Wednesday, April 28, 2021

सुन्दरताकी देवी मनमैजु र भोटो देखाउने जात्रा

 सुन्दरताकी देवी मनमैजु र भोटो देखाउने जात्रा


        संघियगणतन्त्र नेपालको केन्द्रिय राजजधानी काठमाणडौंको उत्तर पश्चिम तारकेश्वर नगरपालीकामा केही अग्लो सथान पायेगोडा  शैलीको एउटा प्राचीन प्रशिद्ध मन्दिर रहेको छ । त्यो मन्दिर हो मनमैंजुको मन्दिर । नेपालमण्डललाई  अष्टमातृकाहरुको तान्त्रिक सुरक्षा चक्रघेराहरुका   पिठचक्रहरु मध्यको प्रथम चित्त- चक्रमा परेका अष्टमातृकाहरु मध्यका एक देवी इनद्रायणी देवी हुन् ।  यश मनमैंजु देवीलाई काशीनाथ तमोटको नेपामण्डल पुस्तकको लितँसा -६ को पीठस्थानमा मनमैंजु पीठलाई माहेश्वरी भनी उल्लेख गरिएको छ । नेपालमण्डलका बासिन्दाले  प्रत्येक वर्ष मनाउने म्वःहनी नखःको छैठौं दिन अर्थात षष्ठीका दिन टोखाको   नवरथ तिर्थमा स्नान गरि यश पीठमा पूजा गरी नवदुर्गा मध्य एक दुर्गाका रुपमा पुजिने यहाँको धार्मिक परम्परा रहेको छ । स्थानियहरुको भनाई अनुसार यश दिन मनमैंजु अजिमालाई मनोरथ तिर्थमा स्नान गराइन्छन् । दाग, पोतो र अन्य प्रकारका चर्मरोग लागेमा यिनको पूजा–उपासना गर्नाले ठीक हुन्छ भन्ने जनविश्वास छ । तसर्थ यिनलाई सुन्दरताकी देवी पनि भनिन्छ । त्यसोत मनमैंजु दवीको उत्पत्तिका सम्बन्धको किंवदन्ती कथाले भने यी देवीमा सुन्दर्ता नभएको भन्ने देखाउछ ।

मनमैजु देवीको उत्पत्ति सम्बन्धमा  किंवदन्ती

     किंवदन्ती  कथा अनुसार, परापूर्व कालमा काठमाडौंको जितपुर गाउँमा मन नाम गरेकी एक कुरुप रुपकी कन्या थिइन् । तिनी निरन्तर रूपमा विष्णुमती र केशुमती(साङ्गला) खोलाको दोभानमा बसी इन्द्रको तपस्या गर्दी रहिछन् । एक दिन सधैं झै मन नाम गरेकी ती कन्या दोभानमा स्नान गरि इन्द्रदेवको आरधना गर्ने क्रममा कन्याको आरधनाबाट प्रसन्न हुुनुभई इन्द्र आफैं त्यस स्थानमा उपस्थित भएछन् र ती कन्यालाई वर माग्न भनेछन् । ती कन्याले पनि इन्द्रलाई नै पतिका रूपमा पाउनुपर्ने वर मागिछन् । इन्द्रले उक्त कुरा स्वीकार गरी ती कन्यासँग विवाह गरेछन् । तर तिनको अनुहारमा कालो पातो र दागहरू रहेकाले त्यस्ती नराम्री कन्या स्वर्गमा सुहाउँदिनन् भनी तिनलाई त्यहीँ छाडेर इन्द्र स्वर्गतिर फर्किएछन् । उनलाई इन्द्रले नै मनमैजु नामले बस्नू अनि अनुहारमा दाग र पोतो हुने मानिसहरूलाई सुन्दर बनाउनू भन्ने वरदान दिएछन् । यसै आधारमा मनमैजुलाई अनुहार सुन्दर बनाउने देवीका रूपमा पूजाआजा गर्ने गरिएको हो भन्ने जनविश्वास छ ।

अर्काे किम्वदन्ती यश प्रकार रहेको छ -

       पहिला मनमैजु, टोखा र गोङगबुँ क्षेत्र घना जङगली क्षेत्र भएको । एक दिन एक शिकारी मृगको सिकार गर्ने ताकमा मृगको पछ्याउँदै आउँदा , हतास मृग मनोरथ तिर्थमा    पुगेर प्राण त्यागेछ । मृगले मर्नु अगाडि मैले व्यर्थमा मृत्युवरण गर्नुपर्यो , अर्को जुनीमा मैले व्याधासँग बदला लिन पाउँ भनी  भगवान संग याचना गरेछ । पवित्रमा बसेर अन्तिम क्षेणमा गरेको प्राथना स्वरुप  नभन्दै  त्यो मृग अर्को जुनीमा बाघ र व्याधा चाहिँ बँदेलको रुपमा जन्मन पुगेछन्। एकदिन अचानक ती दुबैको भेट त्यही मनोहर तीर्थमा भएछ । दुबै जनाको जमकाभेट पछि बदेँल र बाघको घमासान लडाइँ गर्दागर्दै नै  दुबैले त्यहिं तिर्थमै मृत्युवरण गरेछन् र स्वर्गमा पुगेछन्। तिदुबै लड्दा लड्दा दुबैले मृत्युवरण गरेर स्वर्गमा आएको देखेर देवेन्द्र आश्चर्य मान्दै के कस्तो पूण्यको प्रभावबाट तिमीहरू स्वर्गमा आयौं भन्दै सोधपुछ  गर्दा दुबैले मनोरथ तिर्थको प्रभाव भएको बताएको देखेर इन्द्रलाई पनि मत्र्यमण्डलको त्यो मनोहर  तिर्थ हेर्ने लालायित भएर तीर्थ हेर्न जान्छु भनी इन्द्र मनोहर तीर्थ आएछन्। संयोगबस इन्द्रले तीर्थबाट स्नान गरी निस्किएकी मनमैँजुलाई देखेछन्।  मनमैंजु शारीरिक सौन्दर्यले कुरुप र नराम्री देखिएतापनि शारीरिक बनावट भने राम्रो थियो । सधैं स्वर्गको अप्सराहरुको  रासलीलामा रहने इन्द्रलाई सुन्दरताले कुरुप भए पनि मनमैंजुको शारिक बनावटमा मोहित भई उनी संग एकरात सुखःभोग गरि बिताएछन्। भोलि पल्ट इन्द्र स्वर्गलोक फर्किन लाग्दा मनमैँजुले नजान बिन्ति गरिन्। म तिमीलाई यो जुनीमा इन्द्रलोक लान सक्दिनँ तर अर्को जुनीमा भने तिमी मेरी इन्द्रायणी बन्नेछ्यौ’ भनी मनमैंजुलाई केही वर तथा उपहार दिएर  इन्द्र त्यहाँबाट इन्द्रपुरी प्रस्थान गरेछन्।

मनैमैंजु मन्दिरको इतिहास  :

      मनोरथ तिर्थको किनारमा अवस्थित यश मनमैंजु अजिमा रुपि इनद्रायणी पिठलाई पौराणिक कथा उल्लेखित भए अनुसारको सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको शक्ति पिठ हुन् भनेर स्थानीयहरु आस्थार विस्वास गर्दै आएको छ । वंशावलीमा लेखिए अनुसार भने राजा गुणकामदेवको पालामा यस मन्दिरको स्थापना गरिएको भन्ने उल्लेख छ । यहाँ नेपाल सम्वत् १०३५ भन्दा पुरानो शिलापत्र भेटिएको छ भने राणा प्रधानमन्त्री चन्द्रशमशेर र तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गरिएको देखिन्छ । पित्तलको छाना र आकर्षक मन्दिर रहेको यस मन्दिरमा रहेका टुँडाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ ।

       नेपाल संवत् ७८६ मा प्रताप मल्लले यस मन्दिरको स्थापना गराएको देखिन्छ । सो कुरा मन्दिरको बाहिरी मूल ढोकाको उत्तरपट्टि पूर्व फर्काएर राखिएको शिलालेखमा उल्लेख छ । वि.सं. २०३१ सालमा सञ्चार मन्त्रालयबाट प्रकाशित मेचीदेखि महाकाली नामक पुस्तकको दोस्रो भागमा मनमैजु मन्दिरको स्थापना वि.सं. १७४८ मा भएको कुरा उल्लेख छ । मन्दिरमा भएको अर्काे शिलालेखमा राजा गिर्वाणयुद्ध वीरविक्रम शाहदेवले आफ्नी जेठी महारानीको नाममा यस मन्दिरको नित्य पूजालाई भनी वि.सं. १८५८ मा गुठी स्थापना गरिएको देखिन्छ । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट मन्दिरको जीर्णाेद्वारका लागि केही रकम उपलब्ध गराएको पाइन्छ । इतिहासअनुसार राजा गुणकामदेवले कान्तिपुर देशको स्थापनासँगै मनमैँजु मन्दिर, लुमडी, पचली भैरव ङ्यमरु अजिमा आदिको मन्दिर बनाएको भन्ने वंशावलीमा लेखिएको छ भन्ने जानकारहरु बताउँछन् ।

मनमैंजुको जात्रा पर्व :

लिङ्गो उठाउने

........

खत जात्रा -

     राजा गुणकामदेव नागार्जुन जङ्गलमा शिकार खेल्दै जाँदा एकपटक जङ्गलमा बास बस्दा । राजाले राति सपनामा मनमैँजु देवी  इन्द्रायणीको दर्शन पाएछन्। देवीले चैत्र शुक्ल पूर्णिमाको दिन पूजा अर्चना गरी जात्रा चलाएमा मनोकाङ्क्षा पूरा हुनेछ भनी आज्ञा भई अन्तध्र्यान हुनु भइछन्। भोलिपल्ट बिहान राजा बिउँझिएर भोलिपल्ट राजाले त्यहाँ चारैतिर हेर्दा  एउटा सुन्दर मन्दिर र स–साना बस्तीहरु देखेछन्। पछि राजा गुणकामदेवले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरी स्थानीय बासिन्दालाई जागृत गराई इन्द्रायणीको नित्य पूजाअर्चना गरि जात्रा चलाउन लगाएको भन्ने छ ।

      प्रत्येक वर्ष चैत्र शुक्ल चतर्दशीका दिनदेखि पाँचदिनसम्म परम्परागत रूपमा मनमैँजुको जात्रा मनाउँदै आएको छ  । जात्राको पहिलो दिन चैत्र शुक्ल चतर्दशीका दिन तारकेश्वर महादेवको जङ्गलम रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याइएको  रुखकोलाई लिंगोका रुपमा मन्दिर अगाडि ठड्याइ मनमैज्ञु अजिमाको जात्रा सुरुहुन्छ । पाँचदिनसम्म विविध तरिकाले मनमैँजुको पूजा आजा गरि जात्रा हुने गर्छ । यसै जात्राको क्रममा मनमैजु अजिमालाई खतमा विराजमान गराई टोल टोलमा लगेर स्थानियहरुको पूजा लिने गरिन्छ ।  पूजामा अलिबलि सहित पूजागरी सिन्दूर जात्रा गर्दै गाउँ घुमाईन्छ । पाँचौ दिनमा लिङ्गो ढालेर  जात्रा समाप्त गरि देवीलाई विधिवत लसकुस पूजागरी भित्र्याइन्छ ।

भोटो जात्रा :

     खत जात्रा समाप्त गरि लिङ्गो समेत ढालेर अजिमा लसकुस गरि भित्र्याई सकेपछि भोटो जात्रा सुरु हन्छ । नेपालमा भोटो देखाउने जात्रा भन्दासाथ सबैको मानसपटलमा पाटनको बुङ्गद्य:( रातोमच्छिन्द्रनाथको) जावलाखेलमा देखाउने जात्रा नै झझल्को आउछ ।  तर मनमैंजुमा देखाउने भोटो जात्रा भने कसैेलाई पनि सम्झनामा आउँदैनन् । हुन पनि हो यहाँको भोटो देखाउने जात्राका बारेमा धेरैलाई थाहानै छैनत । यहाँको यो भोटो देखाउने जात्रा अनौठो र रोचक छ । देवेन्द्रले मनमैंजुलाई आफ्नो मायाको चिनो सुरुप दिएर गएको हीरामोती जडित भोटो मनमैजु अजिमा गुठीका मूलधामी र गुठीका थकालीले त्यहाँ उपस्थित भक्तजनलाई देखाउने चलन रहेको छ ।  मनमैंजु अजिमाका मूलधामी र गुठीका थकालीले त्यहाँ उपस्थित भक्तजनलाई देखाउने चलन रहेको छ । यस प्रकारको अनौठो र रोचक  भोटो देखाउने जात्रा परम्परा देखी देवगृहभित्रमात्र सीमित हुन्छ । अन्य सर्वसाधारणका लागि भोटो देखाइँदैन ।                

   मनमैंजु  मनोरथ तिर्थ प्रसिद्ध द्वादश तिर्थहरु मध्य एक प्रमुख तिर्थ :

     दशै / म्वःहनी नखःको षस्थिकादिन नवरथ यात्रिहरुले लीईने मनोरथ तिर्थ  बौद्ध वज्रयान परम्परा अनुसार यस तीर्थलाई महत्वपूर्ण तीर्थका रुपमा लिइने गरिन्छ । बौद्ध वज्रयान तन्त्र परम्पराका १२ तीर्थमध्ये यो तीर्थ पनि एक प्रमुख तीर्थ मानिन्छ । स्वयम्भू पूराणमा प्राचिन नेपालमण्डलको केन्द्रको रुपमा रहेको कान्तिपुर नगर र यसको वरिपरि पवित्र १२ तीर्थ रहेको उल्लेख गरिएको छ । ‘यसलाई द्वादस तीर्थ ’नाम दिइएको छ । द्वादस तीर्थको महिमा र यसको धार्मिक ऐतिहासिक महत्व बारे विकास रत्न बज्राचार्य द्वारा सम्पादित द्वादस तीर्थ महात्म्य ग्रन्थमा पनि उल्लेख गरिएको छ । ‘द्वादस तीर्थ महात्म्य’ ग्रन्थका सम्पादक बौद्ध विद्धान विकाश रत्न बज्राचार्यका अनुसार नेपाल मण्डलको द्वादस तीर्थ धार्मिक, सांस्कृतिक दृष्टिकोणले मात्र हैन आयुर्विज्ञानको दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । द्वादस तीर्थमा परेका यश मनोरथ तीर्थ बाहेक  अन्य ११ तीर्थहरुमा - १.  पूण्य तीर्थ–गोकर्ण,२. शान्त तीर्थ– गुहेश्वरी, ३. शंकर तीर्थ– शंखमोल, ४. राजतीर्थ– सानेपा टेकु, ५. निर्मल तीर्थ– भचाखुसी शोभा भगवती, ६. निधान तीर्थ–लखु तीर्थ, ७. ज्ञान तीर्थ कह्रखुसी  विष्णुमती दोभान,८. चिन्तामणि तीर्थ – टेकुदोभान, ९. प्रमोद तीर्थ – दाङ्ग्रा खुसि, १०. सुलक्षण तीर्थ–भाजंगाः र ११. जय तीर्थ–ङेखु – अादि तीर्थहरु हुन् ।

मनमैजु अजिमा नागमाता मनसाका रुप पनि :

     नाग, स्कन्द, अग्नि, ब्रह्म, विष्णु तथा शिव पुराणहरुमा चर्चित  शिवपुत्रि नागमाता मनसानै  मनमैंजु अजिमा रहेको भन्ने समेत मान्यता रहेको छ । महाभारत कालपछि  मनसाबाट अपभ्रंश भएर मनमैंजु रहन गएको हो र  मनसाको रुप अघोर भएका कारण मनमैंजु अजिमालाई बली दिने चलन चलेको हो भन्ने समेत रहेको छ । मनमैंजु अजिमाको बज्राचार्य पुजारी बाट तान्त्रिक पुजा हुने गर्छ ।

सन्दर्भ सामाग्रि :-  तारकेश्वर नगरपालीकाको वेभशाईत  र काशीनाथ तमोटको नेपामण्डल पुस्तकको लितँसा -६ र पूण्यभूमि नेपालमण्डलको पवित्र द्वादस तीर्थका कुराहरू !-हिसी ज्यापु समेत ।

#प्रकाशमानशिल्पकार

#कल्खुअजिमाशरण_लेखसंग्रह

No comments:

Post a Comment