Monday, November 23, 2020

पिखालखु द्यः

 पिखालखु द्यः


 ✡ पृष्ठभूमि 

      अधिकांश नेवाःहरुको घरको मूल ढोका अगाडि  मण्ड आकारको एउटा ढुंगा गाडिएको हुन्छ । सामान्यत यश ढुंगामा फुल बुट्टा( कमलको फुल -पलस्वाँ बुट्टा) कुदिएको हुन्छ । कसै कसैको घरको ढोका अगाडि राखीएको फुल बुट्टा नकुदिएको ढुंगा पनि देख्न सकिन्छ । नेवाःहरुको घरको ढोका अगाडि  रहेको कलात्मक मण्डकार वा सामान्य गोलाकार ढुंगालाई नेवाः समाजले अग्रजपूजा अधिकारी श्री गणेश पछि दोस्रो अग्रज पूजाअधिकारीका रुपमा श्रीकुमार, गंगा तथा क्षेत्रपाल भैरबका प्रतिकका रुपमा समेत पुज्ने गर्दछन् ।  ढोका अगाडिको यो पूजनिय देवतालाई पिखालखु वा पिखालाखी भनिन्छ । नेवाः संस्कृति अनुसार नयाँ घर बनाउदा ढोका अगाडि पिखालखु द्यःकारुपमा मण्डकार ढुंगाराख्नु अघि केही तामाका सिक्का राख्ने परम्पर रहेतापनि यश ढुंगाको प्राणप्रतिस्था गर्ने संस्कृति भने देखिन्दैनन् । 

✡ पिखालखुको परिभाषा

      पिखालखु वा पिखालाखी शब्द नेवाः( नेपाल भाषा)को भाषिक शब्द हो । पिखा + लखु = पिखालखु वा पिखा + लाछी = पिखालाखी हुन्छ । नेवाः शब्द ( नेपाल भाषा) मा लखु भन्नाले लाछि( सार्वजनिक स्थल, बाहिर वा चोक) भन्ने जनाउछ। लखु शब्दले  नेवाःभाषा शैली( नेपाल भाषा) मा नदी खोला समेत जनाउछन्। त्यस्तै नै नेवाः भाषा शैली (नेपालभाषा) मा लुखा, पिखा तथा ध्वाखा इत्यादि सबै शब्दको मूल अर्थ ध्वाखा( ढोका) नै हुन् । यसरी "पिखालखु" नेवाः शब्द पिखा(ढोखा) र लखु ( सार्वजनिक स्थल वा नदी खोला याने गंगा) समायोजन भएर बनेको शब्द हो भने पिखालाखी भक्तपुरका स्थानिय नेवाः भाषा शैलीमा भनिने पिखालखुकै पर्यावाचि शब्द हुन् । यसर्थ पिखालखु अर्थ घर( निजि) र सार्वजनिक स्थल छुत्याउने सिमाना समेत दर्शाउछन् ।  त्यसैले होला घर परिवारमा वा घरबाहिरका कुनै मानिस घरमा आएर कुनै विवाद गर्न आएमा पिखालखुइ च्वना खँ ल्हायेनु भन्ने गरेको नेवाः समाजमा रहेका देखिन्छन । 

      अपवादका रुपमा केही नेवाः प्रोहितको पिखालखुको परिभाषा फरक रहेको पनि देखिन्छन् । फरक मत विचार राख्ने नेवाः प्रोहितको भनाई हनुसार यथार्थमा पिखालखु द्यः घरको ढोका अगाडि नभएर मूल ढोकाको माथिल्लो चौकोसमा जहाँ त्रिकोणाकार किल्ला ठोकिएको हुन्छ त्यहि नै वास्तवमा पिखालखु द्यः बिराजमान रहेको भने मत रहेको समेत देखिन्छ । फरक मत मध्यमा 👉️ # पनि संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायको भनाईमा पिखालखु द्यः र कुमार द्यः अलग अलग देवता भएको भन्ने भनाइ समेत रहेको छ # 👈️। नेवाः संस्कृतिमा घरबाट पूजा बाहिर गएको बेलामा घरको मूल ढोकाको माथिल्लो चौकोसको बिच भाग जहाँ त्रिकोणाकार किल्ला ठोकिएको स्थानमा पूजा गरेर पूजा बाहिर जाने परम्परा नदेखिए तापनि  बाहि अन्यत्र पूजा सकाएर  पूजाथाली, कोतः वा कलः(कलाली) लिएर घरको ढोका प्रवेश गर्नु अघि त्यहाँ पूजा गरेर मात्र प्रवेश गर्ने परम्परा भने छ ।

✡ पिखालु रहने स्थान

       नेवाः समुदायको अधिकांश घरको मूल ढोका देखि एक हात देखि झन्दै २० हात परसम्म पनि पिखालखु द्यःका रुपमा मण्डकार ढुंगा वा कुनै मण्डकार ढुंगा नभए तापनि पिखालखु द्यःका रुपमा पुजा स्थल रहे कै हुन्छ । त्यस्तै नै हरेक मन्दिर को मूलढोमा अगाडि समेत रहेको देखिन्छन् ।

✡ पिखालखु त्रिदेव देवीका रुपमा

(क) श्री कुमार देवता

     पिखालखुलाई सनातनी धर्ममा अग्रज पूजाधिकारी देवता मध्यका शिव र गंगा पुत्र श्रीकुमार(कार्तिके) देवताका रुपमा समेत पुज्ने गरिन्छ । अग्रज पूजाधिकारी मानेर नै सनातनी नेवाः समाजले घरबाट  साधारण पूजा बाहिर जाँदा यश कुमार देवता रुपि पिखालखु  द्यः लाई पूजा गरेर मात्र अन्य कुनै मन्दिरमा पूजा गर्न जाने गरिन्छ । तर कुनै विशेष पूजा घरबाट निस्कन्दा भने श्री कुमार देवता रुपि पिखालखूलाई छुट्टै पूजाभाग सानो द्वना वा सानो तपरीमा राखेर चढाए पछि मात्र मूल विशेष पूजा(क्वतः तथा कलः ) बाहिन्छन् ।

(ख) घरको रखवाला क्षेत्रपाल देवता

      पिखालखुलाई नेवाः समाजले घरको रखवाला देवता क्षेत्रपालका रुपमा समेत पुज्ने गरेको समेत पाइन्छ । क्षेत्रपाल कडा स्वभावका हुन्छन् । उनलाई रिसाउन दिनु हुन्न। धर परिवारमा कुनै अनिष्ट, विपत्ति  आईपर्यो भने पिखालखुको क्षेत्रपाल पुज्ने क्रममा वा भाग पन्छाउने क्रममा कुनै तलमाथि परेको हुन सक्छ भन्ने नेवाः समाजमा विस्वास रहेको पाईन्छ । क्षेत्रपाललाई शिवको अनुचर तथा बिघ्नपाद भैरबका रुपमा मान्ने तान्त्रिक पद्धति समेत रहेको छ ।

(ग) घर अगाडिको नदी वा गंगामाता

      पिखलखुलाई नेवाः समुदायले घर अगाडि रहेको जलासय, नदी वा श्री गंगामाताका रुपमा पनि पुज्ने संस्कार रहेको देखिन्छ । सायद त्यहि कारणले हुन सक्छन् म्वःनी(मोहनी) नखःमा दस दिन सम्म नव दुर्गाकारुपमा साधना गरि पूजागरीएको जमरा सहित घटस तथा अन्य फुलपाटीहरु म्वःनीको अन्तिम दिन कतिंपुन्हि(सिघःपुन्ह/ कोजाग्रत पूर्णेका दिन जलासय, नदी सम्झेर पिखालखुमा विसर्जन गरेर सेलाउने संसकृति रहेको देखिन्छ ।

      नेवाः समुदायले म्वःनी नखः मनाएकै तिथि मितिमा पृथक पूजा विधि तथा मान्यता अनुसार दशदिन सम्म नव दुर्गा भवानीमाताको पूजा आर्धना गरिएको जमरा सहितको दशैको घटस तथा फुलपाटी सबै  गैह्र नेवाः समुदायले कुलो वा नदीमा नै गएर विसर्जन गरि सेलाउने परम्परागत संस्कृति देखिन्छ ।

✡ पिखालखुमा कुँदिएका कमलफुल पत्र तथा बुट्टाको अर्थ-

     कतिपय पिखालखु ढुंगामा कुँदिएका कमलपत्रको संख्या तथा बुट्टाहरु भिन्न भिन्न किसिमका देखिएका छन् । कतिपयमात कुनै धर्को वा बिन्दू समेत पनि भेटिन्दैन । कतिपय नेवाःको घरको ढोका अगाडि पिखालखु द्यःको कुनै निशान सम्म पनि देखिन्दैनन् । तापनि पिखालखु द्यः हुनुपर्ने स्थानमा इनार, कुवा वा धाराबाट चोखो पानी लिएर घर प्रवेश गर्दा पानी चढाउने, पुजा बाहिर जाँदा पुजा गर्ने तथा नेवाः तजिलजि अनुसार पिखालखुमा गर्नु पर्ने विभिन्न संस्कारहरु भने यथावटै गर्दै आएको भने देखिन्छ नै ।

       पिखालखुमा कुँदिएका कमलफुलका पत्र( पलस्वाँहःया ल्याः)को स्ख्या र अन्य बुट्टाहरुका बारेमा शिल्पी शिलाकारहरु (लोहँकःमि) को भनाईमा ६ वटा कमलको फूलको पत्रले श्रीकार्तिकेय कुमार, ७ वटा कमलको फूलको पत्रले सप्तऋषि, ८ वटा कमलफुल पत्रले अष्टमातृका, ९ वटा कमलफुल पत्रले नव दसर्गा, १२ वटा कमलफुल पत्रले 👉️#सूर्यदेवता तथा १६ वटा कमलफुल पत्रले चन्द्रमा प्रतिपदा देखि पुर्णे र अौसी गरी चन्द्रमाको कला भन्ने # 👈️ बुझाउछन् । त्यस्तै नै विखालखुको मण्ड भित्र कुँदिएको षट्कोणले शिवशक्ति, अष्टकोणले अष्टमाततृका एवं षट्कोणको यन्त्र भित्रको पाँच बिन्दूले पञ्चपाण्डव भन्ने दर्शाउन्छन्।

✡ पिखालखु द्यः र नेवाः संसकार

      नेवाः संसकारमा पिखालखु द्यः संग निकै घनिष्ठ सम्बन्ध रहेका देखिन्छ । नेवाः समुदनयको जिवनको जन्म देखि मृत्यु र मृत्यु उपरान्त सम्मको विभिन्न संस्कारहरु सम्म पनि जति छ्वास अजिमा संग सम्बन्ध छ त्यसरी नै पिखालखु द्यः संग पनि जन्म मरण दैनिक देखि विभिन्न संस्कार तथा चाड पर्व देखि लिएर  विशेष पूजाआजामा समेत त्यति घनिष्ठ सम्बन्ध रहेका छन् । 

✡ नेवाः समुदाय्ले पिखालखुमा गरिन्दै आएका  

     संसकारहरु :-

१. नवजात शिशुको च्वख्याउने(मचाबु ब्यङ्के गर्दा) कार्य गर्दा पिखालखुमा चिःपालु पन्छाउने,

२. छोरी चेलीको इहि गर्दा इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान पिखालखु द्य: को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई   फँ बारा छुयेगु भन्छ । यसरी इही ससंकार कार्य सम्पूर्ण  हुन्छ । 

३. कन्यालाई इहिपा(बिबाह) गरि बिदाई गर्ने कार्य यसै  पिखालखु अगाडि बसेर बिदाई कार्य सम्पन्न गरिन्छ ।

४.छोराको इहिपा(बिवाह) पनि दुलही (भौमचा दुकायेगु) भित्र्याउने कार्उ पनि यसै पिखालखुमा बसेर घरको नकिंले  भोटेताल्चाको साँचो एकातर्फ र अर्कोतर्फ दुलहिलाई समाउन लगाएर दुलहीलाई सुस्वागत(लसुकुस) गरी भित्र्याइन्छ ।

५. घर परिवार सदश्यको मृत्यु हुँदा मृतकलाई कुतः(बाँसको खट)मा राखेर सबयात्रा( सिथँयङ्केगु) गर्ने बार्य पिखालखु अगाडि नै गरिन्छ ।

६. मृतक आफन्तलाई दागबत्ती दिएर फर्कने र मलामी गएर  फर्कने आफन्त समेतलाई यसै पिखालखु अगाडि बसेर  घरका बिबाहित चेलीले निल:(चोखोपानी) छर्केर पहिला च्छास वाये गर्ने र पिच्चा वाये गर्नलाई, लासबोक्ने( सिम्ह    कोबिउपिंत), आफन्तजनलाई र अन्त्यमा दागबत्ती   दिनेलाई समेत हात धुनलगाई बलिंपि गरि मसिनुचिउरा  (च्वकाबजी)  दायाँ बायाँ छर्कने, सर्स्यू(ईकापःका) बालेर  त्यसको धुंवाँ  फिजाएर त्यसपछि क्रमशः एकले अर्कोलाई नछोइकन भोटे टाल्चा हस्तान्तरण गरेर बलिंपिगु संसकार सम्पन्न गरेर लसकुस गरी घरमा प्रवेश गर्न गर्छ । यश  संस्कारलाई बलिंपिगु संस्कार भन्ने गरिन्छ ।  अन्य नेवाः संस्कार जस्तै यो बलिंपिइगु संसकार पनि नेवाः  समुदाय  भित्र पनि जातिय समूह र ठाउँ  अनुसार केही केही फरक  पनि हुन सक्छन् ।

७.दैनिक रुपमा पहिला पहिला अहिले जस्तो घर घरमा

धाराको व्यवस्था नहुँदा घर बाहिरको ईनार वा सार्वजनिक  धारा, ढुंगेधाराबाट पानी लिएर आउँदा पिखालाखुलाई चोखो पानी ( निलः/ निनाः) चढाएर मात्र घर भित्र प्रवेश गर्ने चलन रहेको छ ।

८. घरबाट दैनिकरुपमा नजिकको मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुलाई पुजा गरेर बाहिर पुजा गर्न जाने ।

९. चाड पर्वहरुमा विभिन्न मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुको पूजाभागाका रुपमा दुनामा राखेर पिखालखुलाई चढाएर मात्र पूजा बाहिर गइन्छ ।


१०. विशेष पूजा जस्तै पञ्चली पूजा, लक्षबत्ती दिप  प्रजोलन पूजा वा अन्य कुनै विशेष पिठ पूजाहरु   बाहिरिन्दा समेत पहिला थान गणेशको पूजा जादँ पिखालखु द्यःलाई छुट्टै पुजाभाग राखेर थान गणेश पूजा सम्पन्न गरि घर फर्केपछि विशेष पूजा बाहिरिन्दा पहिला घरका एक व्यक्ति पिखालखुमा पानी भएको करुवा लिएर बसी विशेष पूजाका लागि मूल पूजा कोतः लिएर तथा अन्य पुजाका सरसामान लिएर जाने सबैलाई घरको ढोकाबाट निस्कने क्रममा सबैलाई क्रमशः हातमा निलः(निनाः) दिएर चोख्याउदै पिठ पूजा तथा अन्य मन्दिरको गन्तव्यमा पूजामा प्रस्थान गर्नु पर्ने संस्कार रहेको छ । 

११. नेवाः समुदायमा गुरूबाट तन्त्र दीक्षा लिने क्रममा सर्व प्रथम गुरु र दीक्षा लिने चेला पिखालखुमा बसेर द्वारमा बसेर दियो कलश स्थपना गरि द्वार पूजा गरि पहिलो दीक्षा लिन दिने संस्कार समेत रहेको कुरा सुन्नमा आउछन् ।

✡ पिखालखुमा चाड पर्वको मृतकको भाग ( सिकेब्व)भ्वयेब्व पन्छाउने -               


                   
नेवाः समुदायले हरेक चाडपर्वमा पर्व अनुसारको पुजा सम्पन्न गरिसके पछि आफुले प्रशादका रुपमा वा सम्हे तथा भ्वय् खानु अघि आफ्ना पितृहरुका नाममा एक भाग पन्छाउने संस्कार रहि आएको छ । यसरी पितृका नाममा पन्छाएको भागलाई सिकेब्व भनिन्छन् । सिकेब्वलाई एकरात तयसै राखि भोलि झिसमिसे बिहान पिखालखुमा लगेर राख्ने परम्परगात संस्कार रहि आएको छ।

✡ पिखालखुमा सुन्ति(स्वन्ति) नखःमा/ तिहार पर्व मनाउने -


        सुन्ति नखःमा यमपञ्चक अवधिभरी  नसंचामा र साँझ बेलुका (बिहान र बेलुका) पिखालखुमा रातो माटोले पोटेर बत्ती बालेर दिपावली गर्ने संस्कृति रहेको छ । लक्ष्मी पूजाका दिन पिखालखुमा मण्ड बनाएर पूजा गरि नेवाः संस्कारको ख्याक्क, कुबेर सहितको श्री लक्ष्मीमातालाई स्वागत पूजा गरिन्छ । त्यस्तै नै म्हपूजाको दिन पनि मण्ड बनाई मण्डमा पूजा गर्ने संस्कृति रहेको छ ।

      यसरी नेवाः समुदायमा  नेवाः संस्कार तथा संस्कृतमा पिखालखु द्यः( देवता)को ठूलो महत्व रहेको देखिन्छ । गैह्र नेवाः समुदायमा पिखालखु द्यः घरको दैलोमा रहने संस्कार र संस्कृत नदेखिए तापनि दैलोमा र घरको मूल ढोकाका चौकोसमाथि पूजा गर्ने संस्कृति भने रहेको देखिन्छन् ।

✡अन्त्यमा

      काठमाण्डौ उपत्यका भित्रका गैह्र नेवाःहरु यहाँका रैथाने वासिन्दा भएकाले वहाँहरुलाई प्रत्येक नेवाः समुदायको घरको मूल ढोका अगाडि मण्डकार पिखालखु भए पनि वा नभए पनि नेवाः समुदायको संस्कार  र संस्कृति तथा चाड पर्वहरु लगायतको विभिन्न समयमा पिखालखुमा वा पिखलखु रहने स्थानमा सिकेब्व लगायत म्वःनीमा कतिं (सिघः) पुन्हि/कोजाग्रत पूर्णेका दिन म्वःनी नखःको  नलास्वाँ तथा अन्य फुलपाटीहरु विसर्जन गर्ने संस्कृतिका बारेमा जानकारी रहेकै हुन्छ नै त्यसैले रैथाने गैह्र नेवाःहरुबाट त्यस्तो कार्यमा विरोध गर्ने गरेको नभए तापनि अन्यत्रबाट बसाई सरी आउने र बहालमा बस्ने गैह्र नेवाःहरुबाट समय समयमा घरको दैलोमा फोहर गर्ने असभ्य नेवाः भन्दै नानाथरी कुरा काट्ने अपशब्द प्रयोग गर्ने गरेको समेत हाल देखिन थालेका छन् । बाहिरबाट आएर अरुको वासस्थानमा बस्न आउनेहरुले यहाँका नेवाः समुदायको संस्कृति र संस्कारका बारेमा बुझ्नु सुझ्नु नगरी तथानाम बोल्नु  गलत हो । 

       नेवाः समुदायमा एउटा उखान छ "बाहुनले च्याउ खाएपो च्याउको स्वाद थाहा पाउछ " । हुन पनि हो ! बाहिरका गैह्र नेवाःहरुलाई यहाँका नेवाः समुदायको घरको मूल ढोका अगाडि रहेका पिखालखु द्यःलगायतका संस्कृति र संस्कारका बारेमा के थाहा होलान् ।  यहाँका संस्कार संस्कृतिलाई नबुझी सामाजिक सञ्जाल लगायतमा नानाथरी बीष बमन नगर्नु नै आप्रवासी लगायत सबैको कल्याण हुनेछ ।


#प्रकाशमानशिल्पकार

~~~०००~~~




2 comments: