भक्तपुरको “खःलाँ” — विस्का जात्राको जीवित सांस्कृतिक मा
![]() |
| खःलाँ |
Bhaktapur नगरको गःहिटीबाट भेलुखेल (यःसिंख्यः) तर्फ जाने प्राचीन ढुंगे बाटोलाई स्थानीय नेपालभाषामा “खःलाँ” भनिन्छ। नेपालभाषामा “खः” को अर्थ रथ र “लाँ” को अर्थ बाटो भएकाले “खःलाँ” भन्नाले “रथ जाने बाटो” भन्ने अर्थ दिन्छ। यसरी टोल तथा बाटोको नामले नै आफ्नो ऐतिहासिक र सांस्कृतिक परिचय बोकेको स्पष्ट देखिन्छ।
यो बाटो विशेषतः भक्तपुरको प्रसिद्ध Biska Jatra संग प्रत्यक्ष सम्बन्धित रहेको छ। यही मार्ग हुँदै भेलखः (काशीविश्वनाथ) र नकिंजु खःचा (भद्रकाली) का रथहरू भेलुखेलतर्फ तानिने तथा पुनः नगरतर्फ फर्काइने प्राचीन परम्परा आजसम्म जीवित रहेको पाइन्छ।
खःलाँको बनावट हेर्दा यो केवल सामान्य आवतजावतको मार्ग नभई विशेष रूपमा रथयात्राका लागि निर्माण गरिएको सांस्कृतिक मार्ग भएको अनुभूति हुन्छ। साँघुरो गल्लीका दायाँ–बायाँ रहेका घरहरूमा रथका विशाल चक्काले ठोक्किन नपरोस् भन्ने उद्देश्यले पुर्खाहरूले बाटोको दुवैतर्फ करिब एक फिट चौडा तथा केही गहिरो ढुंगे मार्ग तयार गरेका थिए। यसले रथलाई सन्तुलित र सहज रूपमा अगाडि बढ्न सहयोग पुर्याउँछ। ओरालो बनावटका कारण भेलुखेलतर्फ रथ तान्दा रथ स्वाभाविक रूपमा सरर गुड्ने गर्दछ।
तर, यति व्यवस्थित मार्ग हुँदाहुँदै पनि कहिलेकाहीँ जात्राका क्रममा भैरवनाथको रथ अकस्मात स्थिर भएर नचल्ने घटना हुने गरेको स्थानीय जनविश्वास छ। जात्रालुहरूले “हस्से ! हैस्से !!” भन्दै सामूहिक बल लगाए पनि रथ नअगाडि सर्छ, न पछाडि। यस्तो अवस्थालाई स्थानीय तान्त्रिक परम्परामा अदृश्य शक्तिले रथ रोकेको संकेतका रूपमा लिने गरिन्छ। त्यसपछि “स्याबजि” चारैतर्फ छर्केर तान्त्रिक विधिबाट बाधा पन्छाउने परम्परा रहेको छ। उक्त विधिपछि भने सामान्य बल प्रयोग गर्दा पनि रथ पुनः चल्न थाल्ने विश्वास गरिन्छ। यसले विस्का जात्रा केवल मनोरञ्जनात्मक पर्व नभई गहिरो तान्त्रिक परम्परासँग जोडिएको जात्रा भएको देखाउँछ।
विस्का जात्रासँग सम्बन्धित अर्को प्रख्यात किंवदन्ती अनुसार Kashi Vishwanath भेष बदलेर जात्रा अवलोकन गर्न भक्तपुर आएका थिए। यहाँका तान्त्रिक गुरुहरूले उनलाई चिनेर तन्त्रबलद्वारा यहीँ रोकिराख्ने योजना बनाएको आभास पाएपछि विश्वनाथ जमिनभित्र अलप हुन खोजे। त्यस क्रममा स्थानीय व्यक्तिले हँसियाले उनको शिर छेदन गरेको र पछि सोही शिरलाई रथमा राखेर जात्रा गर्ने परम्परा प्रारम्भ भएको भन्ने जनश्रुति पाइन्छ। यही किंवदन्तीका आधारमा प्रारम्भमा केवल यःसिंद्यः उठाउने परम्परा रहेको विस्का जात्रामा पछि भैरवनाथको रथयात्रा पनि समावेश भएको विश्वास गरिन्छ।
भैरव रथका सारथीका रूपमा रहने बेताद्यःको अनुहारमा देखिने भावलाई समेत भक्तपुरवासीहरूले विशेष संकेतका रूपमा लिने गरेका छन्। यदि उनको अनुहार मलिन देखिए जात्रामा विघ्न वा अनिष्ट हुने, मुस्कान झल्किए जात्रा सफल र शुभ हुने जनविश्वास आजसम्म जीवित छ।
तन्त्रप्रधान मानिने विस्का जात्रामा रथ तान्दा तथा यःसिंद्यः उठाउँदा उच्चारण गरिने “हस्से ! हैस्से !!” ध्वनि केवल श्रमको आवेग मात्र नभई तान्त्रिक मन्त्र, सामूहिक ऊर्जा तथा प्राणायामसँग समेत सम्बन्धित रहेको तन्त्र अभ्यासकर्ताहरू बताउँछन्। तन्त्र साधना र योग परम्परामा श्वास–प्रश्वास अर्थात् प्राणायामलाई विशेष महत्व दिइन्छ। यस दृष्टिले हेर्दा विस्का जात्रामा उच्चारित सामूहिक ध्वनिहरू केवल जात्रीय उत्साह नभई सांस्कृतिक–आध्यात्मिक अभ्यासका जीवित स्वरूप पनि हुन्।
यसरी “खःलाँ” केवल एउटा पुरानो ढुंगे बाटो मात्र होइन, Bhaktapur को जीवित इतिहास, तान्त्रिक परम्परा, रथयात्रा संस्कृति र सामूहिक स्मृतिलाई आजसम्म बोकेर बसेको एक महत्वपूर्ण सांस्कृतिक सम्पदा हो।
खँला टोल(बोटो) सामान्य बाटो मात्र हैन बिस्का जात्राको तान्त्रिक रथमार्ग अनि नेपाल मण्डलको जीवित तान्त्रिक इन्जिनियरिङको प्रमाण हो।
#तन्त्रचर्चा ~०~

No comments:
Post a Comment