बसाहा : केवल शिवको वाहन मात्र कि प्राचीन संकेत र सांस्कृतिक प्रतीक पनि ?
नेपालमण्डलका मठ–मन्दिर, देवल, फल्चा, चोक तथा बाटोछेउमा देखिने ढलौटे वा ढुङ्गाका साँढेको मूर्तिलाई सामान्यतया बसाहा भनिन्छ । संस्कृत परम्परामा यसलाई नन्दि भनिन्छ, जो भगवान् शिवको वाहन तथा परम भक्तका रूपमा परिचित छन् । त्यसैले शिवमन्दिरअगाडि बसाहाको मूर्ति हुनु स्वाभाविक र धार्मिक दृष्टिले अनिवार्यजस्तै मानिन्छ ।
तर प्रश्न त्यहाँ उठ्छ, जहाँ कुनै शिवमन्दिर छैन, कुनै देवल वा मूर्तिको अस्तित्वसमेत छैन, तर त्यहाँ पनि बसाहा राखिएको देखिन्छ । आखिर हाम्रा पुर्खाले किन यस्ता स्थानहरूमा बसाहा स्थापना गरे ?
यो केवल धार्मिक परम्पराको निरन्तरता मात्र हो कि त्यसभित्र कुनै गहिरो सांस्कृतिक, तान्त्रिक, सामाजिक वा भौगोलिक अर्थ लुकेको छ ?
यही प्रश्नले धेरै जिज्ञासु मनलाई झैँ मलाई पनि धेरै वर्षदेखि सोच्न बाध्य बनाएको छ । संस्कृतिविद् तथा जानकारहरूसँग जिज्ञासा राख्दा पनि चित्तबुझ्दो उत्तर प्रायः प्राप्त हुन सकेन । तर नेपालमण्डलको पुरातात्त्विक, तान्त्रिक र लोकपरम्परालाई हेर्दा केही सम्भावित अर्थ र कारणहरू अनुमान गर्न सकिन्छ ।
१. बसाहा : केवल वाहन होइन, “रक्षक” को प्रतीक
प्राचीन नेपालमण्डलमा बसाहा केवल शिवको वाहन थिएन, त्यो रक्षक शक्ति को प्रतीक पनि थियो ।
साँढे स्वभावतः शक्तिशाली, सतर्क र स्थिर प्राणी मानिन्छ । त्यसैले नगरको सीमा, बाटोको मोड, घाट, चोक वा संवेदनशील स्थानमा बसाहा राखेर त्यस क्षेत्रको रक्षा गर्ने सांस्कृतिक विश्वास विकसित भएको हुन सक्छ ।
विशेषतः टेकु पचलीस्थित क्वःस्व गणेश अगाडिको बसाहा, लुतिमरु अजिमाको क्षेत्रनजिकको बसाहा, क्षेत्रपाटी चाकला डब्बु वा चिकंमू थुसाननी र गल्कोपाखा सामाखुसी चिल्ड्रेन पार्क जसको प्राचीन मोलिक नाम थुसाख्यः।रहेको थियो त्यहाँका बसाहाहरू हेर्दा तिनीहरू कुनै न कुनै सीमाचिन्ह वा रक्षास्थल जस्ता पनि देखिन्छन् ।
२. हराइसकेका मन्दिर वा देवस्थलका अवशेष
नेपालका धेरै पुराना देवस्थल समयक्रममा नष्ट भए, पुरिए, भूकम्पले भत्किए वा शहरीकरणले हराए । तर कतिपय स्थानमा सम्पूर्ण मन्दिर हराए पनि बसाहा भने बाँकी रह्यो । किनकि ढुङ्गाको मूर्ति टिकाउ थियो र स्थानीय जनताले त्यसलाई हटाउन उचित मानेनन् ।
त्यसैले आज जहाँ कुनै शिवमन्दिर देखिँदैन, सम्भव छ त्यहाँ कुनै समय सानो शिवलिङ्ग, पिठ वा देवल रहेको होस् । बसाहा त्यस पुरानो स्मृतिको मौन साक्षी भएर बसेको हुन सक्छ ।
३. तान्त्रिक तथा शक्ति परम्परासँग सम्बन्ध
नेपालमण्डलको संस्कार केवल वैदिक परम्परामा सीमित छैन; यहाँ शाक्त, तान्त्रिक, गणदेवता र लोकदेवताहरूको पनि गहिरो प्रभाव छ ।
तान्त्रिक परम्परामा बसाहा “धैर्य, शक्ति, स्थिरता र गोपनीय ऊर्जा” को प्रतीक मानिने सम्भावना देखिन्छ । त्यसैले अजिमा, गणेश वा क्षेत्रपालका स्थाननजिक पनि बसाहा स्थापना गरिएको हुन सक्छ ।
विशेष गरी लुतिमरु अजिमा जस्ता नगरसंरक्षिका देवीको क्षेत्रनजिक बसाहा हुनु केवल संयोग मात्र नहुन सक्छ । सम्भवतः त्यो स्थानको तान्त्रिक सुरक्षा–वृत्तसँग यसको सम्बन्ध थियो ।
४. मार्ग संकेत र विश्रामस्थलको चिन्ह
पुराना समयमा बसाहा यात्रुका लागि मार्गचिन्हको रूपमा पनि प्रयोग भएको हुन सक्ने सम्भावना छ । जस्तै आज हामी चौतारा, पाटी वा धारा हेरेर बाटो चिन्थ्यौं, त्यसैगरी कुनै विशिष्ट बसाहा देखेर यात्रुले स्थान चिन्थे होलान् ।
कतिपय बसाहाहरू पिपलको बोट, चौतारा, इनार, हिटी वा बाटोको संगममा राखिएको पाइन्छ । यसले त्यो स्थान कुनै समय सार्वजनिक जमघट, विश्राम वा धार्मिक क्रियाकलापको केन्द्र थियो भन्ने संकेत दिन्छ ।
५. नगरको ऊर्जा र दिशा सन्तुलन
प्राचीन नगर निर्माणमा दिशा, शक्ति र भूऊर्जाको अवधारणा पनि महत्वपूर्ण मानिन्थ्यो । कान्तिपुरजस्तो पुरानो नगरमा विभिन्न दिशामा गणेश, भैरव, अजिमा, नाग, बसाहा आदि स्थापना गरेर नगरको अदृश्य सुरक्षा चक्र बनाइएको हुन सक्छ । यस दृष्टिले बसाहा केवल मूर्ति नभई नगरको “जीवित ऊर्जा–संरचना” को एउटा भाग पनि हुन सक्छ ।
निष्कर्ष
बसाहा केवल शिवजीको वाहन नन्दिको प्रतिमा मात्र होइन, त्यो नेपालमण्डलको गहिरो सांस्कृतिक चेतना, नगररक्षा, तान्त्रिक विश्वास, पुरातात्त्विक स्मृति र लोकपरम्पराको जीवित प्रतीक पनि हुन सक्छ ।
आज हामीले मन्दिर नदेखे पनि बसाहा त्यहाँ मौन भएर उभिएको छ — मानौं उसले विगतको कुनै हराएको कथा बोकेर बसेको छ ।
हाम्रा पुर्खाले कुनै वस्तु बिना कारण स्थापना गर्दैनथे । प्रत्येक ढुङ्गा, प्रत्येक देवप्रतिमा र प्रत्येक बसाहाभित्र कुनै न कुनै अर्थ, विश्वास र अनुभव लुकेको थियो ।
त्यसैले यस्ता बसाहाहरूलाई केवल पुरानो ढुङ्गा सम्झेर हेर्नुभन्दा, तिनलाई हाम्रो सभ्यता, नगरसंरचना र सांस्कृतिक स्मृतिका मौन इतिहासकारका रूपमा बुझ्न आवश्यक देखिन्छ ।
~०~
#प्रकाशमानशिल्पकार
हाम्रो सम्पदा राष्ट्रको पहिचाान हाम्रो मठमन्दिर

No comments:
Post a Comment