Sunday, April 30, 2023

संक्रांति र पर्व समय

 संक्रांति र पर्व समय 



परिभाषा वा अर्थ

          सूर्य वा अरु कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा सर्ने वा स्पर्ष गर्ने अवधि नै संक्रांति हो । सूर्य एक राशिबाट अर्को राशिमा स्पर्ष हुने दिन सौर महिनाको पहिलो दिन एक गते वा संक्रांति हो । बाह्र राशिले सूर्यलाई स्पर्ष गर्दै पृथ्वीले परि्क्रमा गर्दा बाह्र राशि पुरा पार गर्नु पर्ने हुन्छ । सूर्य जुन राशिमा स्पर्श गर्छ त्यसै राशिका नामबाट संक्रांति भनिन्छ । त्यसैले बाह्र संक्रांतिको बाह्र महिना हुन्छ । सूर्यको गतिको आधारमा गणना हुने सौर वर्षको हरेक महिनाको छुट्टाटै आफ्नै राशिको संक्रांति हुन्छ  । जस अनुसार सौर वर्षको  बाह्र  राशिका संक्रांतिहरुमा :- मेष संक्रान्ति, ञवृष संक्रान्ति, मिथुन संक्रान्ति, कर्कत संक्रान्ति, सिंह संक्रान्ति, कन्या संक्रान्ति, तुला संक्रान्ति, वॄश्चिक संक्रान्ति, धनु संक्रान्ति, मकर संक्रान्ति, कुम्भ संक्रान्ति, र मीन संक्रान्ति हुन् । सौर वर्षको महिना अनुसार मेष संक्रान्ति वैशाख १,वृष संक्रान्ति जेष्ठ १,मिथुन संक्रान्ति असार १, कर्क संक्रान्ति श्रावन १,सिंह संक्रान्ति भाद्र १, कन्या संक्रान्ति असोज १, तुला संक्रान्ति कार्तिक १, वॄश्चिक संक्रान्ति मंसिर १, धनु संक्रान्ति पुष १, मकर संक्रान्ति माघ १, कुम्भ संक्रान्ति फागु १ र मीन संक्रान्ति चैत १ गते हुनै पर्छ । प्रत्येकण संक्रांतिको आफ्नै धार्मिक महत्व रह आएको छ तर पनि मेष संक्रांति र मकर संक्रांतिको विशेष  ठूलो महत्व छ ।

पर्व समय

      शास्त्रगत तोकिएको  तिथि मिति र समयमा मनाउने पर्ने पर्व समय नै पर्व समय हो ।

प्रचलित पञ्चाङ्गमा संक्रांति र पर्व समय

      सूर्यको गमनको गणितीय निति  अनुसार तयार हुने   पञ्चाङ्गमा सूर्यले  राशिलाई स्पर्श गरेकै दिन  महिनाको पहिलो दिन  १ गते  उल्लेख भई संक्रांति पर्नै पर्ने हो ।  नेपालमा सरकारी स्तरबाट प्रचलनमा चलाईरहेको सौर्य वर्षको  सम्वत विक्रम सम्वत ह‍ो । आधा शताब्दी अगाडि देखि सरकारबाट स्विकृत फञ्चाङ्गमा ६,७ गते नै सूर्य अर्को महिनामा सरेको याने सूर्यले राशि स्पर्श गरेको देखाउँदै आएको स्पष्ट नै छ । तर त्यहि पञ्चाङ्गले महिनाको पहिलो दिनमा पर्नु पर्ने सूर्यले राशि स्पर्श गरेको एक महिना अगाडि ६,७ गते नै परिसकेको देखाउदा देखाउदै पनि एक महिना पछाडि महिनाको १ गते देखाउँदै  आएको छ । जसका कारण मेष संक्रांति मनाउनु पर्ने पर्व वृष संक्रान्तिमा र मकर संक्रांतिमा मनाउनु पर्ने पर्व कुम्भ संक्रान्तिमा मनाउन बाध्यता पार्दै आएको छ । एउटा राशि संक्रांति हुनु पर्ने पृथक राशि संक्रांति  महिना परेको पञ्चाङ्गले देखाई सकेको अवस्थामा निश्चय नै चन्द्रमाको गतिको तिथिमा पनि फरक परिसकेको पक्का नै छ ।  हामी सनातनी नेपालीले ब्रम्हवाक्य सरह मान्दै आएको पञ्चाङ्गमा पर्व समयको स्थिति यस्तो छ ।

#प्रकाशमानशिल्पकार

Tuesday, April 25, 2023

कलंकी लामपाटीको इतिहास ...

कलंकी लामपाटीको इतिहास…

राणाकालको अन्त्यसम्म पनि नेपालमा आजजस्तो सुविधायुक्त सडक सञ्जाल र सवारी साधनको पहुँच थिएन। अहिले पनि देशका धेरै दुर्गम भूभागमा समुचित सडक, पुल र यातायातको व्यवस्था पुग्न सकेको छैन। बेला–बेलामा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तुइनमार्फत खोला–नदी वारपार गर्दै विद्यालय जाने बालबालिकाका तस्वीरहरू सार्वजनिक भइरहेका हुन्छन्। हालै पनि यस्तै तुइन दुर्घटनामा केही व्यक्तिले ज्यान गुमाएको दुःखद समाचार आएको थियो।

त्यस समय काठमाडौं उपत्यकाबाट बाहिर यात्रा गर्न मानिसहरू प्रायः पैदल हिँड्थे। हुनेखाने वर्गका मानिसहरू घोडा, खच्चर वा “उलिन्काठ” प्रयोग गर्थे। उलिन्काठ भनेको मानिसले मानिसलाई बोकेर यात्रा गराउने प्राचीन शैलीको काठबाट बनेको सवारी साधन हो, जसमा एकजनालाई बसालेर दुई वा तीन जनाले काँधमा बोकेर लैजान्थे।

कथनअनुसार तत्कालीन श्री ३ प्रधानमन्त्री जुद्ध शमशेरकी छोरी पुतली मैयाँसाहेब काठमाडौं बाहिरको यात्राबाट फर्कने क्रममा अस्वस्थ भइन्। न्हेपंखा (हालको कलंकी क्षेत्र) मा रहेको लामो पाटी भएको स्थानमा विश्राम गर्ने क्रममा त्यहीँ उनको निधन भयो भनिन्छ। स्थानीय केही व्यक्तिहरूका अनुसार पुतली मैयाँसाहेबकी आमा “आलुव महारानी” थिइन् भन्ने जनश्रुति पनि पाइन्छ।

श्री ३ जुद्ध शमशेरलाई आफ्नी छोरी अत्यन्त प्रिय थिइन्। सम्भवतः त्यसैले छोरीको निधन भएकै स्थानमा यात्रुहरूलाई विश्राम र बासको सुविधा दिन लगभग ६०–७० फिट लामो र करिब २५ फिट चौडा धर्मशाला–पाटी निर्माण गराइयो। मृतक छोरी पुतली मैयाँसाहेबकै स्मृतिमा बनेकाले त्यसलाई “पुतली पाटी” भनिन थालियो।

समयसँगै त्यो पाटीमा विभिन्न संस्था र समूहहरूको कब्जा हुन थाल्यो। कहिले कर चेकपोष्ट, कहिले स्काउट कार्यालय, कान्जीहाउस, नवज्योति पुस्तकालय, कलंकी गाउँ पञ्चायत भवन, उपप्रधानपञ्चको निजी पसल हुँदै जनपथ स्कुलसम्मले उक्त पाटी प्रयोग गरे। गाउँ पञ्चायतको नियन्त्रणमा गएपछि स्काउट कार्यालय, कान्जीहाउस र नवज्योति पुस्तकालय भने श्री कलंकी माताको मन्दिर परिसर नजिकको अर्को पाटीघरमा सारिएको स्थानीय कुमार अधिकारी बताउनुहुन्छ।

स्थानीय शान्ताराम थापा मगर, लक्ष्मण अधिकारी र श्रीपति सुवेदीलगायतका अनुसार कान्जीहाउसले गाउँ–टोलमा छाडा छोडिएका गाई–साँढे समातेर त्यहाँ राख्थ्यो। पशुधनी आएर जरिवाना तिरेपछि मात्र फिर्ता दिइन्थ्यो, नत्र लिलामसम्म गरिन्थ्यो। केही समयसम्म बोल्न नसक्ने एक असहाय व्यक्तिले पनि त्यहीँ बसोबास गरेर जीवन निर्वाह गरेका थिए भन्ने स्मरण गरिन्छ।

त्यो पाटी अगाडि जुद्ध शमशेरले स्थापना गराएको धारा पनि थियो। स्थानीयका अनुसार उक्त धारा निर्माणमा स्वर्गीय नारायणदत्त बिडारी (सुबेदार बाजे) को ठूलो भूमिका रहेको थियो। पछि सडक विस्तारसँगै पाटी र धारा दुवै हटाइए।

वि.सं. २००७ सालसम्म यो बाटो वर्षायाममा हिलाम्मे हुन्थ्यो। त्यतिबेला “लहरी” भनिने एउटा ट्रक मात्रै बिहान पल्टन लिएर थानकोटबाट टुँडिखेल जान्थ्यो र साँझ फर्किन्थ्यो। सर्वसाधारणका लागि सार्वजनिक सवारी थिएन, सबैलाई पैदल यात्रा गर्नुपर्थ्यो। पछि थानकोटदेखि शहीदगेटसम्म तीनवटा बस सञ्चालन हुन थालेपछि विस्तारै बस सेवा बढ्दै गयो।

यसै क्रममा पुतली पाटी अगाडि पनि बस विसौनी राखियो। बसका सहचालकहरूले यात्रुहरूलाई “लामो पाटी आएको” भनेर जानकारी दिन “लामोपाटी… लामोपाटी…” भन्न थाले। क्रमशः त्यही उच्चारण प्रचलित बन्दै “पुतली पाटी” को नाम “लामपाटी” रहन गयो। स्थानीय शान्ताराम थापा मगरका अनुसार बुद्ध दर्शन, सुवर्ण, लक्ष्मी र हारती बस सेवाका सहचालकहरूको यस नामकरणमा ठूलो भूमिका थियो।

कलंकीथानस्थित श्री कलंकीमाई मन्दिरभित्र रहेको ठूलो घण्टाको शिलालेखमा वि.सं. १९६४ सालमा “न्हेपंखा” नाम उल्लेख गरिएको पाइन्छ। शिलालेखमा “श्री कलंषु बालकुमारी” लेखिएको छ। यसले अहिलेको “कलंकी” नाम र “कलंकीमाई” नाम दुवै अपभ्रंश भएको संकेत गर्छ।

स्थानीय मान्यताअनुसार यस क्षेत्रको मौलिक नाम “न्हेपंखा” हो। पहिले यहाँ नर्कट घारी (न्हायपं कच्छि) धेरै भएकाले नेपालभाषामा “न्हेपंखा” भनिन्थ्यो। यस क्षेत्रकी अधिष्ठात्री देवी “कल्खु बालकुमारी अजिमा” को नाम समयक्रममा अपभ्रंश हुँदै “कलंकी” हुन पुगेको मानिन्छ।

विकासका नाममा आज धेरै सम्पदाहरूको भौतिक स्वरूप नष्ट भइसकेको छ। केही सम्पदाहरू बाँकी भए पनि तिनको मौलिक नाम, पहिचान र इतिहास हराउँदै गएका छन्। सम्पदा भनेको हाम्रो समाज र देशकै पहिचान हो। त्यसैले बाँकी रहेका सम्पदाहरूको संरक्षण गर्नु, नष्ट भइसकेकाको पुनर्निर्माण गर्नु, र पुनर्निर्माण सम्भव नभए कम्तीमा पनि त्यस स्थानको ऐतिहासिक परिचय स्पष्ट हुने गरी संकेत–चिन्ह राख्नु अत्यावश्यक छ। ताकि भावी पुस्ताले पनि त्यहाँ कहिल्यै एउटा महत्वपूर्ण सम्पदा अस्तित्वमा थियो भन्ने इतिहास बुझ्न सकून्।

— प्रकाशमान शिल्पकार

पञ्चकको परिभाषा वा अर्थ

पञ्चकको परिभाषा वा अर्थ

 पञ्चक के हो ?


      शब्दकोषमा लेखिए अनुसार  पञ्चक भन्नाले:- १. एकै प्रकारका पाँच वस्तुहरूको समुदाय। २. कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन; यमपञ्चक। ३. कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय; भीष्मपञ्चक। र ४. धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र भित्रको पञ्चक कालका वा समयावधि भन्ने बुझिन्छ ।  । 

     पञ्चक के हो ? भन्ने विषयमा यहाँ पञ्चक कालका बारेमा केहि प्रष्ट पार्ने प्रयत्न गर्नेछु । ज्योतिष शास्त्र तथा पञ्चाङ्ग अनुसार चन्द्र ग्रह अर्थात चन्द्रमाको मार्गमा देखिने धनिष्ठा नक्षत्रको तृतीय चरण र शतभिषा, पुर्वाभाद्रपद, उत्तराभाद्रपद तथा रेवती नक्षत्रको चार चरणमा भ्रमण काललाई पञ्चक काल भनिन्छ । यस समयमा चन्द्र ग्रहका कुम्भ र मीन राशीमा भ्रमण पन्चकको जन्म दिन्छ । धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती यी नक्षत्रको मेलले बनेको विशेष योगलाई पञ्चक भनिन्छ । नक्षत्र भन्नाले चन्द्रमाको मार्गमा देखिने, सौरजगत्देखि अलग रहेका नक्षत्र वा ताराहरूको समूह (अश्विनी, भरणी, कृत्तिका, रोाहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु,पुष्य (तिष्य०, अश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती लगायत सत्ताइस नक्षत्रहरु हुन् । मनुष्यका असलखराब अवस्थाका अधिष्ठाताहरूनै ज्योतिषशास्त्रअनुसार पञ्चक हो।


पञ्चकको प्रभाव  :


🎆पन्चकमा पराल र काठबाट अग्निभय, चोरभय, रोगभय  🎆  राजभय, धनहानी हुन सक्छ ।

🎆 धनिष्ठा नक्षत्रमा अग्नि भय रहन्छ ।

🎆 शतभिषा नक्षत्रमा कलह हुने सम्भावना रहन्छ ।

🎆 पुर्वाभाद्र पद नक्षत्रमा रोग बढ्ने सम्भावना हुन्छ ।

🎆 उतरा भाद्रपदमा धनको रुपमा दण्ड हुने सम्भावना हुन्छ 

🎆 रेवती नक्षत्रमा धन हानीको सम्भावना रहन्छ ।


पञ्चक कालमा गर्न नहुने कार्यहरु :

🎆 मरेको शरीर जलाउन 

🎆 काठ खरिन गर्न

🎆 घरमा छल राख्न

🎆 पलगं वा ओछ्यान बनाउन

🎆 दक्षिण दिशातिर यात्रा गर्न

🎆 कुनै शुभ र मांगलिक कार्य गर्न


पन्चकको समयमा कोही व्यक्ति मरेमा पञ्चक शान्ति नगरी अन्त्येष्टि गरिएमा परिवारको ५ जना व्यक्तिको मृत्यु हुन्छ भन्ने सनातनी जनविश्वास रहि आएको छ । त्यसै कारण सनातनीहरुको मृत्यु भई मृतकको अन्त्येष्टि गर्दा पञ्चक परे नपरेको एकिन गरिने गरिन्छ । यदि पञ्चक काल परेको भएमा आफ्नो कुल परम्परा अनुसार पञ्चक शान्ति विधि अपनाएर मात्र मृत्यु संस्कार गरीन्छ । सनातनीहरुमा समुदाय र ठाउँ अनुसार पञ्चक कालमा मृत्यु भएकाहरुको मृत्यु संस्कार गर्दा आ-आफ्नै तरिकाले पञ्चक शान्ति गर्ने परम्परा रहि आएको छ ।

🎆 पञ्चकमरण शाान्ति विधि :

 पञ्चाङ्गमा उल्लेखित भए अनुसारको - पञ्चकमरणे पुतलादाहविधि -

      कर्ता स्वयं भै पूर्वतर्फ फर्की कुश-तिल- जल लिने । " अद्येहेत्यादि( अमुक) गोत्रस्य ( अमुक) प्रेतस्य धनिष्ठादिपञ्चकमरणवनित अनिष्टपरिहारार्थ मृतस्य पञ्चकमरणजन्यदोषपरिहारपूर्वकोत्तमगतिप्रादयर्थञ्च पञ्चकमरणशाान्तिविधि करिष्ये ।" भनी छाडिदिने। चन्दन माला आदिले पाँच वटा प्रतिमा( पुतली)लाई सिंगारेर ऊनी धागोले बेरेर जौको पिठोले लिपेर दाह गर्ने समयमा प्रेत (लास) माथि राखि दिने । जसमध्ये १. प्रेतवाह प्रतिमा शिरमा राख्ने, २.प्रेतसव प्रतिमा आँखामा राख्ने, ३. प्रेतप प्रतिमा कोखामा राख्ने, ४. प्रेतभूमिप प्रतिमा नाभिमा राखिदिने  र ५. प्रेतहतं प्रतिमा पाउमा राख्ने । तिनिहरुलाई नाम मन्त्रले घृत आशुति र जधारादिने " यमाम सोमं मधुमत्तयेर्षा तोनोगावः स्वदन्तु हब्या । दुतं वो देवः स्वदयं मुमेषातेनोरासं तकुरुमा यमद्ययूयं पातः स्वस्तिभिः सदा नः ।  त्र्यम्बकं यजामहे सुगन्धिम्पुष्टिवर्द्धनम् । उर्वारुकमिवबन्धनान् मृत्योर्मुक्षीयमा मृतत् ।। यी मन्त्रले प्रतिमाहरुमा प्रत्येक पटक धुत आहुति गर्ने । ॐ प्रेतवाहाय स्वाहा , ॐ प्रेतसखाय स्वाहा, ॐ प्रेतपाय स्वाहा, ॐ प्रेतभूमिपाय स्वाहा, ॐ प्रेतहत्रे स्वाहा ।

{दृष्टव्य - 

🎆 १. पच्चक लाग्नु अगाडि मरेका व्यक्तिहरुको दाह गर्नु

           परे पुतलादाह मात्र गर्न, शान्ति गर्नु पर्दैन ।


🎆 २. पञ्चकमा मरेका व्यक्तिको पञ्चकमा समाप्त भए

          पछि दाह गरे शान्ति मात्र गर्ने पुतलादाह गर्नु पर्दैन ।

🎆 ३. पञ्चक भित्र मरेका र पञ्चक भित्रै दाह गर्नु परेमा

          शान्ति र पुतलादाह दुबै गर्नु पर्छ ।

(उपरोक्त पञ्चक मरण विधि नेवाः बाहेकको हो )


🎆 नेवाः समुदाय भित्र गरिने पञ्चकमरण शान्ति विधि :

      पञ्चक लागेको दिन परे - जोशी समाज भक्तपुरले प्रकशित जोशी गोजी पात्रोमा उल्लेखित भए अनुसार -

      

     कुशको पाँच वटा पुतली वा हाँसको पाँच वटा फुल

     सवदाह गर्दा निम्न अनुसार राख्ने -

      १.  लासको शिरमा एक वटा,२. आँखामा एक वटा ३. काखीमा एक वटा , ४.नाभिमा एक वटा र ५. पाइतालामा एक वटा राख्ने ।

   

पञ्चक परेको विवरण तालिका स्रोत :  जोशी गोजी पात्र २०८७  जोशी समाज ख्वप

#प्रकाशमानशिल्पकार

#पञ्चक

Monday, March 6, 2023

विष्णुमती र बागमती ढलमतीमा परिणत संगै यहाँको संस्कार र संस्कृति पनि लोपमती हुँदै ..

विष्णुमती र बागमती ढलमतीमा परिणतसँगै यहाँको संस्कार र संस्कृति पनि लोपमती हुँदै…

नेपालमण्डलवासीको संस्कार, संस्कृति र जीवनशैली जन्मदेखि मृत्युसम्म नै नदी–नालासँग गहिरो रूपमा जोडिएको देखिन्छ। कान्तिपुरका विभिन्न टोलका वासिन्दा तथा भक्तजनहरू प्रभातकालमै बागमती, विष्णुमती तथा अन्य नदी, कुण्ड र तीर्थस्थलमा पुगेर “हर हर गंगे” भन्दै स्नान गर्थे। त्यसपछि पशुपतिनाथ, चैत्य, मठ–मन्दिर तथा देवस्थलहरूको दर्शन गर्नु यहाँको जीवनपद्धतिकै एक अभिन्न अंश थियो।

नवजात शिशुको जन्मपछि वा परिवारका सदस्यको मृत्यु भएपछि परिवार तथा नजिकका नातागोतामा लाग्ने “सुतक” वा “आशौच” शुद्धीकरणका लागि नदीमा गई स्नान गर्ने परम्परा थियो। जन्म र मृत्युजस्ता जीवनका संवेदनशील संस्कारहरू नदीसँग प्रत्यक्ष गाँसिएका थिए। नदी केवल पानी बग्ने स्थान मात्र थिएनन्, ती सामाजिक, धार्मिक र सांस्कृतिक शुद्धीकरणका केन्द्र थिए।

तर बस्ती विस्तार र शहरीकरणसँगै घरघरमा धारो र शौचालयको व्यवस्था हुन थाल्यो। मानिसहरू नुहाउन, धुन वा शुद्धीकरणका लागि नदीतर्फ जान छाड्दै गए। यसै क्रममा घरका पाइखानाबाट निस्कने मलमूत्रका ढल सिधै नदीहरूमा मिसाइँदै गए। बागमती र विष्णुमती जस्ता पवित्र नदीहरू क्रमशः ढल बग्ने नाला जस्तै बन्दै गए।

औद्योगिकीकरणको नाममा खुलेका कलकारखानाबाट निस्कने हानिकारक रसायनसमेत कुनै प्रशोधनबिना नदीमा मिसाइँदा नदीहरूको अवस्था झन् भयावह बन्दै गयो। कहिल्यै कलकल बग्ने, पवित्र र जीवनदायिनी मानिने गंगा आज यति प्रदूषित भइसकेकी छन् कि नदी किनारबाट आउने हावाले समेत नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ।

पाप पखाल्ने विश्वास गरिएका ती नदीहरू आफैं दूषित र घातक बनेका छन्। प्रदूषित पानीले मानव मात्र होइन, नदीमा बस्ने माछा तथा अन्य जलचर प्राणीहरूको अस्तित्वसमेत संकटमा परेको छ।

आज नदीमा गएर गरिने संस्कारहरू पनि क्रमशः औपचारिकतामा सीमित हुँदै गएका छन्। घरबाट बोतल वा गाग्रीमा पानी बोकेर लगेर “गंगास्नान” को प्रतीकात्मक अभ्यास गरिँदैछ। प्रश्न उठ्न थालेको छ—यसरी कृत्रिम रूपमा कति समयसम्म संस्कार जोगाउन सकिएला ?

विष्णुमती र बागमती किनारका कैयौँ ऐतिहासिक घाट तथा तीर्थस्थलहरू अतिक्रमणमा परिरहेका छन्। सुकुम्बासी बस्तीका नाममा नदी किनार ढाकिँदै जाँदा घाटहरूको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ।

पहिले श्रद्धापूर्वक नदीमा सेलाइने पूजा–पाठका फूलपाती, पितृलाई अर्पण गरिएका पिण्ड तथा धार्मिक सामग्री अहिले स्वच्छ नदीको अभावमा जथाभावी फालिने क्रम बढ्दो छ। नदीसँग जोडिएको धार्मिक अनुशासन र सांस्कृतिक मर्यादा दुवै कमजोर हुँदै गइरहेका छन्।

नदीहरूको संरक्षण र पुनर्जीवनका लागि राज्यले “वागमती सभ्यता एकीकृत विकास समिति” जस्ता निकाय गठन गरे पनि प्रदूषण नियन्त्रण, अतिक्रमण हटाउने तथा अव्यवस्थित बस्ती व्यवस्थापन गर्ने कार्य प्रभावकारी रूपमा हुन सकेको देखिँदैन।

नदीहरू केवल जलस्रोत होइनन्; ती हाम्रो सभ्यता, संस्कार, संस्कृति र सामूहिक स्मृतिका जीवनरेखा हुन्। जब नदीहरू मर्छन्, तब संस्कृति पनि क्रमशः मर्दै जान्छ। आज विष्णुमती र बागमतीको दुर्दशासँगै नेपाली सनातनी संस्कार र परम्पराहरू पनि लोपोन्मुख दिशातर्फ धकेलिँदै गएका छन्।

— प्रकाशमान शिल्पकार

श्रद्धालु भक्तजनहरु मठ मन्दिरहरुमा अछुत बन्दै ... ?

श्रद्धालु भक्तजनहरू मठ–मन्दिरमा “अछुत” बन्दै ... ?

कल्खु अजिमा (श्री३कलङ्की माई)


हाम्रो दृष्टिले देखिने वा नदेखिने लौकिक तथा अलौकिक शक्तिप्रति तन–मनले आदर, विश्वास र भक्ति राख्ने भावबाट “श्रद्धालु” शब्दको उत्पत्ति भएको मानिन्छ। धर्म र आस्थामा विश्वास राख्ने, देवी–देवताप्रति श्रद्धा प्रकट गर्ने व्यक्तिलाई श्रद्धालु भनिन्छ। धार्मिक अर्थमा देवी–देवताहरूको वासस्थल मानिने मठ–मन्दिरप्रति आस्था राखी पूजा–अर्चना, दर्शन र भक्ति गर्ने भक्तजनहरू नै श्रद्धालु हुन्।

प्राचीनकालदेखि नै श्रद्धालु भक्तजनहरूले मठ–मन्दिरमा स्थापित वा किंवदन्तीसँग जोडिएका मूर्त तथा अमूर्त देवस्वरूपहरूलाई छोएर, पूजा गरेर र दर्शन गरी आफ्नो श्रद्धा व्यक्त गर्दै आएका छन्। तर इतिहासको एउटा दुःखद पक्ष के पनि रह्यो भने तथाकथित वर्ण व्यवस्थाले मानिसलाई विभिन्न श्रेणीमा विभाजन गरी केही समुदायलाई “अछुत” ठहर गर्‍यो। उनीहरूलाई मठ–मन्दिरबाट टाढा राखियो र धार्मिक अधिकारबाट समेत वञ्चित गरियो।

“अछुत” भन्ने शब्द वास्तवमा मानव समाजमाथि थोपरिएको सामाजिक कलंक हो। नेपालको सन्दर्भमा नयाँ मुलुकी ऐन लागू हुनुअघि “छुन नहुने”, “पानी नचल्ने” जातका रूपमा केही समुदायलाई अपमानित गरिन्थ्यो। मनुस्मृतिको व्याख्या र त्यसको विभिन्न कालखण्डमा गरिएको स्वार्थअनुकूल परिमार्जनमार्फत मानिसलाई ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी विभाजन गर्दै सामाजिक विभेदलाई संस्थागत बनाइयो।

तर विडम्बना के छ भने आज परिस्थिति उल्टिँदै गएको देखिन्छ। अहिले “अछुत” बनाइएका समुदाय मात्र होइन, सबै श्रद्धालु भक्तजनहरू नै क्रमशः मठ–मन्दिरभित्रका मूर्तिहरूबाट टाढा पारिँदै छन्। कारण सामाजिक विभेद होइन, बरु भक्तजनकै असावधानी र अव्यवस्थित पूजा–पद्धति हो।

आज धेरै मन्दिरका मूर्तिहरू आधुनिक रासायनिक अबिर, केसरी तथा रंगहरूको अत्यधिक प्रयोगले क्षतिग्रस्त भइरहेका छन्। निधारमा जथाभावी तिलक लगाउँदा मूर्तिहरूको स्वरूप बिग्रिएको छ। कतिपय मूर्तिको निधार त श्रद्धालुहरूले बारम्बार तिलक लिने क्रममा औँलाले घोट्दा खिइएर प्वाल परिसकेको अवस्था छ। श्रद्धाभावको नाममा मूर्तिको टाउकोमा फूल, धूपबत्ती र आरतीको ज्वाला छोइने गरी चढाउने प्रचलनले पनि मूर्तिहरूको संरक्षणमा गम्भीर असर पुर्‍याइरहेको छ। कतिपय स्थानमा त भक्तजन जुत्ता लगाएरै मन्दिर प्रवेश गरी पूजा–दर्शन गर्ने गरेको समेत देखिन्छ।

सायद यिनै कारणले होला, नेपालका केही प्राचीन मन्दिरहरूमा धेरै पहिलेदेखि नै पूजारी बाहेक अन्य सर्वसाधारणलाई मूर्ति छोएर पूजा गर्न निषेध गरिएको पाइन्छ। पशुपतिनाथ मन्दिर, दत्तात्रेय मन्दिर, चाँगुनारायण मन्दिर, ईचंगुनारायण मन्दिर, बज्रयोगिनी मन्दिर लगायतका मन्दिरहरूमा यस्तो व्यवस्था लामो समयदेखि देखिन्छ।

अब क्रमशः अन्य मन्दिरहरूमा पनि सर्वसाधारण भक्तजनलाई मूर्ति छोएर पूजा–दर्शन गर्न रोक लगाइँदैछ। अशोक विनायक मन्दिर, गुह्येश्वरी मन्दिर, दक्षिणकाली मन्दिर, अन्नपूर्ण अजिमा मन्दिर, हारती अजिमा मन्दिर तथा बुढानीलकण्ठ मन्दिर जस्ता मन्दिरहरूमा अहिले पूजारीबाहेक अन्य भक्तजनलाई प्रत्यक्ष मूर्ति स्पर्श गर्न नदिने प्रचलन बढ्दो छ।

यसले एउटा गम्भीर प्रश्न उठाएको छ—

हिजो समाजले केही समुदायलाई “अछुत” बनायो, आज मूर्ति र सम्पदाको सुरक्षाका लागि स्वयं श्रद्धालु भक्तजनहरू नै मन्दिरभित्र “अछुत” बन्दै गएका हुन् त ?

यदि हाम्रो श्रद्धाभावले नै देवमूर्ति, सम्पदा र संस्कृति नष्ट हुँदै जाने हो भने अब समय आएको छ—भक्तिभन्दा पनि संरक्षण चेतनालाई प्राथमिकता दिने। मूर्ति छोएर मात्र श्रद्धा प्रकट हुँदैन; अनुशासन, मर्यादा र संरक्षणभावसहित गरिने पूजा नै साँचो श्रद्धा हो।


 *🔱 समाधान: "भक्ति शुद्ध भए, स्पर्श शुद्ध हुन्छ" 🔱*


*कल्खु आजिमा*ले *पञ्च-भैरव* राखेर *पश्चिम हेरे जस्तै*, हामीले पनि *३ दिशाबाट हेर्नुपर्छ*:


*१. भक्तको लागि नियम:*  

*"छोएर होइन, जोगाएर पूजा गर"*  

- *अबिर* होइन, *फूल-अक्षता* चढाऔं  

- *निधार नघोटौं, मनले ढोगौं*  

- *धूप आरती* टाढाबाट गरौं, *मूर्ति नछोऔं*  

- *मन्दिर = आमाको कोठा* — जुत्ता बाहिरै


*२. मन्दिर व्यवस्थापनको लागि:*  

*"निषेध होइन, शिक्षा देऊ"*  

- *स्पर्श-प्रतिमा* अलग्गै राख्ने — छोएर ढोग्न मिल्ने  

- *CCTV + स्वयंसेवक* राखेर लापरवाही रोक्ने  

- *"कसरी पूजा गर्ने"* बोर्ड सबै मन्दिरमा  

- *केमिकल अबिर बिक्री बन्द*


*३. राज्यको लागि:*  

*"सम्पदा ऐन कडा बनाऊ"*  

*मूर्ति बिगार्ने*लाई *सम्पदा-विनाश मुद्दा*। *सुकुम्बासी*ले *सार्वजनिक जग्गा* मिचे जस्तै, *लापरवाह भक्त*ले *सांस्कृतिक जग्गा* मिच्दैछ।

                             ।।।।~ ० ~

Monday, February 27, 2023

काठमाण्डौ उपत्यकामा गोरु नजोत्नुको कारण गाईगोरु सम्मानित जनावर भएकाले नै हो....

 

काठमाण्डौ उपत्यकामा गोरु नजोत्नुको कारण गाईगोरु  सम्मानित जनावर भएकाले नै हो....



      कृषिप्रधान संघिय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकाका रैथाने नेवार समाजले( नेपालमण्डलवासीले) आज सम्म पनि गोरु नारेर गोरुजोती  कृषि गरेको इतिहास छैनन् । कृषकका लागि खेत खनजोत गर्णे सरल उपकरण भनेको घरमा रहे भएका वस्तुभाउ लगायत साधनहरु नै हुन् । घरमा रहेका मूलतः गोरूलाई प्रयोग गरेर अर्थात गोरु नारेर खेतीपाती गर्ने परम्परा काठमाण्डौ उपत्यरका बाहेक नेपालको पहाडी तथा तराई मध्यस एवं छिमेकि मुलुक  भारत समेतका कृषकहरुले युगौयुग देखि  नै आजसम्म   गोरु नारेर खेत जोतेर कृषि गर्दै आएको छ । तर नेपालमण्डलवासीले भने आज सम्म पनि  गोरु जोतेर खेती गरेको छैन ।
      अन्यत्र अधिकांश  कृषकहरुले गोरु जोतेर कृषि गर्ने गर्दै आएकोे भए तापनि नेपालमण्डल वासीले भने गाईगोरुलाई धार्मिक आस्थाका रुपमा मान्दै आएका कारणले नै गोरु जोत्ने नगरेको यथार्थ यहाँको धर्म संस्कृतिले देखाएको छ । परापूर्वकालदेखि नै नेपालमण्यलका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी खेतीपाती गरिँदै आएको देखिन्छ ।
        बौद्ध धर्म सम्प्रदायको मान्यता अनुसार आदिमकालमा यहाँको कालीदहको पानी महामञ्जुश्रीले आफ्नो चनद्रह्रास खड्गले उपत्यकाको चारठाउँका पर्वतहरुको न्हसिकापलाई काटेर पानी बाहिर जाने निकास  खोलेर यहाँ  महामञ्जुश्रीले मञ्जुपत शहर बसालेर मानव वस्ति वसाले पछि । याहाँका बासिन्दाका लागि उपयुक्त खेति योग्य जमिनको खोजि गर्दा । गल्कोपाखा, मनमैजु, तोखा, बसुन्धरा, फुसिंख्यः, महादेवतार र तिलिङ्तार लगायत उच्चभूभागको तल परेको बेसि भूभाग अति उपयुकत भएको देखिएकाले मञ्जुश्रीले आफ्ना दुई स्त्रि शक्ति मध्य एक स्त्रि शक्ति तथा एक जोडि हलगोरु सहित हालको सामाखुसीको चिलद्रेन पार्क( थुसाख्यः) रहेको स्थानमा आई  सावाःय् ( हलो जोतेर) गरेर बेसिमा जमेर रहेको पानी बिष्णुमती नदीमा जाने मार्ग याने खोलो तयारगर्ने कार्य थालेको ऐतिहासिक किम्बदन्ति रहेको छ । महामञ्जुश्रीले सावाःय् गरी( गोरू जोती) निर्माण गरेको सावाः खुसी नै हालको सामाखुसी हो ।
        महामञ्जुश्रीका दुई स्त्रि शक्ति मध्य एक असन्तुष्ट  स्त्रि,शक्तिले एक गोरु( द्वहँसा/ थुसा) हालको नक्शाल  लाजिम्पाट स्थित साकुना माजु( निल सरस्वती) विराजमान रहेको स्थामा लगेर थुनेर लुकाएको । त्यस पछि महाँमञ्जुश्रीले  यसै सावाःखुसी क्षेत्रमा आफैंले खेत खनी काम सिकाइ, पशुलाई जोताइ दु:ख नदिनु भनी आज्ञा दिएको मानिन्छ । त्यसैले महामञ्जुश्रीको आज्ञा अनुसार हालसम्म पनि उपत्यकाको नेवा: समुदायमा गोरु नारेर हलो जोत्ने गरिँदैन।
      तन्त्र साधनाका शक्ति पूजक  शासक्त शैव सम्प्रदाय समेतको रहेको नेपालमण्डल वासीहरुले गोरुलाई देवादीदेव महादेवको सवार वाहन समेत रहेको र गाईको मलमूत्र समेत पवित्र मानेर धार्मिक तथा पितृकार्यमा प्रयोग गरिन्दै आएको कारण गाईगाोरुलाई सम्मानित रुपमा पुज्दै आएको छ । यस कारणले पनि नेपामण्डलवासीले गोरु जोतिँदैन । यद्यपि धर्मशास्त्रहरु कोट्याउँदै जाने क्रममा सनातनीहरुमा गोवध गरी सम्पन्न गरिने प्राचीन कालमा गोमेध यज्ञ समेत हुने गरेको थियो भन्ने पाईन्छ नै ।
       तन्त्र साधनाका शक्ति पूजक  शासक्त शैव सम्प्रदायले अष्टमातृका देवी मध्यकी एक दैवी वाराही मातृकाको सवार वाहन राँगोलाई समेत वाराही मातृकालाई नै भोग दिने तान्त्रिक पूजा परम्परा रहेको समुदायमा गोरु जोतेर खेत खनजोत गर्ने परम्परा नहुनुमा अचम्मको परम्परा नै मान्नु पर्छ ।

 
       

Friday, February 17, 2023

द्वादश तीर्थ

 


द्वादश तीर्थ

 तिर्थ

      तीर्थ भन्नाले श्रद्धालु भक्तजनहरु आ-आफ्ना आस्थार विस्वासले पूजा आराधना र दर्शन गर्न जाने कुनै नदि, दोभान, त्रिवेणी, कुण्ड, तलाउ, मन्दिर वा कुनै पवित्र आत्माहरुको जन्मस्थ तथा वास स्थललाई तीर्थका रुपमा लिने गरेको पाइन्छन् । नदीहरुको समागम हुने स्थलहरुमा  सकारात्मक उर्जाहरु समेत हुने भएकाले  दुई अथवा दुईभन्दा बदी नदीको समागम हुने सकारात्मक उर्जाशील क्षेत्रलाई तीर्थ भनिन्छ ।

नदी

      कुनै पर्वत,ताल तथा कुण्ड आदि  उद्गम स्थल वा मुहान भई निश्चितरुपमा बग्द‌ै अन्य कुनै ठूला नदींसंग मिसिएर अथवा एक्लै बग्दै समुन्द्रमा मिसिन जाने जलप्रवाह नै नदी अथवा खोला हुन् ।

     नेपालमण्डलको सभ्यताको स्रोत नै नदिलाई मानिएको छ । नदिहरुमा पनि मूलतः बागमती नदिलाई लिने गरेको छ । भागीरथी(गङ्गा) भन्दा सयौं गुणा पवित्र  मानिने बागमती नदिको उत्पादनको उत्पत्ति शिवपुरी डाँडाको मृगेन्द्र शिखर मानिन्छन् । पौराणिक पुराणका ज्ञाताहरुको भनाइ अनुसार नृसिंहले हिरण्यकश्यपलाई बध गरे पछि यसै पर्वतका आएर  मृगकोको इन्द्रसमान ( सिंह) रुपको शिर धारण गरी विचरण गरेकाले यस पर्वतको नाम मृगेन्द्र शिखर रहन गएको हो । पुराणका ज्ञाताहरुका अनुसार यस स्थलमा भक्त प्रह्लादले एकहजार वर्ष सम्म शिवजीको तपस्या गर्दा प्रसन्न शिव अट्टहास हाँस्नु भयो र अट्टहासले गर्दा शिवको मुखबाट थुकका छिटा निस्कँदा बागमती नदिका रुपमा प्रकट भएको भन्ने रहेको छ । 

       शिवको मुखबाट उत्पत्ति भएकाले वाग्मतीलाई शिवगङ्गा र ब्रह्म सरस्वती पनि भनिन्छ । शिवपुरीको उत्तर मुखबाट वाग्मती र दक्षिण मुखबाट विष्णुमती(केशमती) प्रकट भइन् । यही शिखरको पूर्व दक्षिणतिरबाट रुद्रमती (धोबीखोला) को उत्पत्ति भएको  । मणिचुड पर्वत (वज्रयोगिनीको डाँडो) बाट मणिमति (मनोहरा) उत्पन्न भएको छ । साथै, उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती (टुकुचा), हनुमती (हनुमन्ते), भद्रमती (भचाखुशी) र प्रभावती (नख्खुखोला) वाग्मतीमा मिसिन्छन् । वाग्मतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिएको ‘वाग्मती काठमाडौँ सभ्यताको मुहान’ पुस्तकका लेखक एवं पूर्व सचिव विष्णुगोपाल रिसालको भनाई रहेको देखिन्छ ।

     नेपालमण्डलको समाजले काठमाडौं उपत्यकाहुँदै बग्ने बागमती र बिष्णुमती नदीहरुलाई नै सबैभन्दा बढी महत्व दिएको पाइन्छ । यी नदीहरुको किनारा एवम संगम स्थलहरुमा विभिन्न काल खण्डमा निर्मित मठ मन्दिर पाटि पौवा तथा घाटहरुमा मानव जीवन सँग सम्बन्धित जन्म देखि मृत्यु सम्मका कृयाकलापहरु वर्षै भरि भइरहने हुँदा धार्मिक एवम साँस्कृतिक क्षेत्रमा चासो राख्ने ब्यक्तिहरुका लागि महत्वपूर्ण गन्तव्य हुन सक्छ ।

नदिको संगम स्थल

      नेपालमा रहेका विभिन्न नदिहरुको एक गन्तव्यमा आएर हुने संगम स्थलहरुलाई दोभान वा त्रिवेणी नामकरण गरीएको छ ।

दोभान

    दुईतिरबाट बग्दै आएको  नदिहरु मिसिएको अथवा दुई नदीको संगम स्थललाई दोभान भनिन्छ ।

 त्रिवेणी 

        तिनतिरबाट बग्दै आएको नदीहरु एक आपसमा मिसिएको स्थानलाई त्रिवेणी भनिन्छ । सनातनी धर्म शास्त्र वा  सनातनी धार्मिक आस्था र विस्वासमा भौतिक रुपमा तिन नदीहरु संगम भएको प्रत्येक्ष नदेखिए तापनि धार्मिक लोकमान्यतामा  अदृश्य पाताल गंगा बगेर आई मिसिएको धार्मिक विस्वासका आधारमा पनि कुनै  प्रत्येक्ष दुई नदीहरुको दोभान देखिए तापनि कुनै कुनै दोभानलाई त्रिवेणी मान्यता दिएको समेत पाइन्छन्  । जस्तै - भक्तपुर हनुमान घाटको(खोह्रेको) त्रिवेणी, भक्तपुर बागेश्वर महादेवको विरा भद्राघाटको त्रिवेण र काठमाण्डौ शंखमूल शंकर( रुद्रधारा) तीर्थको त्रिवेणी । यि त्रिवेणीहरुमा भौतिकरुपमा दुई नदीहरु मात्र संगम भएको देखिन्छन् । तर धार्मिक आस्था  विस्वामा भने क्रमशः भक्तपुरको दुई त्रिवेणीमा तमसा र  काठमाण्डौको शंखर तिर्थको त्रिवेणीमा पाताल गंगा अदृश्यरुपमा बगेर आई संगभ भएको विस्वास गरिन्छन्।

नदीहरुको संगम स्थल धार्मिक, सांस्कृतिक दृष्टिकोणले मात्र हैन आयुर्विज्ञानको दृष्टिकोणले पनि अति महत्वपूर्ण

       एक नदी विभिन्न स्थानबाट बग्दै आउँदा उसले बग्ने बाटोमा रहेका त्यहाँका रसायनहरु पनि सँगै बगाएर ल्याउँछ । जब दुई नदीको संगम हुन्छ त्यहाँ दुई नदीका पानीमा मिसिएका रसायनहरुको रसायनिक प्रतिक्रिया हुन्छ यसरी हुने रसायनिक प्रतिक्रियापछि उत्पन्न हुने नयाँ रसायनले मानव शरीरमा रहेका विभिन्न विकार हटाउने कार्य गर्ने कुरा प्राचिन आचार्यहरुले अध्ययन गरेर सोधगरेपछि प्रयोगमा ल्याएका तथ्यहरु छन् । यस्ता तीर्थस्थलमा स्नान गर्दा शरीरका विभिन्न विकारहरु नाश हुने तथा मानिसको शरीरमा कमी रहेका तत्वहरु पूर्ति हुने गर्दछ । यसले मानिस शारीरिक तथा मानसिक रुपले स्वस्थ्य हुन्छ । नदीको समागमस्थलमा सकारात्मक उर्जाशील हुन्छन्   त्यसैले पनि यस्तो क्षेत्रलाई तीर्थ भनिन्छ ।

बज्रयान बुद्ध धर्ममा द्वादश तीर्थको महत्व

     नेपालमण्डलभित्र रहेका र त्यसको बाहिर रहेका हरेक तीर्थहरुको आ–आफ्नै विशेषता अनि महत्त्व  रहेका हुन्छन्  नै तर पनि यहाँका बौद्ध मार्गि नेवाः समुदायमा द्वादश तीर्थको आफ्नै पृथक विशेषता रहेको पाईन्छ  । द्वादश तीर्थ र बज्रयान बुद्ध धर्मका ज्ञाताहरुको  भनाई अनुसार स्वयम्भू पूराणमा प्राचिन नेपालमण्डलको केन्द्रको रुपमा रहेको कान्तिपुर महानगर र यसको वरिपरि पवित्र १२ तीर्थ रहेको उल्लेख गरिएको छ । ‘यसलाई द्वादस तीर्थ ’नाम दिइएको छ । द्वादस तीर्थको महिमा र यसको धार्मिक ऐतिहासिक महत्व बारे विकास रत्न बज्राचार्य द्वारा सम्पादित द्वादस तीर्थ महात्म्य ग्रन्थमा पनि उल्लेख गरिएको छ । ‘द्वादस तीर्थ मदात्म्य’ ग्रन्थका सम्पादक बौद्ध विद्धान विकाश रत्न बज्राचार्यका अनुसार नेपाल मण्डलको द्वादस तीर्थ धार्मिक, सांस्कृतिक दृष्टिकोणले मात्र हैन आयुर्विज्ञानको दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको उल्लेख गरेको छ भन्ने रहेको छ  ।

      बुद्ध धर्म अनुसार जगतसत्व प्राणीको प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रतिपालन गरि आएको देवताको रुपमा  मान्दै आएकका  १२ लोकेश्वरहरुको गुणानुस्मरण सहित कथा वाचन श्रवण सहित द्वादश तिर्थ व्रत (धलं दनेगु)  पूजा गर्ने चलन समेत  रहेको छ । 

द्वादश तीर्थ रहेको स्थान

       नेपालमण्डल  कान्तिपुर क्षेत्रको पूर्वतिर गोकर्णदेखि राजतीर्र्थ–सानेपासम्म ४ वटा तीर्थ बागमती किनारमा रहेका छन् । पश्चिमपट्टि विष्णुमति किनारमा टोखा दोभान मनोरथ तीर्थदेखि ज्ञानतीर्थ करखुशी दोभान सम्म ४ बटा तीर्थ रहेका छन् भने दक्षिणतिर टेकुदेखि ङेखुसम्म सम्म ४ वटा तीर्थहरु रहेका छन् । क्रमबद्ध रुपमा भन्नुपर्दा पवित्र द्वादस तीर्थ अर्थात् १२ तीर्थहरु यस प्रकार रहेका छन् ।

१. पूण्य तीर्थ–गोकर्ण- चन्द्रमती(चन्द्रभागा), सूर्यमती सूर्यभागा)र बागमतीको संगम त्रिवेणी

२. शान्त तीर्थ– गुहेश्वरी( गौरीघाट पुल पारी गुह्श्वरी तर्फ )- बागमती

३. शंकर(रुद्रधारा) तीर्थ– शंखमोल- मणिमती (मनोहरा), बागमती र पाताल गंगाको संगम त्रिवेणी 

४. राजतीर्थ– सानेपा - राजकु्ण्डको जल प्रवाह  र बागमतीको संगम  

५. मनोरथ तीर्थ–  गोङ्गबुँ - विष्णुमती (केशमती) र केशुमती( साङ्गलाखोला)को संगम टोखा दोभान

६. निर्मल तीर्थ– शोभा(स्वाहा)भगवती - भद्रमती (भचाखुसी)को संगम दोभान

७.निधान (लखु) तीर्थ - डल्लू चागल- सूर्णमती र विष्णुमती(केशमती)को संगम दोभान

८. ज्ञान तीर्थ– टेकु कालीमाटी - मनमती(कह्रखुसि) र विष्णुमतीको संगम दोभान

९. चिन्तामणि तीर्थ – टेकु - विष्णुमती र बागमतीको सगम दोभान

१०. प्रमोद तीर्थ – दानगा - बागमती र इन्द्रमती( बल्खु)को संगम दोभान

११. सुलक्षण तीर्थ–भाजंगाःचोभार - बागमती र .... तथा

१२. जय तीर्थ–ङेखु – बागमती र प्रभामती( नख्खु)को संगम दोभान । चैत शुक्लअष्गमीका दिन नेखुइ ख्वाः सिलेगु( आदिनाथ स्नान मेला)

द्वादश तीर्थ संकटमा 

       नेपालमण्डलको सभ्यताको स्रोत नै मानिएको अनि नेपालमण्डल वासीहरुको संस्कार र धर्म संस्कृति संग जोडिएको नदीनालाहरुको अवस्था र त्यसको पवित्रता वस्तिविस्तार र जनघनत्वको बृद्धि तथा परम्परागत मानव सभ्यताबाट आधुनिक सभ्यतामा हुँदै गएको विकसित संगै बागमती, विषणणुमती लगायत विभिन्न नदीनालाहरु धमिलिन्दै  फोहरमतीमा रुपान्तरण हुँदै गएको प्रष्टै देखिएका छन् । सनातनी श्रद्धालु भक्तहरुको पाप पखाल्ने नदी आफै दुर्गन्धित हुँदै गएको मात्र हैन नदिनालाहरुमा भएका पवित्र तीर्थहरुको  अस्तित्व समेत हराउँदै गएको प्रष्टनै देख्न सकिन्छ । 

अस्तित्व हराउँदै गएका द्वादश तीर्थ लगायत सवै तिर्थहरुको संरक्षण गर्नु अपरिहार्य 

      सनातनी धर्मालम्बीहरुले अति आस्था विस्वासका साथ मान्दै आएका विभिन्न तीर्थहरु धमाधम  धर्मशास्त्र र धर्मग्रन्थहरुमा मात्र सिमि हुँदै गएको अवस्था छ । कयन पवित्र तिर्थ स्थलहरुको अस्तित्वनै समाप्त भई सकेको अवस्था छ। द्वादश तीर्थ लगायत तीर्थहरुको वास्तविक यथास्थितका बारेमा ज्ञान नहुनेले तिर्थको दर्शन गर्न चाहेमा  तीर्थ रहेको भनिएको क्षेत्रमा गएर हेरीएमा पनि तीर्थ रहेको स्थानमा तिर्थको नामकरण गरेको संकेत वा सूचनाप्रद लेखिएको संकेत जनाएको अथवा तिर्थ जनाउने कुनै संरचना समेत नदेखिएको अवस्थामा द्वादश तीर्थ लगायत विभिन्न अन्य कयौं  तीर्थहरुसमेतको अवस्थाका कारण चाहेर पनि तिर्थहरुको दर्शन गर्न सकिने अवस्था अहिले छैनन् ।

      अतः  हामीले आफ्नो सभ्यता र धर्म संस्कृति बचाउने हो भने सभ्यताको स्रोत मानिएको नदीनालाहरुलाई फोहर मुक्त गर्दै  द्वादश तीर्थ लगायत अन्य तिर्थ स्थलहरुमा कुन तीर्थ हो प्रष्ट देखिने र बुझिने गरी सूचनाप्रद संकेत  राखेर तीर्थहरुको संरक्षण गर्नु अपरिहार्य छ ।

१. जयतीर्थ https://youtu.be/0P89Ug2QYoM

२. लख्खुतीर्थ https://youtu.be/EoZKAKIudKQ

३. ज्ञानतीर्थ https://youtu.be/Q1bwS1yeQDg

४. प्रमोदतीर्थ https://youtu.be/BpAkY_eVRXI

५. सुलक्षण तीर्थ 

https://youtu.be/mXNVmKOtIvU

६. राजतीर्थ https://youtu.be/4zgIISZWf78

७. शान्ततीर्थ https://youtu.be/fEOmUA-yS_E

८. पूण्यतीर्थ https://youtu.be/FK1fphH22qo

९. चिन्तामणितीर्थ https://youtu.be/ofzOU3XpYCk

१०. शंकरतीर्थ https://youtu.be/i6BUf-_tjbU

११. मनोर्थतीर्थ https://youtu.be/IDkmp6vNGEQ

१२. निर्मलतीर्थ https://youtu.be/pf9Sx3wCYIQ

( लेखन सामाग्री स्रोत - पूण्यभूमि नेपालमण्डलको पवित्र द्वादस तीर्थका कुराहरू- हिसी ज्यापु र अन्य अनलाइन लेख काठमाडौं बागमती सम्पदा तथा बागमती नदी, सभ्यताको स्रोतको उत्पत्ति र महत्त्व  लेखहरु समेत )

                             ~० ~