Friday, February 5, 2021

चामुण्डेश्वरी मातृका कङ्ग अजिमा

 चामुण्डेश्वरी मातृका कङ्ग अजिमा

पृष्ठभूमि 

     शक्ति प्रधान नेपालमण्डल भित्रको काठमाण्डौ उपत्यका र त्यसका वरपरका प्राचीन शहर तथा गाउँहरुमा रहेका अष्टमातृका प्रधान देवीहरुको समुहलाई ग्रहण गर्ने परम्परा रहेका तान्त्रिक समुदायमा श्री कुमारी र श्री तलेजु भवानीको अन्य देवीदेवता भन्दा विशिष्ट स्थान अोगटेको छ । त्यसै कारण पनि यहाँका नेवाःहरुको जनजीवनमा अष्टमातृका, दस महाविद्या तथा नवदुर्गाहरु अरु देवीदेवताहरुको तुलनामा बढी नै चर्चित रहेको यहाँ स्पष्ट देखिन्छन् ।

     मातृशक्तिहरुमा प्रमुख त्रिशक्ति अथवा त्रिमातृकाहरुमा महादेवी श्री सरस्वती, महादेवी श्री लक्ष्मी र महादेवी श्री रुद्रायणीका रुपमा पुजिने गरिन्छन् । यिनै त्रिमातृकाहरुमा श्री माहेश्वरी, श्री कुमारी(कौमारी), श्री बाराही, , श्री काली( चामुण्डा) थपेर सप्तमातृका र त्यसमा महालक्ष्मी थपेर अष्टमातृका अनि अर्को एका मातृका त्रिपुरासुन्दरी थपेर नवमातृका अर्थात नवदुर्गा पुज्ने गरेको यहाँका शक्तिपुजक लोकजनको शाक्तनिति रहेका छन् । त्यस्तै नै शाक्त परम्पराका शक्ति पुजक लोकजनहरुले दस महाबिद्या सम्बन्धमा शक्तिसङ्गम तन्त्र अनुसारका दस महाबिद्या देवीहरु पुज्दै आएका छन् । शक्तिसङ्गम तन्त्र अनुसारका दस महाबिद्या देवीहरुमा क्रमशः १.कालीका (महाकाल), २. तारा(अक्षोभ्य) ३.त्रिपुरासुन्दी(ललितेश्वर, त्रिपुरभैरव), ४. छिन्नमस्ता (विकराल-क्रोधभैरब), ५. भुवनेश्वरी,६. घूमावती, ७. महालक्ष्मी ( कमला),  ८. भैरबी, ९. मातङ्की , र १०. बगलामुखि आदि महाशक्ति देवीहरु हुन् । 

      त्यस्तैनै बज्रयान र महायान तन्त्रका अनुयायी बुद्धिष्टहरुले बिजेश्वरी, संकटा लगायतका योगिनी देवीहरुलाई अति सम्मानका साथ पुज्दै आएका छन् । बज्रयानीहरु गुह्यश्वरी शक्तिस्वरुपा गुह्यकाली समेतलाई पनि  नैरात्मा योगिनीका रुपमा पुज्ने गरेको छ । जसरी शैव र शाक्तधर्मका देवीदेवतालाई बुद्धिष्टहरुले सम्मानका साथ पुज्छन त्यसरी नै बौद्ध धर्मका देवदेवीहरुलाई पनि शैब र शाक्त धर्म सम्प्रदायले पनि त्यतिनै सम्मानका यहाँ पुज्दै आएका छन् । यसरी हेर्ने हो भने नेपालमण्डको धर्म संस्कृति धार्मिक सहिष्णुताको स्वर्ण नमुना नै हो भन्दा सायद फरक नहोला ।

       बुद्धको जन्म भूमिका हामी नेपालमण्डल उपत्यकाबासी आफू , आफनो परिवार , गाउँटोल र देशलाई रक्षा गर्ने देवीहलाई अति आत्मियका साथ अजिमाको पदवीका साथ  पुज्ने  परम्परा अंगाली आएको छ । नेपालमण्डलको हरेक प्राचीन बस्तिहरुको बाहिर नजिक शमसान घाट क्षेत्रमा एउटा पिगंःद्यः रहेका हुन्छन् । पिगंःद्यःलाई यहाँका लोकजनले शक्ति पीठका रुपमा लिने गरेको छ । पिगंःद्यः भन्नाले देवीदेवताको गणपूरक देवीदेवतागण रहेको पिठ हुन् । गणपूरक देवीदेवता भन्नाले कम्तीमा तेह्र वा चौध देवीदेवताका गणहरु रहेका हुन्छन् । गणपूरक देवीदेवतागणहरुमा -१. श्री गणेश, २. सिंहिनी, ३. ब्याघिनी, ४. भैरब, ५. कुमार, ६. क्षेत्रपाल, र आठ मातृका जस्तै ७. ब्रम्हायणी, ८. माहेश्वरी, ९. कुमारी, १०.बैष्णवी, ११. बाराही, १२. इन्द्रायणी, १३. चामुण्डा र १४. महालक्ष्मी समेत हुन् । पिगंःमा सामान्यत १३ वा १४ देवीदेवता गणहरु हुने गरेका छन् ।  पीठ गणका देवीदेवता गणहरुमा १३ वन १४ हुने भएतापनि कान्तिपुर नगर भित्रको इनबहालमा रहेको मूल देवी थाहा हुन नसकेको पिगंःमा लगभग ३३ वटा अमूर्तमूर्तिका देवीदेवगणहरु रहेको देखिन्छ भने प्राचीन कान्तिपुर नगर बाहिर बिष्णुमति खोलाको पश्चिम भेग न्हेपंखा/ कलङ्कीमा विराजमान कल्खु बालकुमारी अजिमा ( कलङ्की माता) को पिगंःमा भने ५५ वटा अमूर्त मूर्तिहरुको देवीदेवताको गणहरु रहेका देखिन्छ । एउटा पिगंःमा एउटा मूल अजिमा(मातृका) याने मूलदेवी हुन्छन् । यिनै मूल देवीका नामबाट पिंगःद्यः(पिठ) को नाम रहेका हुन्छन् । कान्तिपुरनगरका केही पिगंःहरुका मूल देवीको नाम यहाँका नेवाःहरुले बिर्सिसकेकोले कुनै कुनै पिगंः(पिठ)को नाम त्यहाँ पिगंःद्यःका मूलदेवीका नामबाट सम्बोधन नगरि खाली पिगंः अजिमा वा पिगंः मात्र पनि भनिने गरेको समेत देखिएका छन् ।

कङ्ग अजिमा

      गुणकामदेवले कलिगत सम्बत् ३८२५ मा नेपालमण्डलको राजधानी प्रचािन नेपाल कान्तिपुर देश निमार्ण गर्दा देशलाई सुरक्षा दिन बास्तिका बाहिरि आठ कुनामा अष्टमातृका पिंगःहरु स्थापना गरीएका भनिएका अष्टमातृका पीठहरु  १) लुँमधि अजिमा २) कंगः अजिमा ३) म्हेपि अजिमा ४) तकति अजिमा वा टंकेश्वर अजिमा ५) मैति अजिमा ६) ङ्यतमरु अजिमा ७) बछला अजिमा र ८) लुतिमरु अजिमाहरु हुन् भनी बंशाबलीमा उल्लेखित छ ( मैति अजिमा र बछला अजिमा कान्तिपुर देश भन्दा बाहिर छिमेकि ग्वलँ देशमा परेको देखिनछन् )। बंशाबलमा उल्लेखित अष्टमातृकाहरु  मध्यका एक अष्टमातृका पीठ हुन्  नगरको पश्चिम दक्षिण तर्फ बिष्णुमती खोला छेउमा अवस्थित चामुण्डेश्वरी मातृका कङ्ग अजिमाको पिगंः । यो पीठ नगरको तल्लो र माथिलो भेगको ठीक बिचमा  अवस्थितर रहेको छ । यश पीठ संगै कंकेश्वरी घाट, दमईचा घाट, बिष्णुमति पारी लखुतिर्थ, दक्षिण तर्फ भवानी तिर्थ र रामघाट समेत रहेको छ भने पीठ संगै महर्जन, मानन्धर तथा खड्गी समुदायको श्मशान रहेको छ । कंग अजिमा पीठ क्षेत्रका घाटहरु सबै  विकाशका नाममा भएका सडकविस्तारको अतिक्रमणमा पर्दै घाटको अस्तित्व नै समाप्त भईसकेका छन् ।  यश कङ्ग अजिमाको पूर्व दक्षिण तर्फ हाल चिवाख्यःक्षेत्रमा पहिला पोडेहरुको श्मशान रहेको थियो पछि मात्र त्यहाँ श्मशान क्षेत्रमै बस्ति बसालेको हो भन्ने भनाईरहेको छ।


     चामुण्डेश्वरी कङ्ग अजिमाको मन्दिर तिन तल्लाको पागोडा शैलीमा रहेको छ । १९९० सालको महाभुकम्पले क्षेति नगरेको यश मन्दिर गएको २०७२ सालको महाभुकम्पले क्षेति पुरेयाएकाले  हाल पुनःरनिर्माण गरिएको छ । सूर्यबंशी लिच्छवी राजा गुणकामदेवलाई श्री महालक्ष्मीबाट सपनामा दर्शन दिई आज्ञाभए बमोजिम कलिगत सम्वत ३८२५ मा खड्गकार कान्तिपुर भूमिको नगर निर्माण गरि  नगरको सुरक्षाका लागि नगरको चारै तर्फको विभिन्न दिशाविदिशाका आठ कुनाहरुमा अष्टमातृकाहरु स्थापना गर्ने क्रममा पश्चिम तर्फको सिमाना सुरक्षाका निमित्त चामुण्डेश्वरी मातृकालाई आह्वान गरी स्थापना गरिएको हो भन्ने बंशाबलीमा लेखिएका छन् । बंशाबलीमा राजा गुणकामदेवले नगर सुरक्षाका लागि तान्त्रिक सुरक्षाघेराका रुपमा स्थापना गरिएको भनिए तापनि यो पीठ काठमाण्डौ उपत्यका उत्पतिकाल देखिनै रहेको थियो भन्ने लोकमान्यता समेत यहाँ रहेको पाईन्छन् ।                      .      लोकजनको  भनाई अनुसार कङ्ग अजिमालाई प्याफल टोलको मानिन्छ । अजिमाको सम्पूर्ण  कार्यविधि तथा निर्त्यकर्महरु मरु टोलका मरु किसानीहरुले गर्ने गर्दथ्यो ।त्यति बेला मरु किसानी नाइके (नाय:) को एक्ली छोरी मात्र रहेको र उक्त छोरीको सन्तानको बिबाह यतखा टोलको छोरा (यटखामि) संग  भएकोले बुढो नाइके (मरु किसानी नाइके) अजिमाको दिनहुँ गर्नु पर्ने कार्यविधि तथा निर्त्यकर्महरु गर्न आफ्नो एक्ली छोरी बिना गर्न नसक्ने भएकोले आफैले आफैलाई छोरीलाई दाइजो स्वरूप पठाएको कथन पनि पाइन्छ ! यसै कारणले मरु क्वाक्चा र प्याफल दुवै टोलमा चामुण्डेश्वरी मातृका कङ्ग अजिमाको सानो मन्दिर समेत रहेको भनाई रहेको पाइन्छ ।       


                         चामुण्डेश्वरी मातृकालाई कंकेश्वरी मातृका समेत भन्ने गरेको छ । यहाँका देश तथा नगर सुरक्षाका लागि स्थापना गरीएका अथवा नगर निर्माण हुनु अघिनै स्थापना भईरहेका मातृकाहरुलाई यहाँ अजिमाको पदवीको लोकमान्यता रहेको भए तापनि चामुण्डेश्वरी मातृकालाई " कङ्ग अजिमा " नै किन भनियो भन्ने एउटा खोजको विषय हुन सक्छ । नगरको पश्चिम  सिमानाको विष्णुमती किनारामा अवस्थित यश चामुण्डेश्वरी कङ्ग अजिमाको पीठको देवगृह(द्यःछें) भने यटखाटोलमा रहेको छ । यश कङ्ग अजिमा पीठ चण्डेश्वरी मातृकाको हो भन्ने लोकमान्य रहेको भएता पनि केही संस्कृति विदहरुले भने कान्तिपुरको प्रमुख अष्टमातृका लिने क्रममा यश पीठको मूल मातृका चामुण्डेश्वरीलाई नलिईकन यश पीठमा रहेका मातृकाहरु मध्यका बाराही मातृका लिने गरेको पनि देखिन्छन् ।                                                         


कङ्ग अजिमाको जात्रा -

पाहाँचःह्रे जात्रा-

     ने.सं. ५८० मा राजा अमर मल्ले पिशाच चतुर्दशीका (चिल्लागा पाहाँचःह्रेका) दिन यश चामुण्डेश्वरी कङ्ग अजिमालाई रथारोहण गरी खतजात्रा सहितको देश परिक्रमा गर्ने पाहाँचःह्रे जात्रा चलाई १२ वर्षमा एक पटक देवीगण नाच समेत चलाउने व्यवस्था गरि दिएको भन्ने समेत बंशाबलीमा उल्लेखित गरिएको छ । चैत कृष्णपक्षिय चतुरदशि .चिल्लागा.. पाहाँचःह्रेका दिन हुने खत जात्रा आजसम्म निरन्तरता रहेको भए तापनि १२ वर्षमा हुने भनिएका देवीगण नाच भने धेरै अगावै देखिनै स्थगन भईसकेको छ ।                              .           बुढापाकाहरुको भनाइ अनुसार उहिले उहिले ङयतमरु(ङ्यतभुलु) अजिमा (स्वेतकाली)को नृत्य जस्तै चामुण्डेश्वरी कङ्ग अजिमाको पनि नृत्य (गछिं प्याखं) देखाउने परम्परा थियो रे ! यटखाको मजाःदेगः (हाल कम्पुकोत .......व्यारेकको भान्छाघर रहेको ठाउँ कङ्ग अजिमा नृत्य गर्ने दबुली रहेको थियो रे । बुढापाकाहरुको भनाइ अनुसार उहिले परम्परा अनुसार एक दिन नृत्य चलिरहेको बेला एक तान्त्रिक आएर अजिमालाई पशुको विभिन्न रुप धारणगरी छल गर्दै  दु:ख दिएर हायलकायल गरेकोले उक्त तान्त्रिकको बली नै लिएका थिए रे । यसरी  भेषधारी तान्त्रिक देखि कङ्ग अजिमा सार्है नै रिसाएर तान्त्रिकको भोग लिनु भए पछि  अब उपरान्त हरेक बर्ष एक जना मान्छेको नरबली नै दिनु पर्ने र अन्यथा शर्त पुरा गर्न नसक्ने भए आइन्दा दर्शन दिन नसक्ने आज्ञा दिए अनुसार त्यसबेला देखि उक्त नृत्य  बन्द भएको भनिन्छ । त्यसै अनुरुप त्यस नृत्यसंग सम्बन्धित सबै सर-सामंग्रीहरु सोहि दबली मुनि छोपेर तत्पश्चात उक्त स्थानको देवगृह( द्यःछें)को मूल ढोका सधैको लागि बन्द गरि देवगृहमा आवट जावट गर्न अर्को छुट्टै ढोकाको ब्यवस्था गरेको भनाइ पाइन्छ । कथंकदाचित उक्त ढोका खोलेमा नरबली दिनुपर्ने विश्वास रहेको समते पाइन्छ ।

     


     चैत्रकृष्ण चतुर्दशि पिशाच चतुर्दशि / चिल्लागा पाहाँचःह्रेका दिन सन्ध्याकालमा यटखा टोलमा रहेको देबगृह( द्यःछें) बाट अजिमाको मूर्तिलाई खतमा विराजमान गराई बाजागाजा सहित बिष्णुमती किनारा स्थित आफ्नो कंकेश्वरी पीठ( गमय) मा लगेर राखिन्छ । अौसिका दिन राति शैनिक मञ्च टुंडिेेखेलमा र त्यसको भोलिपल्ट असनमा वतु र तेबहाौका भद्रकाली अजिमा संग खत परिक्रमा गर्दै चिलाख( मसाल)सातासात गर्ने जात्रा गरि पाहाँचःह्रे जात्रा सम्पन्न गर्ने गर्छ।

खड्ग जात्रा( पायः न्ह्याकेगु जात्रा)

     प्रत्यक वर्षको आश्विन शुक्ल बिजयादशमी/ कौलाथ्व दशमी / चालंका दिन अपरान्ह पछि कङ्ग अजिमाको देबगृहबाट खड्ग जात्रा/ पायः न्ह्याकेगु जात्रा निकालि खड्ग जात्रा गर्ने परम्परा रहि आएको छ । 

     पीठ मन्दिरमा शिलाका अमूर्त मूर्तिहरु मात्र रहेको भए तापनि चाडपर्व तथा शनिवार शनिवारका दिनमा मात्र राख्न भनी दाताहरुले कृतिकारुपमा राखेका सुनको प्रस्तर मूर्तिमा मूर्ति तस्करहरुको कूदृष्टिपरी मूर्ति तस्करहरुकै सहयोगमा यात्रामा निस्किएका चामुण्डेश्वी कङ्ग अजिमाको स्वर्ण मूर्ति आज सम्म फिर्ता हुन सकेको छैनन् भने प्रहरी प्रशासन समेत चोरीएको मूर्तिपत्तालगाउन असफल भएको प्रमाणित भईरहेको अवस्था समेत छ ।

       चामुण्डेश्वरी(कंकेश्वरी) कङ्ग अजिमाको दैनिक नियम पूजाको जिम्मेवारी पहिलादेखिनै द्यःपाला स्वयमले गर्ने गरेको   छ । अन्य अष्टमातृका पीठमा जस्तै यहाँ पनि अष्टमातृका गणकारुपमा मानिने पोडे ( द्यःला) नै द्यः पालाको व्यवस्था भई आएको छ ।    

     देवमाला वंशावलीमा लेखिए अनुसार चामुण्डेश्वरी (कंकेश्वरी) कङ्ग अजिमाको मन्दिर सजावट गरीतात्कालिक विभिन्न समयमा  कृति कायम गर्नु हुने  दाताहरु र दाताको कृतिहरुमा - १.बि.सं. १७८३ मा कमाण्डर इन्चिफ जनरल  कुवंरले देवालय भित्र सुनको मोलम्बा चंदुवन बनाएर चढाएको,

२. बि.सं. १८९६ आश्विनमा जनरल नजर(अमर)सिंहले देवलयको माथिलो सुनको मोलम्बा छाना बनाई दिएको ,

३. बि.सं. १९०९ कार्तिक ८ रोज ५ मा जनरल गगनसिंहले माझ तलणलामा सुनको छाना बदाईदिएको , 

४.बि.सं. १९ सालमा जिवनारायण मानन्धरले माथिलो पूर्व दक्षिण पश्चितिर  सुनको झलर बाएर राखेको, 

५.  बि. सं. १९ सालमै बिलं शाहीले माझ तल्ला पूर्व तर्फ  सुनको झलर बनाइदिएको , 

६. बि.सं. १९ सालमै  सेते दमाईले माझ तल्ला उत्तरतिर सुनको झलर बनाईदिएको,

७.  बि.सं. १९ सालमै उजीर शाहीले  माझ तल्लाको दक्षिणमा सुनको झलर बानाइदिएको,

८. बि.सं.१९ सालमै ज्योचा भन्ने सिंहबिर मानन्धरले माझ तल्लाको  पश्चिममा सुनको झलर बनाई दिएको र

९. बि.सं. १९९६ मा देवराज मानन्धरले  तल्लो तल्लामा टाइले मोडी सोभा बनाइदिएको भन्ने समेत उल्लेखित गरेको छ ।

#प्रकाशमानशिल्पकार

फोटो साभार-श्ययाम मानन्धरकोो फेशबुक बाट





कल्खु अजिमा लेख संग्रह बाट

No comments:

Post a Comment