Saturday, May 31, 2025

नेपाली मौलिकता बोकेको सुकुन्दा

 

ससानो - सुकन्दा
ठूलो - मुकुन्दा

नेपाली मौलिकता बोकेको सुकुन्दा

– प्रकाशमान शिल्पकार  

विषयप्रवेश

नेपाल उपत्यका तन्त्रागमको अभ्यास हुने शास्त्रहरूले महिमागान गरेको परमपावन स्थल हो जहाँ सदियौँदेखि अविच्छिन्नरूपमा देवीदेवतालाई तन्त्रविधिबाट रिझाएर यहाँका साधकहरूले धर्म, अर्थ, काम र मोक्ष (पुरुषार्थ चतुष्टय) सिद्ध गर्दै आएका छन् । तन्त्रको मानसोपचार र बाहृयोपचारका माध्यमबाट आत्माको कल्याण र संस्कारजन्य कृत्यहरू दुवैमा समानान्तर वैशिष्ट्यको प्रतीति महसुस गराएका छन् । यहाँनेर मानसोपचारको सम्बन्धमा चर्चा गरिएको छैन, बाहृयाचार अर्थात् संस्कारगत कृत्यमा केन्द्रित हुने प्रयास गरिएको छ । संस्कारको पनि अत्यन्त लघुतम प्रयोगमा अर्थात् तन्त्रप्रधान नेपालमण्डलका रैथाने नेवारहरूको हरेक संस्कारमा प्रयोग हुने मङ्कलताको प्रतीकका रूपमा रही धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको सामग्री सुकुन्दाको चर्चा गरिएको छ र यससँग सम्बन्धित विभिन्न पक्षहरूको बारेमा विषय उठान गरेर यहाँ केलाउने चेष्टा गरिएको छ ।  

परिचय

ॅसुकुन्दा’ तन्त्रसाधक नेवारहरूको हरेक शुभकार्य, पूजा तथा पितृकार्य समेतमा अनिवार्य प्रयोग हुने विशेष कलात्मक सामाग्री वा पूजाभाण्ड हो  । मङ्कलताको प्रतीक ॅसुकुन्दा’लाई पञ्चतत्त्वको समष्टिस्वरूपमा, गणेश, भैरव, सूर्यनारायण आदिको रूपमा समेत लिने गरिएको पाइन्छ । तोरीको तेल राखेर बत्ती बालिने सुकुन्दाको कलापक्ष र यसको सांस्कृतिक महत्तालाई दर्शाउन यसको पृष्ठभूमिको तादात्म्य प्राचीन नेपालको उत्पत्तिको ऐतिहासिक किंवदन्तीसँग जोडेको पाइन्छ ।  

सुकुन्दा ॅसु’ र ॅकुन्द’ को संयोजनबाट बनेको शब्द हो । शाब्दिक अर्थ हेर्ने हो भने  प्राचीन नेपाल भाषामा ॅसु’ अर्थ खाने तोरीको तेल  अथवा तिलको तेल हो । अहिलेको प्रचलित नेवाःभाषामा तेललाई ॅचिकं’ भन्ने प्रचलन भएता पनि  प्राचीन नेपाल भाषाले चिकंलाई ॅसु’ भन्ने गरिएको पाइन्छ । अहिले पनि बौद्धधर्म अनुसार सम्यक् दानमा दान दिनका लागि तयार पारिएको तेलमा पकाएको रोटीलाई नेवारहरूले सूमढी भन्ने गर्दछन् । त्यस्तै नै खाना पकाउने प्रक्रियाअन्तर्गत तेलमा तरकारी झ्वाँईँ गरी पकाउने बेलामा तेल डढेको गन्धलाई नेवारहरूले ॅसूनवः’ भन्ने गर्दछन् । त्यस्तै नै नवजात शिशु जन्माउन सुत्केरीलाई तेल लगाउन पुगेन भने ॅबुयसुये मगाम्ह’ भन्ने भाषिक बोली छ ।  सुकुन्दाको गर्भमा राखिएको  तेलमा डुबाईराखेको सानो डाडु, चम्चा वा आचमनी जस्तोलाई नेवाः भाषामा सुमिचा भन्ने गरिन्छ ।

       तेल राख्ने भाँडोलाई चिकंथल र पूजा सामाग्री राखेर पूजा गर्ने थालीलाई नेपालभाषामा पुजाभू भने जस्तै यसलाई पनि त सुथल वा मतच्याःथल भन्नु पर्ने हो तर त्यसो नभनिकन सुकुन्दा नै भन्नुको ठूलो महत्त्वपूर्ण अर्थ रहेको छ । ॅसु’ अर्थ प्राचीन नेवाःभाषाको तेलबाट आएजस्तै ॅकुन्द’ संस्कृत भाषाको कुण्ड (गोँसाईकुण्ड, सरस्वतीकुण्ड, यज्ञकुण्ड आदि) बाट आएको शब्द हो । ॅकुन्द’ शब्द संस्कृतको ॅकुण्ड’ शब्द अपभ्रंश भइ निर्माण भएको प्रतीत हुन्छ । तेलको पवित्र कुण्डको रूपमा सुकुन्दा रहेको छ । हुनतः सुकुन्दामा अङ्गित इतिहास एवं कला र दर्शनले सुसम्पन्न सुकुन्दा सनातनी धर्म, संस्कृत एवं नेवाः दर्शन आदिले सम्पन्न पवित्र सुकुन्दालाई पवित्र तीर्थका रूपका आत्मसात् गरेरै हाम्रा पुर्खा, गुरु वा आचार्यहरूले सामाजिक, सांस्कृतिकरूपमा अति सुहाउँदो शुभ नामकरण गरिदिए ।

     कुण्डको रूपमा सृजना गरिएको सुकुन्दा प्राचीन नेपालको उत्पत्तिस्थल कालीदहको रूपमा सर्जकहरूले परिकल्पना गरिए अनुसार यसमा राखिने तेललाई कालीदहको जलाशय रूपमा लिएको देखिन्छ । प्रतीकात्मक रूपमा नेपालमण्डलको स्वरूपमा यसलाई तयार पारिएको प्रतीत हुनजान्छ । यसरी हेर्ने हो भने यसलाई पूर्णकलशको रूपमा पनि मान्न सकिन्छ । सुकुन्दा पूर्ण कलशकै रूपमा मान्य भएतापनि यसमा पानी राख्न आवश्यक छैन, आवश्यक मात्र हैन यसमा पानी हाल्नै हुँदैन । सुकुन्दामा बत्ती बालिने भएकाले यसमा पानीको प्रयोग गरिदैँन । पानी र आगो विपरित शक्ति हुन्, यी दुई शक्ति कुनै पनि अवस्थामा सँगै बस्दैनन् ।  

सुकुन्दाको पृष्ठभागमा नागको छत्र रहेको हुन्छ । कलात्मकता देखाउनको लागि सुकुन्दामा छत्रको प्रयोग गरिएको पाइन्छ । नागहरूको संख्या पाँचदेखि एघारवटासम्म हुने गर्दछ, संख्यामा त्यो भन्दा माथि पनि हुन सक्दछ । नागलाई जलस्रोतको रक्षकको रूपमा पूजा गर्ने चलन नेपाल उपत्यकामा प्रचुर मात्रामा चलिआएको पाइन्छ ।  सुकुन्दामा नागहरू हुनुको अर्थ पानी हो । कलशमा पानीको प्रतीकका रूपमा नै छत्रको रूपमा नाग राखेर सुकुन्दाको सृजनाकारले सुकुन्दाको शोभा बढाएको हो ।

नेपालमण्डलको भूगोल प्रतीक

      सुकुन्दाको कलात्मक स्वरूपको गुहृयतालाई सूक्ष्मरूपमा गहिरिएर हेरिएमा सुकुन्दाको प्रतीकात्मक अर्थ धार्मिकदृष्टिले नेपालमण्डलको भूगोल हो भन्ने आशय दर्शाउँछ । यस विषयमा अध्ययन गर्नुहुनुे अध्ययनकर्ताहरूको भनाइमा अझ यसको संक्षिप्त रूपमा भनेको स्वयम्भूपूराण अनुरूप मानिएको छ ।  

नेपाल उत्पत्ति किंवदन्ती विषयको परिचायक

      अध्ययनकर्ताहरूको मतअनुसार सुकुन्दाले प्राचीन नेपाल उत्पत्ति किंवदन्ती विषयको प्रतिनिधित्व गर्छ । नेपालमण्डल उत्पत्तिबारे स्वयम्भूपुुराणमा लेखिएको विषयवस्तुलाई आत्मसात् गरेर कुशल एवं भावुक कलाकारले सुकुन्दा सृजना गरेको देखिन्छ । पुराणकथामा तथागत गौतम बुद्धले यस धर्तीमा अवतरण गर्नुभन्दा धेरै कालअघिका बुद्धहरूमध्ये विपश्वी बुद्धले रोप्नुभएको कमलको बिउबाट दिव्य कमलको फूल हालको स्वयम्भूमा फुलेको खबर सुनेपछि ल्हासामा विराजमान रहनु भएका बोधिसत्व महामञ्जुश्री (प्राचीन नेपाल निर्माता) आफ्‌ना अनुयायी र पत्नीहरू मोक्षदा र वरदाका साथमा अलौकिक ज्योति दर्शन गर्न गोप्य मार्ग हुँदै ल्हासाबाट प्राचीन नेपालमा आगमन भएको प्रस· छ । भक्तपुरस्थित थाकलमठ अर्थात् महामण्डप गिरि (ल्हासा पाक्व/निस्यांङ गुरथाङ) हालको चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालस्थित सुरुङ्कको द्वार गुफामार्गबाट नेपालमा आगमन भएको कुरा पौराणिक साहित्यका जानकारहरूले बताउँछन् ।  

ज्योतिरूप श्रीस्वयम्भूको दर्शन गरि कालीदहको पानी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँबायाँ रहेको पहाडमा वरदा र मोक्षदालाई राखी चोभार गल्छीलाई महामञ्जुश्रीले आफ्‌नो अस्त्र चन्द्रहाँस खड्गले प्रहार गरी पानी बाहिर जाने मार्ग खोलेको कुरा विभिन्न वंशावली र अनुश्रुतिमा समेत अत्यन्त व्यापक रहेको छ । यस अगाडि यहाँको विशाल दहको बिचमा सहस्रदलको कमलको फूल माथि अखण्ड बलिरहेको अलौकिक दिव्य ज्योतिरूपमा श्रीस्वयम्भू भगवान र नवनागराजाहरू समेतको वासस्थान रहेको भन्ने जुन पौराणिक घटनाको यथास्थिति यसै सुकुन्दाभित्रको गुᳮतामा देखिन्छ ।

        कालीदहको र चन्द्रहाँस खड्ग प्रहारबाट दहको पानी जाने निकास खोलेको कथा विषयलाई आकर्षित गर्दै कलाकारहरूले सुकुन्दाको तलको भाग सहस्रदलको प्रतीकमा कमलपत्रको बुट्टा अङ्गित गरे अनि यसको अग्रभागमा रहेको दलुपा अर्थात् दीयो राखिदिएको पाइन्छ । यो हो सहस्रदलपद्मको माथि अलौकिक ज्योतिरूप तेज छरिरहेको भन्ने अर्थ हो । यसै सुकुन्दामाथि नवनागराजहरूको मूर्ति अङ्गित गरी छत्रको रूपमा सुकुन्दाको शोभा वृद्धि गराइयो । हुन त यी नवनागहरूको मूर्ति सुकुन्दा भित्रै राख्नु पर्ने हो, तर पनि कलाशिल्पीहरूले व्यावहारिक रूपमा समाएर हिँड्न सहजता होस् भन्ने हेतुले दलुपाको पछाडि छत्र ओढाएर  सुकुन्दाको शोभावृद्धि गरिदिएको हुनसक्दछ । सुकुन्दाभित्र रहेको तेल निकालेर दलुपा राख्न एउटा सानो आचमनीजस्तो सुमिचा सुुकुन्दाको गर्भमा रहेको तेलमा डुबाई राखेको हुन्छ । सुकुन्दाको अभिन्न अङ्कको रूपमा रहेको यो सुमिचालाई वासुकीनागका रूपमा लिएको देखिन्छ ।

सुकुन्दा चन्द्रसूर्यको प्रतीक


     तन्त्रमा सुकुन्दालाई चन्द्रमा र सूर्यको प्रतीकको रूपमा पनि लिने गरिएको पाइन्छ ।  शैवतन्त्र र बौद्धतन्त्रको समन्वय रहिआएको नेपालमा धार्मिक सांस्कृतिक परम्पराअनुसार बच्चा जन्मेको सुतक चोख्याउने, इहि राख्ने, बाह्रा (सूर्यदर्श गराउने) राख्ने, चुडाकर्म, इहिपा (विवाह) संस्कार तथा यज्ञयागादि कर्म (यज्ञकर्म) एवं दीक्षाकर्म, पितृकार्यकर्म धर्मोत्सव कार्य लगायत विविध उत्सव कार्यमा समेत पूजा संकल्प गर्न सर्वप्रथम यहि सुकुन्दालाई अघि राखेर  हाम्रो कृत्य सम्पादन हुँदै आएका छन् । चन्द्र र सूर्यको प्रतीक मानिने सुकुन्दामा बालिने अग्निलाई सूर्यको अंशका रूपमा लिइन्छ भने तेललाई सोमको अंशका रूपमा लिने गरिएको पाइन्छ ।  

गणितशास्त्रको प्रमाणअनुसार अग्नि तीन प्रकारको देखाएको छ, यही तीन प्रकारको अग्निको संकेतरूपमा बत्ती बाल्ने दलुपाको आकार त्रिकोणकार गरिएको पाइन्छ । तन्त्रमा त्रिकोण भनेको योनिको प्रतीक हो ।  त्यसकारण कुनै पनि पूजा गर्नु अगाडि सुकुन्दालाई प्रतिष्ठापन गरि पूजा गरिएको हुन्छ । पोताय् (रेखी)ले त्रिकोण आसन बनाई सुकुन्दालाई राखिने गरेको पाइन्छ । यसरी त्रिकोणात्मक रेखाचित्रले र दलुपाले सुकुन्दाको प्रत्यक्ष सम्बन्ध तन्त्रसँग राख्दछ । यही त्रिविन्दुले इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिको प्रतिबिम्बन, सृष्टि–स्थिति–संहारको समेत प्रतिबिम्बन गर्दछ ।

अर्धनारीश्वरको प्रतीक  

सुकुन्दाको दलुपासँगै श्रीगणेशको मूर्ति रहेका कारणले वज्रयानको मतानुसार प्रज्ञा र उपायको (वज्रपद्मसमायोग) र शिववशक्तिस्वरूप अर्धनारीश्वरको प्रकृति र पुरुषको चिहृनका रूपमा राखेको हो । यसरी श्रीगणेश पुरुषको प्रतीक हो भने त्रिकोणाकार दलुपा (दियो) स्त्रीरूप हो । अगाडि त्रिकोणयन्त्राकृत दलुपा(दियो) र पछाडि नवनागमूर्ति रहेको सुकुन्दा कलशकै रूप हो । अर्को अर्थमा कलशाकृतिको अगाडि त्रिकोणायन्त्राकृति दलुपा नै श्रीगुᳮेश्वरी र त्यसको अगाडि आदिबुद्ध ज्योतिरूपको तेज जाज्वल्य भइरहेको प्रतीक स्वरूप दलुपामा बलेको दीप हो भन्ने मान्यता बौद्ध विद्वान्‌हरूले अगाडि सारेका छन् ।

पञ्चतत्त्वको परिचायक

सुकुन्दाको भित्री भागले जल, बाहिरी फूलेको भागले पृथ्वी, दियोले अग्नि, नागले वायु र गणेश स्वयंले आकाशको प्रतिनिधित्व गरिरहेको हुन्छ । जल, पृथ्वी, वायु, अग्नि र आकाशलाई पञ्चतत्त्व मानिन्छ ।

श्रीगणेशको अग्रपूजा


     सुकुन्दामा रहेको श्रीगणेशको मूर्तिले सबैलाई कुनै पनि कार्य थालनी गर्दा श्रीगणेशलाई अनिवार्य अग्रपूजा गर्नु पर्ने सन्देश प्रवाह गरिरहेको छ । श्रीगणेशलाई अग्रपूजा नगर्दा एक धुरन्धर तान्त्रिकलाई विघ्नबाधा आएर आपत् परेको आख्यान यहाँ वर्णन गर्नु उपयुक्त भएकाले  यहाँ स्मरण गराउँदैछु –

      ७ औँ शताब्दीतिरका मानिने ओट्ठियानचार्य नामक एक धुरन्धर तान्त्रिक कहीँकतैबाट हिमवत्‌खण्डको तपोभूमि नेपालमण्डलमा तीर्थयात्रा भ्रमणमा आएका रहेछन् । त्यस बेला उहाँले सूर्यासनविहार सन्निकर्षस्थल कच्छपालगिरि चोभार क्वयना चखुंतीबखुंति गुफाभित्र  बसेर  हेवज्रनैरात्माको पुरश्चरण गर्नुभएको रहेछ । उहाँले अनुष्ठान गर्दैगर्दा उहाँलाई भयङ्गर विघ्नबाधा वा मार आइरहृयो  । आफू स्वयं निपुण तान्त्रिक हुँदाहँुदै पनि आएका विघ्न मारलाई निराकरण गर्न असमर्थ सिद्ध भएपछि तान्त्रिक ओट्ठियानाचार्यले विघ्नविघ्नान्तभैरवको आराधना गर्नुभएछ । तान्त्रिक आचार्यको प्रार्थनानुसार भैरव प्रसन्न हुनुभई प्रकट भएर ओट्ठियानाचार्यसँग  आफूलाई आराधना गर्नुको कारणको सोध्नुभएछ । प्रसन्न भएका भैरवनाथले  विघ्नबाधा आउनुको मूल कारण ओट्ठियानचार्यले आफ्‌नो अनुष्ठान सिद्धिका लागि समस्त देवदेवीलाई अनुष्ठान स्थलमा आहृवान गरेको तर त्यहीँ रहेका स्थान गणेश जलविनायकलाई भने आहृवान गर्न छुट्टाएको कुरा बताएछन् । त्यसकारण जलविनायक रिसाउनु भएर कोप हुनुभई आफ्‌ना गणहरू द्वारा गुफाभित्रको अनुष्ठान स्थलमा भयङ्गर विघ्नबाधा उत्पन्न गराउनु भएको हो भन्ने पत्तो लागेपछि  विघ्नविघ्नान्तक भैरवले जलविनायकलाई आफ्‌नो पिठ्यूँमा आसन गरेर मालिकका रूपमा बोक्नुभएछ । आफ्‌ना नायक गणेशलाई सो अवस्थामा देखेपछि भैरवले सवार गरेको अवस्था अनुष्ठानमा विघ्नबाधा गर्न आएका जलविनायकका सबै गणहरू त्राहित्राहि भई भागेछन् । ओट्ठियानचार्यलाई विध्नबाधा गर्नहरूको स्वरूप अहिले पनि गुफाभित्रको भित्ताहरूमा देखिन्छ भन्ने भनाई रहेको छ । विघ्नविघ्नान्तक भैरवको आसनमा बसेको भएर जलविनायकलाई क्वइना गणेश हुन गएको भन्ने भनाइ  छ । त्यस घटनाको उपरान्तदेखि आजसम्म पनि सबैले आफ्‌नो कार्यसिद्धिका प्राप्तिकालागि सर्वप्रथम श्रीगणेशलाई अग्रपूजा गर्नुपर्ने परम्परा र संस्कृति कायम भइ चल्दै आयो । यसै घटनाक्रम वा आख्यानकै कारण कलाकारले सुकुन्दामा श्रीगणेशको मूर्ति राखेर जनमानसलाई कुनै कार्य शुभारम्भ गर्दा गणेश पूजन गर्न अनिवार्य छ भन्ने सन्देश प्रदान गरेको हुनसक्छ ।  

        संस्कार र संस्कृतिमा प्रयोग हुँदै आएको सुकुन्दाको प्राचीनस्वरूप अलि फरक रहेको बुझिन्छ । नेपालमण्डलमा महामञ्जुश्रीको आगमन भएपश्चात् नेपालको प्रतीकका रूपमा सुकुन्दाको विकास भएको भन्ने संस्कृति अध्येताहरूको भनाइ रहेको पाइन्छ । अहिले प्रयोग हुँदै आएको कलशमा सुमिचासहित भएको सुकुन्दा भने जयस्थितिमल्लले बनाएको प्रारूप हो भन्ने पनि यदाकदा सुनिन्छ । सुमिचा विशेष गरेर टुप्पोमा एउटा मानव शिर आकारमा बनाइएको हुन्छ त्यसैकारण यो सुमिचालाई  जयस्थितिमल्लको प्रतीक भन्ने मान्यता  रहेको भन्ने भनाइ समेत छ ।

उग्रगणेश

      सुकुन्दामा दुई सिंहसहित रहेका गणेश प्राचीन पौराणिक कालमा अनेकौँ युद्ध लडाइँ लडेका उग्रगणेश हुन् । युद्ध लड्ने सुँड बायाँतिर घुमेको वा फर्केको अवस्थामा रहेको सुकुन्दाको यो गणेश नेपालमण्डलवासी नेवाःहरूले पूज्दै आएको अलिबलि पूजा ग्रहण गर्ने तान्त्रिक गणेश हुन् ।

सुकुन्दा र मुकुन्दा

        सुकुन्दा विभिन्न ठूलासाना आकारको  पाइन्छ  तर सामान्य आकारभन्दा धेरै ठूलो आकारको अनि एउटा हातले समान गाह्रो हुने, दुवै हातले समाउनु पर्ने ठूलो सुकुन्दा जुन केही मानन्धर, उदाय समुदायको विवाहमा जन्तीको जाने बेलामा अग्रपंक्तिमा बोकेर लाने प्रज्वलित ठूलो सुकुन्दालाई ॅमूसुकुन्दा’ भनिन्छन् ।

      अहिलेको जस्तो पहिले विद्युत्‌को झल्मल्ल बत्तीको व्यवस्था नभएको समयमा नेवाः समाजमा नयाँ ज्वाईँलाई बत्ती देखाएर भित्र्याउने संस्कारमा प्रयोग गरिने सुकुन्दा आकार प्रकारकै तर अष्टनाग रहने स्थानमा कुनै सिंहकार मूर्ति भएको सुकुन्दालाई ॅमुकुन्दा’ भनिने गरेको रहेछ । अहिले धेरैलाई मुकुन्दाका विषयमा थाहा नभएको मात्र हैन मुकुन्दाको नामनै नसुन्ने धेरै नेवाःहरू पनि पाइन थालेका छन् । सुकुन्दा र मुकुन्दा अलकापुरीका राजा देवराज इन्द्रको ढुकुटीमा रहेको, धनका स्वामी कुबेर महराजको अमूल्य नौ निधिमध्यको एक निधि मुकुन्दा रहेको अनुश्रुति पाइन्छ ।

सुकुन्दाको प्रयोजन र संस्कारसँग सम्बन्ध

      नेपालमण्डलवासीहरूको विविध पूजाआजामा अनिवार्य भइरहेको सुकुन्दा† जन्म, मृत्यु तथा विवाह आदि विभिन्न संस्कार र यज्ञ आदि धार्मिकोत्सवमा अनिवार्य रहेको छ । एवम्‌प्रकारले यहाँ संस्कृतिको अस्तित्वको रूपमा यसले आफ्‌नो दिगो स्थान ओगटेर आएको छ, यसैले विविध संस्कारसँग सुकुन्दाको घनिष्ठतम सम्बन्ध रहेको छ । सांस्कृतिक तथा सामाजिक प्रयोजन दुवैमा समानान्तर महत्त्व रहेको सुकुन्दाको विशेष स्थान रहिआएको छ । शाक्तोपासक नेवाःहरूको हरेक शुभकार्य, पूजा तथा पितृकार्य समेतमा अनिवार्यताका साथ नभई नहुने यो सकुन्दा सामाजिक कार्य र सांस्कृतिक र्‍यालीदेखि अहिले विभिन्न मञ्चहरूमा समेत देख्न थालेका छन् । छोरी चली विवाह गरी पठाउँदा दाइजोमा सुकुन्दा दिने परम्परा छ यहाँ । आजभोलि उत्सवपर्वहरूका सुकुन्दा र्यालि गर्ने चलन चल्दै गएको छ । कुनै पनि किसिमको कार्यक्रममा कार्यक्रमको उद्घाटनमा पानसमा बत्ती बाल्न कलात्मक सुकुन्दा बालेर गर्ने परम्परा  चलेको छ ।

उपसंहार  

     तन्त्रप्रधान नेपालमण्डलको नेवाः सभ्यताको  मौलिक पहिचान तथा सभ्यताको अन्वेषण सुकुन्दाको मौलिकतालाई कहिँकतैबाट असर पर्न दिनुहुन्न र यसको मौलिकतालाई कालान्तरसम्म यथास्थितिमा राख्नुपर्छ । यसतर्फ नेपाली संस्कृतिप्रेमी समग्रले सचेत रहनुपर्ने देखिन्छ । अस्तु ।  

सन्दर्भ सामग्रीसूची

१. हेमराज शाक्य, नेपाल – संस्कृतिया मूलुखा

२. विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाहरू

Monday, March 10, 2025

क्षमा पुजा तथा पञ्चकुमारी पुजा सम्पन्न ।

 

क्षमा पुजा तथा पञ्चकुमारी पुजा सम्पन्न ।



हे दुर्गे कलङ्के मम किमपि न कर्तुं शक्तिरस्ति
त्वं कर्त्री कारयित्री च भवसि सदा मे गतिश्च।
त्वद्भक्तिं याचमानो विनयपरतया त्वां नमामि
त्वत्कृपया सर्वमेतत् तव चरणयुगे चार्पयामि॥
(हे दुर्गे कलंकी ! मसँग केही गर्ने शक्ति छैन ।  तिमी नै कर्ता र कारक हौ, सधैँ मेरो गति पनि। तिम्रो भक्ति माग्दै विनयपूर्वक तिमीलाई नमस्कार गर्छु । तिम्रो कृपाले यो सबै तिम्रै चरणमा अर्पण गर्छु।)

श्री ३ कलङ्की माई (श्री ३ कल्खु अजिमा) भगवती र पूज्य आगम गुरुदेवका चरणमा सहस्र वन्दना गर्दछु ।
       
क्षमा पूजा र क्षमा पुजा  गर्नुको कारण
         २०८१ माघ १० गते बिहिवारको मध्यराती १२:४९ बजे मन्दिरको दक्षिणपट्टी  रहेको घण्टीसँगैको काठको बार भत्काएर मानसिक सन्तुलन गुमाएको जस्तो हुलिया देखिने एक अपरिचित qव्यक्तिले मन्दिर भित्रको सानो दानपेटिका फुटाएर मन्दिरभित्र माताकै सामु बसेर अनेक किसिमका हर्कत गरेको घट्नालाई लिएर श्री कलंकी मन्दिर समिति तथा समाज सुधार संस्था एवं समस्त भक्तजन परिवार कलंकी मन्दिरको आयोजनामा यहि फागुन ७ गते बुधबार फागुन कृष्ण सप्तमी  (नेपाल सम्वत ११४५ सिल्लागा सप्तमी) का दिन  मन्दिरकै ढोका सामुने विशेष तात्रोक्त हवन गरि क्षमा पुजा एवं पञ्चकुमारी पुजामा  सम्पन्न भएको छ ।


माघ १० गते राती  भएको घटनाको सविस्तार
         मन्दिरमा  माघ १० गते राती भएको त्यो घट्नाबारे सविस्तार हेर्दा -
      म पंक्तिकार  मन्दिरमा मेरो दैनिक पुजा कर्म ( न्हिकं) गर्न जाने क्रममा प्रातःकालको ठीक २:५५  बजे  मन्दिरको ढोका उघार्दा मन्दिर भित्र दानपात्र फोडिएको दानपात्रको पैसा भुइँमा छरपस्ट अजस्थामा देखिएको । भित्रको अवस्था देखे।पछि म भित्र प्रवेश नगरी तत्काल मन्दिर समितिका अध्यक्ष लगायत पदाधिकारी एवं प्रहरीलाई खबर गरेर ३:२० सम्ममा सबै भेला भए पछि मात्र प्रहरीको उपस्थितिमा हामी भित्र प्रबेश गरेको। हामी भित्र पसेर भित्रको अवस्थााई चारैतर्फ अवलोकन गर्दा  सानो दानपात्र फुटालीएको ठूलो दानपात्रको बाहिरको ताल्चा फोडिए पनि भित्रि ताल्चा फोड्न सकिएको भने देखिएन ।  दानपात्र मन्दिरभित्र राख्ने गरेको पानी खोल्ने रडसाँचोले फोडेको देखिन्थ्यो । ठूलो घण्टा अगाडि मानव मल देखिन्थ्यो तर पनि देवीदेवताको शिला मूर्तिर गहणामा भने कुनै क्षति गरेको देखिन्दैथ्यो ।
       भि‍त्र मानव मलमूत्र देखिएर मन्दिर  बिटुलोअवस्थामा देखे पछि   बिटुलो अवस्थाको मन्दिरलाई  पानीले नपखाले सम्म मन्दिरमा पूजा गर्न कुनै भक्तजन प्रवश गर्न नदिन तत्काललाई मन्दिरको ढोका बन्द राख्ने निर्णय हुन्छ । 
        बिटुलो अवस्थाको मन्दिर सफागर्न  वडा अध्यक्षलाई भनेर काठमाण्डौ महानगरपालिका बाट जेट मगाउने कुरा हुन्छ । जेटनै मगाएर मन्दिर  सफा गर्ने कुरा भए पछि म लगायत हामी भित्र रहेका सरसामानहरु बाहिर उसार्न थाल्यौं । उपस्थित केही प्रहरी भने मेरो मोबाइलमा सिसि क्यामराको फुटेजमा मन्दिर फोड्ने ब्यक्तिको पहिचान गर्ने प्रयासमा व्यस्त थिए । तर मोबाईलमा देखिने  फुटेजमा ब्यक्तिको पहिचान थर्न नसिएको र सि.सि. क्यामराको मनिटर चलाउन नजानेकाले बिहान ९ बजेतिर सिसि क्यामराको प्राविधिक जानकराई बोलाएर राम्रो संग हेरौला अहिले हामी जान्छौ भन्दै एउ्टा प्रहरी भ्यान र एउटा घुमुवा प्रहरी बाईक फर्केर गयो । एउटा  प्रहरी भ्यान र त्यसको दुई प्रहरी जवन भने गएको थिएन ।


मन्दिरको काठको झ्याल फोडेर भित्र गएर उत्पात मचाउने भित्रै लुकेर बसैको थियो तर एक घण्टा सम्म पनि उसलाई कसैले देखेन !
      म पंक्तिकारले भित्रको सामान बाहिर ओसार्ने क्रममा ठूलो घण्टा पछाडिको कुनामा एउटा कालो झोला देखेर यो झोला मैले राखेको हैन कसले राख्यो होला भन्दै जब मैले झोला निकाल्न मेरो हात त्यसमा  स्पर्श जब भयो मैले आफ्नो हात कुनै नागको शरिरमाथी परेकोको जस्तै महसुस गरें । म झस्कें राम्रो,संग नियाल्ने प्रयास गरें , पहिलो प्रयासमा मैले मानीसको अनुहरा मात्र देखें मेरो आङ सिरिङग भयो । पुनः राम्रो संग हेर्ने प्रयास गरेै  मानिस नै त्यहाँ लुकेर बसकेो रहेछ , म चिच्या ए .. यहाँ मानिस लुकेको छ !
        म चिच्याएको सुनेर मन्दिरको ढोका बाहिर भए रहेका दुई प्रहर समेत ह्वारर भित्र तल झरेरे हेर्न आए । सब‌ै अचम्मित भए ! करीब एक घण्टा सम्म पनि हामी कसैले त्यहाँ कोही लुकेको नदेखेकोमा सबै अचम्म नै भए । प्रहरीले ती लुकेको युवालाई बाहिल आउन भने तर उ आएन सैन्दिप सापकोटा भाईले बल गरेर तानेर घिसारेर निकालेर एकलाट हानी हाले  ।  त्यसलाई समातेर बाहिर लगेर प्रहरी लगायत सबैले नियालेर हेर्दा उनको शरीरमा मानव मल देखीएको अनुहार लट्ठ देख्थ्यो  उनको अवस्था हेरेर प्रहरी लगायत उपस्थित सबैले यस्तालाई के कार्वाहि  गर्ने छाडिदिनु  भन्नथाले नभन्दै त्यसै छाडिदिए पनि ।
     म पंक्तिकार , मचाकाजी महर्जन दाइ  र सन्दिप सापकोटा भाई भने मन्दिर सफा गर्दै थिएँ । जेट आएर कहिले सफा गर्ने ढिलाइ हुन्छ भक्तजनहरुलाई पूजा गर्न रोक लगाउन हुन्न मन्दिर समितिका अध्यक्ष श्री लक्ष्मण अधिकारीजीले भन्नथाले  । अहिले नै सबै मिलेर पानील सफा गर्ने अनि सानो क्षमा पुजा गर्ने भन्दै पूजारीलाई नरिवल लगायत प्रशाद चढान श्री कलंकी पूजा सामाग्री पसल खोल्न फ‍ोन गर्न थाले । त्यतिबेला सम्म  मन्दिर समितिका उपस्थिथत अन्य सबै पदाधिकारीहरु घर फर्किसकेका थिए त्यसैले सबैलाई पुनः फोन गरेर तत्काल क्षमा पूजा हुने जानकारी दियो।  करीब ६:०० बजे अध्यक्षज्यूबाट क्षमा पुजा संकल्प गराई पूजारीबाट क्षमा पुुजा सम्पन्न गरीयो तत्पश्चात म पंक्तिकार र संजिजिव भाईले पनि आफ्नो तान्त्रिक विधिबाट सरल क्षमा पूजा गरि अन्य भक्तजनहरुलाई पुजा गर्न खुल्ला गरियो।
        करीब ८:००.बजेतिर महानगरबाट पनि मन्दिर सफा गर्न जेट आई पुग्यो। मन्दिर हामी आफैले सफा गरि क्षमा पजा समेत गरीसकेकाले  मन्दिर बाहिरी भाग मात्र पानीको फोहराले हान्नलगाई सफा गर्न लगायौं ।
सि.सि. क्यामरामा कैद भएको दृष्यमा जे देखियो
        राती फुर्सदमा मन्दिर भित्रको र मन्दिर अगाडिको सिसि क्यामरामा कैड भएका दृष्यहरुको फुटेजमा हेर्दा  बिहान २:५५ बजे अगाडिको र पछाडिको फुटेज हेर्दै जान्दा म पंक्तिकारको शरीर।सिरिङ्ग हुँदै गए थियो ।  सिसि क्यामरामा कैड दृष्य अनुसार रातको ठिक १२:४८ मा ढुङ्गाले हानेर काठको आँखीझ्याल फोडेर १२:५० को समय मा त्यो युवक मन्दिर प्रवेश गरेको देखिथ्यो ।
       भित्र पसेर सानो चन्दा बाकस धाराको पानी खोल्ने साँचोले फोडेको , ठूलो चन्दाबाकसको बाहिरको साँचो फोडे पनि भित्रि ताल्चा खोल्न नसकेको । सानो बाकसको पैसा सबै भुइँमा छरपस्त गरेर पाँचको नोट बाहेकका ठूला नोट गोजीमा राखेको, छरपस्ट नोटमाथी मज्जाले सुतेको,   पटकपटक पल्टनबाजी खेलेको, ठूलो घण्टा अगाडि  मलमूत्र त्याग गरेको, माताको सामुने नै उभिएर अस्लिल हर्कत गरेको तथा तथा माताकै अगाडि  सुतेर अस्लिल हर्कत गरेको  ।
           जब म पंक्तिकारले बिहानको प्रथम प्रहरको २:५५ बजे मन्दिरको ढोकाको साँचो खोल्ने क्रममा आवाज सुनेर ठूलो घण्टा पछाडि  लुक्न गएको ,  प्रहरी एवं मन्दिर समितिका पदाधिकारीहरु ३:२० मा भेला भए पश्च्यात हामी भित्र पसेर चारै तर्फ सबैले अवलोकन गर्दा, बाकस फोड्न प्रयोग गरेर त्यहिं छाडिएको पानी खोल्ने साँचो मचाकाजि दाईले ठूलो घण्टा पछाडि  यथास्थान राख्दा, खरेटो र बाल्टी झिक्दा राख्दा, मन्दिर समितिका सचिव गोविन्द सरले चारै तर्फ मोईबालबाट फोटी खिच्दा, अध्यक्ष लक्ष्मण अधिकारीबाट निउरे ठूलो घण्टा कुनि हेर्दा समेत त्यहिं लुकेर बसेको त्यो युवकलाई देख्न नसकेको , त्यसलाई तान्ने क्रममा मचाकाजी दाई र प्रहरीले समेत मोबाइलको बत्ती बालेको देखिएको जबकी त्यो स्थानमा रात्रीको अन्य समयमा राम्रै उज्यालो हुने,स्थान थियो तर पनि त्यस समपमा त्यहा अलि अन्ध्यारो नै देखिन्थ्यो।।
        माताकै सामु त्यसरी अस्लिल हर्कत गर्दा पनि माताले हामी सबैको आँखा छोपेर  उत्पातीलाई  माताले लगभग  एकघण्टा हाम्रो रिस नथामे सम्म संरक्षण गरेको देखिन्थ्यो ।
क्षमा पुजाको प्रस्ताव
       मन्दिरको काठको आँखीझ्याल फोडेर भित्र गएर मल मूत्र त्यागेको माताकै सामु बसेर अस्लिल हर्कत गरेको सुन्दा सबै भक्तजनहरुको मनमा बेचैन थियो । सामाजिक मार्ग तर्फका रोमा श्रेष्ठ( चन्दा)  नाम गरेकी माताको एक भक्तले  आफ्नो बेचैनतालाई शान्त गर्न त्यस्तो उपद्रो गरेको छ।,  एउटा हवन  गर्नु पर्ने भन्ने आफ्नो मनसाय हामीलाई पोख्नु भयो ।  यदि हवन गर्ने हो भने तान्त्रिक लिधिवत क्षमा पुजा सहित गर्नु पर्छ । यस विषयमा अन्य भक्तजनहरु संग विचार बुझ्छु भनेर पठाएँ ।  हामीले यश विषयमा अन्य भक्तजन दिदिबहिनीहरु संग कुरा गर्दा हुन्छ गरौ  हवन सहित क्षमा पूजाको तयारी गर हामी सहयोग गर्छौ भन्ने सबैको सकरात्मक विचार पाएँ । सबै भक्तजनहरुले हवन सहित क्षमा पूजा गर्ने सहमती भएपछि हामीले त्यसको तयारी गर्न।थाल्यौं।

तान्त्रिक पूजा व्यवस्थापनको जिम्मा तन्त्र चर्चा परिवार

         हवन सहितको क्षमा पुजामा पञ्चकुमारी समेतको पूजा गरि पञ्चकुमारीबाट जात्रा गर्ने वा नगर्ने भन्ने पर्चा गोलाप्रथाबाट  निकाल्न लगाई  माताको आज्ञा लिने तयारी सहित हामी क्षमा पूजाको तयारीमा लाग्यौ । पूजा मन्दिर समितिको तथा समस्त भक्तजन परिवारको आयोजनामा गर्ने  तथा पुजा तान्त्रोक्त विधिबाट सम्पन्न गर्न तान्त्रिक पूजाको सम्पूर्ण व्यवस्थापनको जिम्मा तन्त्र चर्चा परिवारलाई दियौ । 

क्षमा पूजामा पञ्चकुमारी पूजा र पञ्चकुमारीबाट श्री कलंकी माताको खत जात्रा गर्ने वा नगर्ने भन्ने निर्णय समेत

    श्री कलंकी शक्ति पिठ प्राचीन पीठ हुँदा हुँदै पनि माताको कुनै जात्रा चलेको नभएका कारण अन्य पिठ देवीहरुको जस्तै माताको पनि एउटा खत जात्रा चलाउन पाए हुन्थ्यो भन्ने आधा दशक अगाडि देखि भक्तजनहरुको मनमा लागि रहेको थियो तर पनि कहिले नगरेको नभएको खत जात्रा गर्दा केही अनिष्ट पो हुने होकि भन्ने मनको एक कुनामा त्रास पनि थियो ।  त्यसैले पनि कसैले पनि   यसै विषयलाई लिएर कोहि पनि अघि सरेर नेतृत्व लिन  हिचकिचाई रहेको अवस्था थियो ।



       गएको पुस २० गतेको श्री कलंकी मन्दिर संरक्षण  तथा समाज सुधार संस्थाको नियमित बैठकमा माताको खत जात्रा चलाउने विषयको  आधिकारिक  प्रस्ताव समेत पेस भएर यश माताको खत जात्रा चलाउने वा नचलाउने भन्ने विषयमा आवश्यक प्रतिवेदन पेश गर्ने गरि एउटा समिती समेत गठन गरेको थियो तर पनि नेतृत्व लिन्दा अनिष्ट हुने होकि भन्ने त्रास मनमा।रहेकाले समितिको बैठक समेत बस्न सकिरहेको थिएन ।


         माताको खत जात्र गर्न हुने नहुने भन्ने विषयमा कसरी  निर्णय गर्न उपयुक्त  हुन्छ भनेर हामीले तन्त्र साधक गुरुहरु संग आवश्यक परामर्श लिने क्रममा गुरुहरुबाट यस्तो अवस्थामा कुमारी पूजा गरेर कुमारीको हातबाट खत जात्रा गर्न हुन्छ वा हुँदैन भन्ने गोला निकाल्न लगाई  निर्णय गर्न गराउनु शास्त्रगत उपाय रहेको भन्ने परामर्श पाएका थियौ । गुररुहरुबाट आएको सुझावलाई खत जात्रा विषयमा प्रतिवेदन पेश गर्न गठित समितिका पदाधिकारीहरुमा राख्दा एकल कुमारी बाट हैन पञचकुमारीबाट गराउने भन्ने कुरा हुन्छ तर कहिले गर्ने भन्ने आधिकारी निर्णय नआउदै  माघ १० गते मन्दिरमा त्यो घट्ना  घट्न गएको थियो । त्यसैले हवन सहितको क्षमा पुजामा पञ्चकुमारी समेतको पूजा गरि पञ्चकुमारीबाट जात्रा गर्ने वा नगर्ने भन्ने पर्चा गोलाप्रथाबाट  निकाल्न लगाई  माताको आज्ञा लिने तयारी सहित हामी क्षमा पूजाको तयारीमा लाग्यौ । पूजा मन्दिर समितिको तथा समस्त भक्तजन परिवारको आयोजनामा गर्ने  तथा पुजा चान्त्रोक्त विधिबाट सम्पन्न गर्न तान्त्रिक पूजाको सम्पूर्ण व्यवस्थापनको जिम्मा तन्त्र चर्चा परिवारलाई दियौ । 
         काठमाडौं उपत्यकाको शक्तिपीठहरूमा तान्त्रिक पूजा गर्ने परम्परा आचाजु(कर्माचार्य)हरूबाट हुने परम्परा अनुसार नै  उक्त क्षमापूजा  तीन जना आचाजुहरूबाट तन्त्रोक्त पञ्चकौमारीपूजा र  होम कर्म आयोजना हुने  तयारी सहित हाम्रो तयारी भएको थियो ।



पञ्चकुमारीहरुको छनोट
       पञ्चकुमारी पूजाको लागि हामीले सकेसम्म पाँचै वर्ग समुदायबाट कन्याहरु लिने तयारीका साथ आस्ना महर्जन, रिडिमा सुवेदी,   सुबु   थापा,  श्वभ्या श्रेष्ठ र फूलमाया तामाङ् छनोट गर्यौ सबै कन्याको अभिभावकले आफ्ना छोरीलाई कुमारी पूजा गरेमा हन्छ पनि भने तर पछि श्वभ्याको अभिभावकले कुमारी पूजामा आफ्नो छोरी नपठाउने जानकारी दिएका कारण पुनः अर्को कन्या  पिन्सिका श्रेष्ठलाई छनोट गरीयो । पूजा तीन दिन अगाडि छनोट पञचकुमारीहरुको वस्त्र सिलाउन नाप पनि लियौ । पञ्चकुमारीहरुको बस्त्र डिजाइन  अनिता खड्का रायमाझीले गर्नु भएको थियो ।

फागुा ७ गते बुधबार फागुन कृष्ण सप्तमि( ने.सं. ११४५ सिल्लागा सप्तमी)मा   क्षमा पूजा सम्पन्न


     पूर्व निर्धारित समय अनुसार ागुन ७ गते बिहान ९ :०० बजे देखि हवनका लागि मन्दिरकै ढोका अगाडि  हवनकुण्ड तयार  गरीयो । पञ्चकुमारीहरुलाई श्रृङ्गार गराउन छनोट भएका कन्याहरु कलंकी ब्यूटि पालवरमा उपस्थित हुने क्रम भयो फूमाया तामाङ समयमा पस्थित भएको नदेखिएकाले बसेको् डेरा कोठमा लिन गयो तर डेरा अन्यत्र सरेर गएको रहेछ । कन्या फूलमाया बाहेक अन्य छनोटभएका सबै  कन्याहरु श्रृङ्गारी सक्दा पनि फूलमाया आएन र सम्पर्क विहिन भएकाले  उसमको सट्टामा अन्य कन्याको खोजी गर्ने क्रममा प्रनिसा मानन्धरको कन्या व्यस्था भयो र श्रृङ्गारीयो  । पञ्चकुमारीले वस्त्र लगाई श्रृङ्गा भै सके पछि ११:११ बजे क्षमा पूजाको पूजा मचाकाजी महर्जन दाईको घरबाट डमरू बजाउदै  निस्केर  ११:१६ बजे मन्दिर प्रवेश भयो ।


गुह्य आगंम पूजा समयमा दिक्षित व्यक्ति पनि  अनिवार्य न्यास लिएर मात्र  मन्दिर भित्र प्रवेश गर्नु पर्न व्यवस्था
        १२:२५ बजे दिक्षित व्यक्तिहरु  मात्र बसेर  आगंम पूजा  सुरु भयो आगंम पूजा तथा अन्य तान्त्रि गुह्य पूजा समयमा दिक्षित बाहेक अन्यलाई प्रवेश निषेधित गरिएक‍ थियो । विशेष तान्त्रिक पूजाहरु विशेषता नै गुह्य हुने भएकाले अन्यले हेर्न नसक्ने गरि मन्दिरको चारै र ढोकामा रातो कपडाको पर्दा राखिएको थियो ।   गुह्यआगम पूजाको  भइरहेको समयमा दिक्षित व्यक्ति मन्दिर भित्र प्रवेश गर्दा  अनिवार्य न्यास लिएर मात्र प्रवेश गर्नु पर्ने व्यवस्था  तान्त्रिक पूजा व्यवस्थापनले गरेको थियो । मन्दिरको चारै तर्फ पर्दाले घेरेर आगंम पूजा सम्पन्न भए पछि   हवन सुरुगरी करीब  .... बजे  आयोजक तर्फबाट  कोपशान्तिका लागि क्षमायाचना र सदैव कृपा र वात्सल्य बक्सनुहुने अभीष्ट राखी क्षमापूजा  गरिएको थियो ।
पञ्चकुमारीबाट माताको खत जात्रा गर्न नमिल्ने निर्देशन
      पञ्चकुमारीबाट गोला निकाल्न लगाउदा पहिलो र दोस्रोले माताको खत जात्रा गर्न हुन्छ भन्ने निकाल्नु  भयो भने तेस्रो, चौथो र पाँचौं कुमारीले माताको खत जात्रा गर्न हुन्न भन्ने लेखिएको गोला निकालेर माताको खत जात्रा गर्न नमिल्ने निर्णय सहितको  श्री श्री श्री कलंकी माताको आज्ञा भयो ।  त्यस पछि करीब ... बजेतिर  उपस्थित सबै भक्तजन समेतबाट पूर्ण आहुति दिई पूजा सम्पन्न  गरिएको थियो  । उक्त पूजा आचागजु गुरु जयबागीश्वरीका पुजारी श्री हंसराज कर्माचार्य, त्यस्तै भक्तपुर तलेजुका आचाजु पुजारी गुरु  श्री यज्ञमान कर्माचार्य  र बाग दरबार तलेजुका पुजारी गुरु श्री ..... कर्माचार्य समेतबाट क्षमा पूजाको अनुष्ठान  सम्पन्न  भएको थियो ।
        
अन्तमा : गर्ने गराउने उनै भगवती शक्तीश्वरी हुनुहुन्छ, हामी त निमित्त मात्र हौँ । उहाँकै कृपाले यो सबै भयो, उहाँकै इशारामा हामी नाचिरहेछौँ । उहाँको पाउमा नै यो सबै कर्म चढाउँछु । उहाँकै प्रेरणाले यो सबै गर्न सहयोग गर्नुहुने महानुभावहरूलाई धन्यवाद टक्राएँ । श्री श्री श्री भगवती देवी जननी जयति। श्रीशक्तिंवन्दे जगत्गुरुम् । रक्ष रक्ष कृपां कुरु !

                                     ~ प्रकाशमान शिल्पकार