमा मनाउने गर्दै आएका तिथि चाडपर्वहरु मध्यमा पाहाँचःह्रे तिथिमा सन्ध्याकालमा लुकुमाद्यः पूजा गरेर पर्व मनाएर भोज खाने, सानो म्वहनी नखःका रुपमा रहेको चथाः पर्वमा राती आकाशमा चन्द्रमा उदय भए पश्च्यात मात्र चथाः पूजा गरि चथाः पर्व मान्ने । त्यस्तै नै लक्ष्मी पूजा र म्हपूजा पनि बेलुका मात्र गर्ने परम्परा रही आएको छ । यसरी नै बेलुकी मनाउने एउटा पर्व शिवरात्रि( सिल्ला चःह्रे) तिथि पनि एक हुन् ।
चान्द्रमान अनुसारको नेपाल संवतको पञ्चाङ्गको बाह्रमासमा अर्थात वर्षभरीमा बाह्र चःह्रे( चतुर्दशी) तिथि पर्व रहेका हुन्छन् । बाह्र चःह्रे तिथिहरु यश प्रकार रहेका छन् :- १. बालाचःह्रे, २. दिशीचःह्रे, ३. लैचःह्रे, ४. सिलाचःह्रे, ५. पाहाँचःह्रे , ६. मातातिचःह्रे, ७. सिथिचःह्रे, ८. दिल्लाचःह्रे, ९. गथांमुगःचःह्रे, १०. जुगःचःह्रे, ११. नलास्वनेचःह्रे र १२. स्वन्तिचःह्रे तथा अधिकमास(मलमास/ पूरुषोत्तम महिना)को अनलाचःह्रे । यी बाह्र चःह्रे तिथिहरु मध्यमा मंसीर कृष्ण चतुर्दशी (बछलागा )को बालाचःह्रे, चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहांचःह्रे र फागुण कृष्ण चतुर्दशी(सिल्लागा ) को सिल्ला चःह्रे समेतका तिन तिथिहरुलाई विशेष पर्वका रुपमा नेवाः समुदायले मान्दै आएको छ ।
निलकण्ठ भोलेबाबा उत्पत्ति भएको दिन भनेर सनातनीहरुले विस्वास गरेको दिन नेपाल संवत् अनुसारको सिला महिनाको चःह्रे( सिल्लाचःह्रे) याने बिक्रसम्वत अनुसारको फागुण कृष्ण चतुर्दशी परेको दिनलाई / नेवाः समुदायले सिलाचाः ’ च्वनेगु" पनि भन्ने गरेको देखिन्छ । "सिलाचा" शब्दलाई खोतलेर हेर्ने हो भने "ला" को अर्थ महिना र "चाः " को अर्थ रात्रि अथवा रातमा जाग्राम बस्ने भन्ने देखिन्छ । सम्भवत नेपालमण्डलमा शिवरात्रि सिलाचाःको संस्कृतिकरण भई आएको हो वा सिलाचाःको अपभ्रंश भई शिवरात्री हुन गएको हो यो अध्यनको एउटा विषय हुन सक्छ ।
सिलाचःह्रेको ठीक एक महिना पछि आउने चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहांचःह्रेमा भुमिगतमारुपमा जमिनमुनि लुकेर बसेका देवादिदेव महादेवलाई(लुकुमाद्यः लाई) मध्यमास समेत चढाई पूजाआजा गरी पाहाँचःह्रे मनाउने सांस्कृतिक परम्परा भएका नेपालमण्डलवासी नेवाःहरुले शिव उत्पत्ति भएको पवित्ररातमा धुनीसमेत जगाई सिलाचाः याने जाग्राम बसेर महादेवको उपासना समेत गर्न यश दिन बिहान देखि नै युवाहरु चोक चोकमा बसी बाटोमा आवतजावत गर्ने सबै बटुवाहरुलाई बाटो छेकेर जगाः याने सिल्लाचःह्रेको कर लिने गर्छन् । त्यस्तै नै सानासाना नानीहरु पनि पसल पसल र घर घर गएर नेवाः भाषामा गाउदै "महाद्यःया इकुल, गणेद्यःया चिकुल, धर्म दुसा सिँ छका फ्वने हिँ त्यस्तै सिल्ला चःह्रे .... सिलाचा च्वनेत सिँ निका हिँ, मब्यूसा खवः सिँ तय्, सिलाचा पनेत सिँ निका हिँ, महाद्यःया चिकुल, मब्यूसा खवः स्वाय् काःयने ।" भन्दै घर घरमा गएर काठ दाउरा माग्न जाने परम्परा रहेको छ । दिनभरी उठाएका जगाःको पैसा राति ठूलठूल्ला मूडा काठहरु ल्याई धुनी जगाए धुनीमा शिव पूजा गरि भुटेको मकै भटमास चढाएर सबैले प्रशाद ग्रहन गर्ने गर्छन् । शिवरात्रिको धुनीमा उखु पोलेर पट्काएर प्रशादका रुपमा खाएमा रोग लागदैनन् भन्ने आस्था र विस्वास समेत रहेको छ । तर आजभोली भने सिल्लाचःह्रे याने शिवरात्रिमा नेवाःहरु भन्दा गैह्रनेवाः युवा तथा नानीहरु बाटो छेक्दै " शिवरात्रि, महादेव पार्वति, शिवरात्रि, महादेव पार्वति," भन्दै सिलाचःह्रेका नाममा को जगाः उठाउने नाममा सडक बाटो अवरोध गर्दै बटुवा र सवारी चालकहरुलाई हैरानी दिन्दै बलजफ्ती पैसा उठाएर खाने र नेवाः पर्व संस्कृतिको बदनाम गराउने कार्य गरेको समेत देखिन थालेको छ । सिल्लाचःह्रे नभई शिवरात्री मनाउने पर्व संस्कृति रहेका गैह्र नेवाःहरुमा शिवरात्रिमा बाटो छेकेर जग्गाः उठाउने परम्परा समेत छैनन्
नेपालमा राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मान्दै आएको यस दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न यश दिन देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसै दिन शैनिक मञ्च टुँडिखेलमा सैनिक दिवसका रुपमा बन्दुक पड्काएर शिवरात्रि बधाई गर्दै शैनिक कौसलताको खेल प्रदर्शन समेत गर्ने सांस्कृति परम्परा रहि आएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाउने पर्व रहि आएको छ । महाशिवरात्रिका दिन सैनिक दिवस मनाउने शुरुवात सन् १९३५ बाट भएको भन्ने रहेको छ । यश दिन टुँडिखेलमा सेनाले विषेश कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च आहोदाका सैनिक अधिकारी तथा राष्ट्राध्यक्ष समेतको उपस्थित हुने गर्दछ ।
नेपालमा राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मान्दै आएको यस दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र पर्वको मेला भर्न यश दिन देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसै दिन शैनिक मञ्च टुँडिखेलमा सैनिक दिवसका रुपमा बन्दुक पड्काएर शिवरात्रि बधाई गर्दै शैनिक कौसलताको खेल प्रदर्शन समेत गर्ने सांस्कृति परम्परा रहि आएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाउने पर्व रहि आएको छ । महाशिवरात्रिका दिन सैनिक दिवस मनाउने शुरुवात सन् १९३५ बाट भएको भन्ने रहेको छ । यश दिन टुँडिखेलमा सेनाले विषेश कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च आहोदाका सैनिक अधिकारी तथा राष्ट्राध्यक्ष समेतको उपस्थित हुने गर्दछ । मिति फागुन २७ महाशिवरात्रीका दिन गोपमा सिल्लाचःह्रे अर्थात शिवरात्रि शिर्षकमा प्रकाशि भएको
#प्रकाशमानशिल्पकार















