Tuesday, May 5, 2026

साम्राजेश्वरी देवी : पशुपति भष्मेश्वर क्षेत्रकी एक रहस्यमयी शक्ति

 

🔱 साम्राजेश्वरी देवी : पशुपति भष्मेश्वर क्षेत्रकी एक रहस्यमयी शक्ति

काठमाडौँ उपत्यकाको धार्मिक–सांस्कृतिक संरचना केवल देखिने मन्दिर, जात्रा र देवालयहरूमा सीमित छैन; यसको गहिराइ तान्त्रिक परम्परा, गुप्त शक्तिपीठ र स्थानीय आस्थामा गाँसिएको छ। यिनै अदृश्य–तर प्रभावशाली शक्ति परम्पराभित्र पर्ने एक देवी हुन्—साम्राजेश्वरी।

१. ऐतिहासिक पृष्ठभूमि

काठमाडौँ उपत्यकाका प्राचीन नगर–राज्यहरूमा अष्टमातृका, अजिमा र स्थानीय शक्तिपीठहरू नै मूल अधिष्ठात्री देवीका रूपमा स्थापित थिए। तीमध्ये तलेजु भवानीको प्रवेश भने पछि कालखण्डमा भएको मानिन्छ।

साम्राजेश्वरीको सन्दर्भमा हेर्दा, यो पीठ मल्लकालीन मूल नगर–अधिष्ठात्री शक्तिपीठ जस्तो देखिँदैन।
ऐतिहासिक संकेतहरू अनुसार, यो स्थान शाहकाल विशेषगरी राणा उदयपछिको तान्त्रिक अभ्याससँग सम्बन्धित रहेको बुझिन्छ।
परम्परागत कथन अनुसार, एक तन्त्रसाधक राजकुमार (उपेन्द्रदेव शाहसँग सम्बन्धित भनाइ) द्वारा साधना क्रममा यस पीठको स्थापना गरिएको मानिन्छ।
यसैले, यो पीठलाई प्राचीन नगर–राज्यको मूल इष्टदेवीको निरन्तरता भन्दा पनि “उत्तरकालीन तान्त्रिक स्थापना” को रूपमा बुझ्नु उपयुक्त देखिन्छ।

२. स्थान र पहिचान

साम्राजेश्वरी (सम्राटेश्वरी) पीठ काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरभित्र, विशेषगरी भष्मेश्वर घाट आसपास अवस्थित एक तान्त्रिक शक्तिस्थल हो। यो स्थान बाह्य रूपमा साधारण देखिए पनि आन्तरिक रूपमा तान्त्रिक साधना र गूढ परम्परासँग जोडिएको पीठका रूपमा चिनिन्छ।

यो क्षेत्र आफैंमा मृत्यु, पुनर्जन्म र मोक्षसँग सम्बन्धित अत्यन्त संवेदनशील तथा तान्त्रिक साधनाका लागि उपयुक्त स्थल मानिन्छ।

भष्मेश्वर घाट, जहाँ दाहसंस्कार हुन्छ, त्यहीँको नजिक देवीको उपस्थिति हुनु संयोग मात्र होइन—यो “संहार र सृष्टि” को द्वैत शक्ति प्रतीक हो।

३. साम्राजेश्वरीको तान्त्रिक स्वरूप

“साम्राजेश्वरी” शब्द आफैंमा “साम्राजेश्वरी ईश्वरी” वा सर्वोच्च अधिष्ठात्री शक्ति भन्ने अर्थ दिन्छ। तर काठमाडौँ उपत्यकामा प्रचलित अष्टमातृका, अजिमा र तलेजु परम्परासँग तुलना गर्दा, साम्राजेश्वरीको स्थान अलि फरक देखिन्छ।

* उनलाई कतिपयले तलेजु भवानीकै एक रूप मान्छन्

* तर स्थानीय परम्परामा उनी स्वतन्त्र तान्त्रिक साधनासँग    
   सम्बन्धित शक्ति पनि मानिन्छिन्

* विशेष गरी श्मशान (घाट) नजिकको स्थापना भएकाले उनी  
   “उग्र” र “गुप्त साधना” की देवीका रूपमा बुझिन्छिन्

४. ऐतिहासिक पृष्ठभूमि : मल्लकाल- शाह–राणा काल

काठमाडौँ उपत्यकाका परम्परागत अधिष्ठात्री देवीहरू—जस्तै
दोयेमाजु, मनमानश्वरी, दिगु तलजु, तलेजु भवानी, अष्टमातृका, अजिमा आदि—प्रायः मल्लकालीन नगर–राज्य संरचनासँग प्रत्यक्ष सम्बन्धित छन्।

तर साम्राजेश्वरीको सन्दर्भमा केही फरक संकेतहरू पाइन्छन्:

* उनको स्थापना प्राचीन नगर–राज्य (मल्लकाल) सँग प्रत्यक्ष
   रूपमा जोडिएको प्रमाण स्पष्ट छैन

* बरु, उनी शाह–राणा कालतिर विकसित तान्त्रिक अभ्यास सँग 
   सम्बन्धित देखिन्छिन्

यस सन्दर्भमा जङ्ग बहादुर राणा को उदयपछि दरबारिया तान्त्रिक अभ्यासहरू व्यापक रूपमा बढेको ऐतिहासिक तथ्य उल्लेखनीय छ।

कथन अनुसार, एक “राजकुमार साहेवज्यू” (तान्त्रिक साधक) ले आफ्नो साधनाका क्रममा सम्रातेश्वरीलाई स्थापना गरेका हुन् भन्ने जनश्रुति पाइन्छ।

यस्ता साधनाहरू प्रायः सार्वजनिक नभई “गुप्त” रहने भएकाले ऐतिहासिक दस्तावेज सीमित छन्।

५. तलेजु भवानीसँगको सम्बन्ध

काठमाडौँ उपत्यकामा हनुमानढोका दरबार भित्रको तलेजु भवानी प्रमुख राज्यदेवी हुन्।

जनश्रुति अनुसार:

* तान्त्रिक साधनाका क्रममा तलेजुको शक्ति “दीप (दियो)” मा
   सारेर

* हातमै राखी अन्य स्थान (जस्तै बागदरबार) मा स्थापना
  गरिएको कथन पाइन्छ

यद्यपि, यस्ता कथाहरूलाई शाब्दिक इतिहासभन्दा बढी “तान्त्रिक प्रतीकात्मकता” का रूपमा बुझ्न उपयुक्त हुन्छ।

६. सिम्रौनगढ र तुलजा भवानीको प्रभाव

उपत्यकामा तलेजु परम्पराको विस्तार बुझ्न सिम्रौनगढ को इतिहास अत्यन्त महत्त्वपूर्ण छ।

* कर्नाटवंशी राजा हरिहर सिंह देव आफ्नो इष्टदेवी तुलजा
   भवानी सहित उपत्यकामा आएका थिए

* पछि देवलदेवी मार्फत उक्त देवीलाई राज्यको अधिष्ठात्रीका
   रूपमा स्थापित गरियो

* साम्राजेश्वरीलाई कतिपय स्थानमा तलेजुको स्वरूप वा
   प्रतिनिधि शक्तिका रूपमा पनि पूजिन्छ। तर:

* हनुमानढोका दरबारभित्रको तलेजु जस्तो राजकीय र संस्थागत
    निरन्तरता यहाँ देखिँदैन।

यस प्रक्रियाले पुराना स्थानीय नगर राज्यका अधिष्ठात्री देवीहरू दोयमाजु, मनमानेश्वरी,  तारणी भवानी, दिगु तलेजु लगायत (अजिमा, पिगंः आदि) ओझेलमा परेका थिए भन्ने तर्क पनि गरिन्छ।

७. तान्त्रिक साधना र गोप्यता

साम्राजेश्वरी पीठको प्रमुख विशेषता यसको तान्त्रिक साधना केन्द्रको रूपमा रहेको पहिचान हो।

यहाँ दीप, मन्त्र, यन्त्र र शक्ति आवाहनसँग सम्बन्धित साधना हुने विश्वास छ।

साम्राजेश्वरीको सन्दर्भमा, उनी यही शक्ति–परिवर्तनपछि विकसित “नयाँ तान्त्रिक केन्द्र” हुन सक्ने सम्भावना उठाइन्छ।

यहाँको पूजा प्रायः गोप्य तान्त्रिक विधिअनुसार सीमित व्यक्तिहरूले मात्र गर्ने परम्परा छ।

सर्वसाधारणको पहुँचमा पूर्ण रूपमा खुला नहुनु यसको विशेषता हो।

८. नवदुर्गा परम्परासँग सम्बन्ध

भक्तपुरको जीवित देवपरम्परामा पर्ने नवदुर्गा देवगणसँग यस पीठको विशेष सम्बन्ध छ।

प्रत्येक वर्ष बालाचतुर्दशी पछिको ( मंसिर शुक्ल  नवमी/ थिल्लाथ्व नवमीमा नवदुर्गा देवगण पशुपति क्षेत्रमा प्रवेश गर्दा राजराजेश्वरी  नवदुर्गा पिठ भएर यश साम्राजेश्वरी पीठमा पुगे पछि   साम्राजेश्वरी पिठका गुठीबाट विशेष  स्वागत पूजा गरिन्छ।

९. नवदुर्गा नाच क्रममा:

यसै समयमा दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मुल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मुलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ ।

यसैगरी, जयवागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि खः जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछा मार्ने नाचसँगै महाकाली नाच र सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न गरी पुनः भक्तपुर नपामा फर्किने चलन छ ।

यसले देखाउँछ कि यो पीठ स्थानीय–क्षेत्रीय धार्मिक नेटवर्कको एक महत्त्वपूर्ण नोड हो, यद्यपि मूल अधिष्ठात्री केन्द्र भने होइन।

१०. सांस्कृतिक र ऐतिहासिक मूल्याङ्कन
     साम्राजेश्वरी पीठलाई समग्रमा हेर्दा:

❖ यो प्राचीन नगर–राज्यको मूल देवी भन्दा उत्तरकालीन
    तान्त्रिक स्थापना हो

❖ तलेजु परम्परासँग सम्बन्धित भए पनि केन्द्रिय शक्ति होइन, सहायक/प्रतिनिधि स्वरूप हो

❖ पशुपति क्षेत्रको धार्मिक गतिविधिमा विशेषतः नवदुर्गा परम्परामा सक्रिय भूमिका छ

❖ गूढ तन्त्र साधनाको कारण यसको ऐतिहासिक अभिलेख कम, मौखिक परम्परा बढी पाइन्छ

१२. दार्शनिक अर्थ

साम्राजेश्वरीलाई केवल एक ऐतिहासिक पात्रका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। उनी:

श्मशान क्षेत्रकी संहार–सृष्टि चक्रकी प्रतीक

* तान्त्रिक साधनाको गुप्त शक्ति केन्द्र र

* परम्परागत देवी संरचनाभन्दा बाहिर विकसित अन्तरवर्ती (transitional) शक्तिका रूपमा बुझ्न सकिन्छ.

१३. निष्कर्ष

पशुपति भष्मेश्वर घाट नजिकको साम्राजेश्वरी (सम्राटेश्वरी) पीठ काठमाडौँ उपत्यकाको बहुस्तरीय धार्मिक इतिहासको एउटा रोचक उदाहरण हो। यो पीठले देखाउँछ कि उपत्यकामा देवी–पूजाको परम्परा स्थिर नभई समयअनुसार विकसित हुँदै आएको छ—जहाँ प्राचीन अष्टमातृका परम्परा, मल्लकालीन तलेजु शक्ति, र शाहकालीन तान्त्रिक अभ्यासहरू एकआपसमा मिसिएका छन्।
यसलाई बुझ्दा “मूल अधिष्ठात्री देवी” र “उत्तरकालीन तान्त्रिक स्थापना” बीचको भिन्नता स्पष्ट छुट्याउनु आवश्यक देखिन्छ।

                                ~०~

Sunday, May 3, 2026

 कयता पूजा / कयता लल्हाय: नेवाः संस्कृतिको मौलिक संस्कार र यसको संरक्षणको आवश्यकता


नेवाः समाजमा मानव जीवनका विभिन्न चरणहरूलाई व्यवस्थित र संस्कारित बनाउन विभिन्न संस्कारहरूको परम्परा रहिआएको छ। तीमध्ये बालकको जीवनसँग सम्बन्धित महत्वपूर्ण संस्कारमध्ये एक हो कयता पूजा अथवा कयता लल्हाय। यो संस्कार नेवाः समुदायको मौलिक पहिचान बोकेको परम्परागत संस्कार हो, जसले बालकलाई बाल्य अवस्थाबाट अनुशासित सामाजिक जीवनतर्फ प्रवेश गराउने संकेत गर्दछ।


कयता शब्दको अर्थ र संस्कारको सार


नेपालभाषामा “कयता” भन्नाले केटा मानिसले आफ्नो गुप्ताङ्ग ढाक्न प्रयोग गर्ने सानो विशेष वस्त्रलाई जनाउँछ। त्यसैले कयता लल्हायको अर्थ बालकलाई पहिलोपटक उक्त वस्त्र धारण गराइने संस्कार हो। यो केवल वस्त्र लगाउने क्रिया मात्र नभई बालकको शारीरिक, सामाजिक र सांस्कृतिक परिपक्वताको प्रारम्भिक संकेत मानिन्छ।


संस्कारको प्रक्रिया र परम्परा


बालक कयता लल्हाय गर्ने उमेर पुगेपछि शुभ साइत हेरी निश्चित दिन तोकिन्छ। त्यसपछि आ-आफ्नो जातीय तथा स्थानीय परम्पराअनुसार यो संस्कार सम्पन्न गरिन्छ।


यस संस्कारमा:


* परिवारले आफ्ना द्यःभाजु (द्यःब्रह्म) वा बज्राचार्य गुरुजु लाई

   निमन्त्रणा गर्छन्


* तान्त्रिक विधिअनुसार पूजा सम्पन्न गरिन्छ


* त्यसपछि बालकलाई मामाले कयता लगाइदिने चलन छ


* कयता प्रायः पिताम्बर कपडाबाट बनेको हुन्छ


यसमा मामा (मातुल) को भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। साथै निनी (फूफू) को पनि विशेष स्थान रहन्छ। यसले नेवाः समाजमा नातागत सम्बन्धको महत्वलाई स्पष्ट देखाउँछ।


स्थान र धार्मिक पक्ष


कयता पूजा प्रायः:


* आफ्नो इलाकाको पिगं (अष्टमातृका पीठ)

* वा थान गणेश मन्दिर


जस्ता पवित्र स्थलहरूमा गएर गरिन्छ। साथै घरको पिखालखु (वंशीय/कुल परम्परागत स्थल) को पनि विशेष महत्व रहन्छ। यसले संस्कारलाई केवल व्यक्तिगत नभई सामूहिक र वंशगत परम्परासँग जोड्दछ।


सांस्कृतिक महत्व


कयता पूजा नेवाः समाजको मौलिक पहिचानको महत्वपूर्ण आधार हो।


यसले:


* परम्परा र संस्कृति जोगाउने


* बालकलाई सामाजिक नियममा अभ्यस्त गराउने


* नातागोता र पारिवारिक सम्बन्ध बलियो बनाउने


* धर्म र संस्कृतिप्रति आस्था जगाउने


जस्ता पक्षहरूलाई सुदृढ बनाउँछ।


आधुनिक चुनौती र चिन्ता


आजभोलि नेवाः समाजमा आधुनिकताको प्रभाव बढ्दै जाँदा कयता पूजा जस्तो मौलिक संस्कारमा पनि परिवर्तन देखिन थालेको छ।


 विशेषगरी:


परम्परागत द्यःब्रह्म वा गुरुजु लाई हटाएर

बाहिरका ब्राह्मणबाट वैदिक विधिमा संस्कार गराउने प्रवृत्ति बढ्दो छ

यो परिवर्तनले संस्कारको मूल स्वरूपमा असर पार्न सक्छ। नेवाः संस्कारहरू मूलतः तान्त्रिक परम्परामा आधारित छन्, जसमा स्थानीय देवी–देवता, गुरु परम्परा र जातीय पहिचान जोडिएको हुन्छ


यदि यस्ता संस्कारहरू क्रमशः आफ्नो मौलिक विधि र परम्पराबाट टाढा हुँदै जाने हो भने, भविष्यमा नेवाः समुदायको सांस्कृतिक पहिचान कमजोर हुने सम्भावना देखिन्छ।


संरक्षणको आवश्यकता


संस्कृति स्थिर होइन, समयअनुसार परिवर्तन हुन्छ। तर परिवर्तन गर्दा मौलिकता हराउने गरी होइन, संरक्षण गर्दै अघि बढ्नुपर्ने हुन्छ।


त्यसैले:

आफ्नै परम्परागत द्यःब्रम्शु - गुरुजु र विधिलाई प्राथमिकता दिनु

नयाँ पुस्तालाई संस्कारको अर्थ र महत्व बुझाउनु

समुदायस्तरमा जागरण र संरक्षण अभियान चलाउनु

मौलिक संस्कारलाई सम्मान गर्दै आधुनिकता अपनाउनु

अत्यन्त आवश्यक छ।


निष्कर्ष


कयता पूजा / कयता लल्हाय केवल एउटा संस्कार मात्र होइन, यो नेवाः समुदायको अस्तित्व, परम्परा र पहिचानसँग गाँसिएको अमूल्य सम्पदा हो। यसलाई जोगाउनु भनेको आफ्नै इतिहास, संस्कृति र पहिचानलाई जोगाउनु हो।


यदि हामीले आफ्ना मौलिक संस्कारलाई संरक्षण गर्न सकेनौँ भने, भविष्यमा हाम्रो सांस्कृतिक पहिचान नै संकटमा पर्न सक्छ। त्यसैले सबैले सचेत भई आफ्ना परम्परालाई सम्मान गर्दै जोगाउन आजैदेखि पहल गर्नु आवश्यक छ।


                                    ~०~

Tuesday, April 21, 2026

कलङ्की माईको आत्मकथा (Kalanki Maiko Aatma Katha)

 .                  🙏 कलङ्की माईको आत्मकथा  🙏

                  (Kalanki Maiko Aatma Katha)



🌺  म को हुँ   🌺


म अष्टमातृका देवीगणमध्येकी एक मातृशक्ति — *कुमारी (कौमारी)* को बालरूप, *बालकुमारी* हुँ। मेरा भक्तजनहरूले मलाई "कलङ्की माई" र "कलङ्की माता" भनी श्रद्धापूर्वक पूजा गर्दै आएका छन्। 


प्राचीनकालमा भक्तहरू मलाई *"कल्खु अजिमा"* भनेर पुकार्थे। "कल्खु अजिमा" बाट अपभ्रंश हुँदै "कलंखु बालकुमारी" र कालान्तरमा *"कलङ्की माई/माता"* नाम प्रचलनमा आएको हो।


*मेरो वाहन र वासस्थान*  


म *मयूरमा सवार* भएर हिँड्न रुचाउँछु; मयूर नै मेरो वाहन हो। म शिवपुरी डाँडास्थित पवित्र विष्णुपादुकाबाट बग्ने *विष्णुमती नदीको पश्चिम भेग, "न्हेपंखा"* नामक स्थानमा निवास गर्छु। 


पहिले यहाँ नरकटको घना जंगल थियो, जसलाई स्थानीय भाषामा "न्ह्यापं कच्छी" भनिन्थ्यो। यही कारणले यस क्षेत्रलाई "न्हेपंखा" भनिएको हो। पछि मेरै नामबाट यो क्षेत्र *"कलङ्की"* नामले परिचित भयो।


*भौगोलिक पहिचान*  


- उत्तरतर्फ: *मनमती खोला (करखुसी)*  

- दक्षिणतर्फ: *इन्द्रमती खोला (डाँग्रे/बल्खु खुसी)*  

- हाल: *काठमाडौँ महानगरपालिका वडा नं. १४*  

यो राजधानीबाट पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै बाहिरिने-भित्रिने मुख्य द्वार पनि हो।


*मन्दिरको इतिहास*  


वि.सं. *२०४६* र *२०७९* सालमा मन्दिरको जीर्णोद्धार गरी हालको स्वरूप दिइएको हो। भक्त बासु केसीले मन्दिरलाई चार नागपासले सजाएपछि कतिपयले यसलाई "नागको मन्दिर" भनी भ्रममा पर्ने गरेका छन्, जसले मलाई खिन्न बनाउँछ। मन्दिर अगाडिको फोहोर र अव्यवस्थित गतिविधिले पनि दुःख लाग्छ।


म यहाँ कहिलेदेखि वास गर्न थालेँ भन्ने यथार्थ गोप्य राखिनु नै उचित ठान्दछु।


*मेरा साथमा रहेका देवगण*  


मसँग *अष्टमातृकागण* — ब्रह्मायणी, माहेश्वरी, वाराही, महालक्ष्मी, महाकाली, इन्द्रायणी, नारायणी, रुद्रायणी — सहित गणेश, सिंहिनी, व्याघिनी, भैरव, क्षेत्रपाल, कुमार लगायत अनेकौँ देवगण *कुल करिब ५८* रहेका छन्। यहाँका मूर्तिहरू प्रायः अमूर्त स्वरूपका छन्, र मन्दिरको पछाडि *कमल भैरव*को स्थान छ।


*पूजा व्यवस्थापन र परम्परा*  


मेरो पूजा-आराधना तथा मन्दिरको संरक्षण *"श्री कलङ्की मन्दिर तथा समाज सुधार संस्था"* मार्फत सञ्चालन हुँदै आएको छ। 


*पूजा-परम्परा र संस्थागत योगदान* 🙏:*


१. *दैनिक*: नित्यपूजा, सन्ध्याकालीन आरती  

२. *कार्तिक २५*: बलीसहित विशेष वार्षिक पूजा — २०५४

     सालमा संस्था दर्ता भएको दिन  

३. *अक्षय तृतीया*: वि.सं. १९६४ मा डिठ्ठा मानबहादुर

    अधिकारीद्वारा गुठी स्थापना गरी विशेष पूजा  

४. *प्रत्येक पूर्णिमा*: रात्रीकालीन तान्त्रिक *चापूजा*  

५. *चैत दशैं महाअष्टमी*: न्यौपाने खत्री परिवारबाट छाग

     बलीसहित वार्षिक पूजा  

६. *असार महिना*: अधिकारी परिवार, रायमाझी परिवार

     लगायतबाट छाग बलिसहित क्षेमा पूजा  

७. *घटस्थापना देखि बिजया दशमी*: दशैं कोठामा जमरा राखी

      सर्वसाधारणलाई वितरण  

८. *कुलायन पूजा*: किर्तिपुरका भैरब परियारका सन्तति र

      सुनारगाउँका सुनार परिवारबाट कुलदेवीका रूपमा देवाली

       पूजा  

९. मन्दिर जीर्णोद्धार र संस्थागत संरक्षण*  

- *वि.सं. २०४६*: गज बहादुर क्षेत्रीको अध्यक्षतामा "मन्दिर

    जीर्णोद्धार तथा सरसजावट समिति" गठन भई मन्दिरको

    जीर्णोद्धार सम्पन्न भयो।  

- *वि.सं. २०५४/७/२५*: श्री चन्द्र बहादुर थापाको अध्यक्षतामा *"श्री कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था"*

    जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता नं. *३२४/०५४/५५* मा विधिवत दर्ता भयो।  

- संस्था दर्ता भएको दिन *कार्तिक २५ गते*लाई नै कलङ्की माई

   मन्दिरको विशेष दिन मानेर प्रत्येक वर्ष *वार्षिक पूजा पर्व*

    मनाउँदै आएका छन्। बलीसहित विशेष पूजा गरिन्छ।


*१०. मासिक चापूजा परम्परा*  


एउटा गुठीबाट *प्रत्येक महिनाको पूर्णिमाका दिन रात्रीकालीन तान्त्रिक चापूजा* गर्दै आएका छन्। यो निरन्तर चलिरहेको गोप्य तान्त्रिक उपासना हो।


*१२. कलङ्की माँ नेवाः पुचःको योगदान*  


कलङ्की माँ नेवाः पुचःले संस्था स्थापना भएदेखि नै *अक्षय तृतीयाका दिन चापूजा* गर्दै आएका छन्। यो पनि महत्वपूर्ण वार्षिक तान्त्रिक परम्परा हो।


*१३. नेवाः सांस्कृतिक परम्परा निरन्तरता*  


कलङ्की माँ नेवाः पुचःले विभिन्न पूर्णिमामा सांस्कृतिक परम्परा जोगाउँदै आएका छन्:  


- *इन्द्रजात्राको पूर्णे*: माभोग (समयबजि) चढाउने  

- *यःमरी पूर्णे*: यःमरी चढाएर सर्वसाधारणलाई वितरण गर्ने  

- *सकिमना पूर्णे*: हलिमलिं चढाउने  


यसरी नेवाः चाडपर्वसँग जोडेर माताको सेवा चलिरहेको छ।


*१४. दैनिक भजन परम्परा*  


*ॐ वैदिक सनातन धर्म संस्था नेपाल*ले संस्था स्थापनाकालदेखि नै मन्दिरमा *दैनिक सन्ध्याकालीन खैजडी भजन* गर्दै आएका छन्। यसले मन्दिर परिसरमा सात्विकता र भक्तिमय वातावरण कायम राखेको छ।


यी सबै परम्परा र संस्थाहरू मिलेर नै श्री ३ कलङ्की माईको *नित्य सेवा, तान्त्रिक उपासना र सांस्कृतिक पहिचान* जीवित राखेका छन्। 


*हालका र पूर्व सेवकहरू*  


- *नित्य पूजा*: पुजारी कृष्ण प्रसाद रिमाल  

- *रेखदेख*: मचाकाजी महर्जन, सरस्वती ताकाङ्ग पाण्डे  

- *पूर्व सेवक*: कोमल रिमाल, विष्णु सुवेदी, मकर रोका, अमर नगरकोटी, बाबुकाजी नगरकोटी, स्व. सुकुचा नगरकोटी, स्व. भोटु पौडेल, स्व. राम नगरकोटी, स्व. श्याम महर्जन  

- *रखवाला*: शेयर बहादुर क्षत्री (डिस्को) — जथाभाबी पार्किङ रोक्न सिठ्ठी बजाउँदै सेवागरि परमधाममा पुगेको ।


*भक्तजनका लागि मेरो सन्देश* 👉 


👉 श्रद्धा र भक्तिसँगै *सही आचरण* पनि त्यत्तिकै महत्त्वपूर्ण

      हुन्छ।  

👉 देवताको शिरको फूल आफैं झिकेर शिरमा राख्नु उचित

     होइन। *फूलप्रसाद पाउबाट ग्रहण गरिन्छ।*  

👉 नैवेद्य, धूपबत्ती वा आरती गर्दा मूर्तिलाई प्रत्यक्ष असर पर्ने

      गरी अर्पण गर्नु हुँदैन।  

👉 अबिर–केसरी अत्यधिक प्रयोगले मूर्तिमा हानी पुग्छ;

       *सादगी र मर्यादा* अपनाउनु राम्रो।  

👉  मन्दिर परिसरमा फोहोर गर्नु, अव्यवस्थित पार्किङ गर्नु

      धर्मविरुद्ध हो।  

👉 अरूले चढाएको दान-दक्षिणा उठाउनु अनुचित कार्य हो।  

👉 *श्रद्धा भनेको प्रदर्शन होइन — नम्रता हो।* टाउको निहुराएर

       गरिने भक्ति नै सच्चा भक्ति हो।


*धर्म, संस्कार र समाजप्रति मेरो दृष्टिकोण*  


आजको कलियुगमा धर्म, संस्कार र नैतिकता क्रमशः कमजोर हुँदै गइरहेका छन्। मानिसहरू व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदै गएका छन्। आफ्नै कुलधर्म त्यागेर परधर्म अपनाउने प्रवृत्ति बढ्दो छ, जसले सांस्कृतिक पहिचानलाई कमजोर बनाउँछ। 


सनातन धर्ममा सबै धर्मप्रति सम्मानको भावना हुन्छ। कसैलाई आफ्नो धर्म परिवर्तन गर्न बाध्य पार्नु उचित होइन। आ-आफ्नो परम्परा र संस्कारको संरक्षण गर्दै *सह-अस्तित्वमा रहनु नै मानवधर्म* हो। 


वैदिक र तान्त्रिक दुवै परम्पराको आफ्नै स्थान छ। तान्त्रिक विधिमा हुने बलीपूजा पनि परम्परागत आस्थासँग जोडिएको विषय हो। यसलाई बुझेर सम्मान गर्नुपर्छ, नकि उपहास वा विरोध।


🌺 अन्तिम आशीर्वाद  🌺

मेरा समस्त भक्तजनहरूको *जय होस्*। सबैको *कल्याण होस्*। शुभ होस्।  

*सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः। सर्व कल्याणमस्तु ॥*


                                  ∼०~